कांग्रेसले गिरिजाप्रसाद कोइरालाका १५१ ऐतिहासिक फोटो प्रदर्शन गर्ने

हिमाल प्रेस १७ असार २०८१ १५:३५
20
SHARES
कांग्रेसले गिरिजाप्रसाद कोइरालाका १५१ ऐतिहासिक फोटो प्रदर्शन गर्ने गिरिजाप्रसाद कोइराला

काठमाडौँ- नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र विमर्श सभा गर्ने भएको छ। पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको स्मृतिमा क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी र विमर्श सभा गर्न लागेको कांग्रेसले जनाएको हो।

सोमबार सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले मंगलबार बिहान साढे ११ बजे सभापति शेरबहादुर देउवाले कार्यक्रम उद्घाटन गर्ने जानकारी दिए। फोटो प्रदर्शनी र विमर्श सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र अरू दलका शीर्ष नेताहरूलाई पनि निम्ता गरिएको उनले बताए।

पार्टी कार्यालयको भुइँतलाको हलमामा एक सय ५१ थान ऐतिहासिक महत्वका फोटो प्रदर्शनीमा राखिने विश्वकर्माले बताए। उनका अनुसार कोइरालाका जीवनी, राजनीति, शान्ति प्रक्रिया र समृद्धिसँग जोडिएका तस्बिरहरू प्रदर्शनमा राखिने छ। यी फोटो अवलोकन गर्न करिब २५ मिनेट लाग्ने छ।

उनले पार्टी कार्यालयकै मिथिला हलमा विमर्श सभा हुने पनि बताए। क्रान्तिदेखि शान्तिसम्म शीर्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र एमाले नेता प्रदीप ज्ञवाली वक्ता रहेका छन्। उक्त विमर्शको राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले सहजीकरण गर्ने छन्। यो कार्यक्रम मंगलबार दिउँसो १ बजे सुरु हुने र प्रत्यक्ष प्रसारण गरिने विश्वकर्माले बताए।

यस्तै २०४८ सालको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मुलुकमा समुन्नतिको दोस्रो जग राखेको शीर्षकमा स्वतन्त्र विज्ञहरूबाट विमर्श सभा गरिने विश्वकर्माले बताए। काठमाडौँ विश्वविद्यालयका प्रा.डा. अच्युत वाग्ले, राजनीतिक विश्लेषक हरि शर्मा र मञ्चला झाले अतिथि वक्ता रहेको कार्यक्रमको सहजीकरण विश्व पौडेलले गर्ने उनले बताए।

यसपछि फोटो पत्रकारका संघर्षका कुराबारे विमर्श हुने उनले बताए। ‘फोटो पत्रकारिता जोखिम र अनुभव शीर्षकमा फोटो पत्रकारहरू गोपाल चित्रकार, विकास रौनियार, चन्द्रशेखर कार्की र प्रकाश माथेमाले बोल्नु हुनेछ भने सुशीर शर्मा र जगत नेपालले सहजीकरण गर्नुहुनेछ,’ उनले भने।

यस्तै नेपाल सांस्कृतिक महासंघको समन्वयमा झाँकी प्रदर्शनी पनि हुने उनको भनाइ छ। विश्वकर्माले कांग्रेसका सबै तहका नेताहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थामा आबद्ध रहेकाहरूले सोमबार बेलुकी ८ बजे कोइरालाको फोटो सामाजिक सञ्जालमा राख्ने कार्यक्रम रहेको बताए।

प्रकाशित: १७ असार २०८१ १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =