‘नव्य नाचघर’ सञ्चालन गर्दै एस्थेटिक डान्स स्टुडियो

हिमाल प्रेस १७ असार २०८१ १७:०६
96
SHARES
‘नव्य नाचघर’ सञ्चालन गर्दै एस्थेटिक डान्स स्टुडियो

काठमाडौँ- नृत्यकला प्रस्तुत गर्ने उद्देश्यले सिनामङ्गलमा ‘नव्य नाचघर’ सञ्चालन हुने भएको छ। एस्थेटिक डान्स स्टुडियोले उक्त नाचघर सञ्चालन गर्न लागेको हो।

डान्स स्टुडियोका प्रमुख नम्रता केसीले असार २१ गते ‘प्रेमारम्भ’ शीर्षकमा नृत्यनाटिका प्रस्तुत गरेर नाचघरको उद्घाटन गरिने जानकारी दिइन्। प्रेमारम्भको निर्देशन र नाट्य परिकल्पना केसी आफैँले गरेकी छन्।

उद्घाटनको दिनदेखि सुरु हुने ‘प्रेमारम्भ’ नृत्यनाटिका यही असार २१ देखि भदौ २९ गतेसम्म मञ्चन हुनेछ।

भारतको लखनउबाट कत्थक नृत्य विधामा स्नातकोत्तर गरेकी केसीले नृत्य प्रशिक्षण गराउँदै आएकी छन्। नृत्यकला प्रस्तुत गर्ने उपयुक्त स्थानको अभाव भएकाले नाचघर स्थापना गर्न लागेको उनले बताइन्।

कत्थक पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको भारतीय शास्त्रीय नृत्य विधा हो। उनकाअनुसार मनोरञ्जनका विभिन्न क्षेत्रमध्ये, नाटक, फिल्म, साहित्य विधा जस्तै पछिल्लो समय कत्थक नृत्यमा युवाहरुको आकर्षण बढ्दो छ।

नाटकको नियमित मञ्चन भएझैँ अबदेखि नाचघरले नियमित रुपमा नृत्यकला प्रस्तुत गर्ने जनाएको छ। ‘हरेक शुक्रबार र शनिबार नृत्यको नियमित शृङ्खला सुरु गर्ने भएका छौँ’, उनले भनिन, ‘जहाँ कत्थक र अन्य नृत्य शैली प्रस्तुत गर्नेछौँ।’

नाचघरमा एस्थेटिक डान्स स्टुडियोका विद्यार्थीले नृत्य देखाउने छन्। नृत्यकार दिपीका खतिवडाले नृत्यघरको अभाव हुँदा कला प्रस्तुत गर्ने पालो नपाइने अवस्था रहेको बताइन्। ‘ठूला र महँगा नाचघरमा नृत्य देखाउँदा खर्चिलो हुने भएकाले कला देखाउने ठाउँको अभाव थियो, हामी कलाकारलाई सस्तो र सुलभ नृत्यघरको अभाव छ,’ उनले भनिन्, ‘एस्थेटिक डान्स स्टुडियोले नृत्यघर खोलेर कलाकारको प्रतिभा फुल्ने मन्दिर दिएको महसुस भएको छ।’

प्रकाशित: १७ असार २०८१ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 14 =