एकीकृत समाजवादीको महाधिवेशनमा चार प्रतिवेदनमाथि छलफल हुँदै

हिमाल प्रेस १८ असार २०८१ ११:०९
8
SHARES
एकीकृत समाजवादीको महाधिवेशनमा चार प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिको धारणा लिन राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा सामूहिक छलफल सुरु गरिएको हो।

यी प्रतिवेदनमा उल्लिखित पार्टीका नीति तथा कार्यक्रमका आधारमा नयाँ कार्यसमिति निर्वाचित गरिने पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डेले जानकारी दिए। अध्यक्ष माधवकुमार नेपालले तयार पारेकोराजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक र सांस्कृतिक पक्ष उल्लेख छन्। प्रतिवेदनमा मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीको आगामी कार्ययोजनासमेत प्रस्तुत गरिएको छ।

सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रस्तुत गरेको समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरूप, आर्थिक रूपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन्। भूमि व्यवस्थित गरी उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, विकास तथा समृद्धिका आधार तयार गरिएको छ। मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिइएको छ।

पार्टीका उपाध्यक्ष बेदुराम भुसालको विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ। युवा सहभागिता वृद्धि गर्ने विषयलाई प्राथमिकता दिएको जनाइएको छ।

यसैगरी महासचिव घनश्याम भुसालको सांगठनिक प्रतिवेदन देशभर पार्टीको संगठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त संगठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन्। सशक्त पार्टी निर्माणका लागि संगठनको महत्त्वपूर्ण भूमिका उल्लेख गरिएको दस्तावेजमा पार्टी निकट सबै संगठन जनहितमा परिचालन गर्नुपर्नेमा जोड दिइएको छ।

 

प्रकाशित: १८ असार २०८१ ११:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =