खराब कर्जाले अस्तव्यस्त हुँदै अर्थतन्त्र, छुट्टै ऐनको गृहकार्यमा राष्ट्र बैंक

रमेश भारती १७ असार २०८१ ८:११
10
SHARES
खराब कर्जाले अस्तव्यस्त हुँदै अर्थतन्त्र, छुट्टै ऐनको गृहकार्यमा राष्ट्र बैंक राष्ट्र बैंक

काठमाडौँ- आर्थिक वर्ष २०८०/८१ मा बैंक वित्तीय संस्थाहरूको खराब कर्जा नसुध्रिने अवस्थामा पुगेको छ। चालु आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकहरूको खराब कर्जा ४ प्रतिशत पुग्ने अनुमान राष्ट्र बैंकको छ। जेठमा बैंकहरूको खराब कर्जा ३.८९ प्रतिशत छ। बैंकिङ क्षेत्रमा ५ प्रतिशत खराब कर्जाको अन्तिम बिन्दु मानिन्छ।

राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचनाको सुविधा हटाएको र निष्क्रिय कर्जा नियमित भएको ६ महिनापछि असल कर्जामा देखाएर १.२० प्रतिशत प्रोभिजनिङको व्यवस्थाका कारण पनि बैंकहरूको खराब कर्जा बढ्ने बैंक सञ्चालकहरूले बताउँदै आएका छन्। बढ्दो खराब कर्जाले बैंकहरूको प्रोभिजनिङ बढ्ने र वितरणयोग्य घाटा बढ्दा पुँजीकोषमा दबाब पर्ने अवस्था सिर्जना हुने उनीहरूको भनाइ छ।

पछिल्लो समय देखिएको आर्थिक शिथिलता, रिकभरीमा समस्या, अर्थतन्त्र चलायमान नहुनु र व्यवसायीमा मनोबल घटेका कारण खराब कर्जा बढेको राष्ट्र बैंकका प्रवक्ता गुणकर भटट् बताउँछन्। बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा पनि खराब कर्जा बढेको उनले बताए। ‘सुस्त अर्थतन्त्रको असरले नागरिकलाई नराम्रोसँग गाँज्दा लिएको ऋण तिर्न नसक्नु खराब कर्जाको मुख्य कारण हो। यसलाई घटाउन बैंकहरूले मेहनत गरेनन्। त्यसको असर खराब कर्जामा देखियो,’ उनले भने।

बैंक सञ्चालकहरूले अर्थतन्त्र चलायमान भएमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देखिएको वाणिज्य बैंकहरुको औसत खराब कर्जा ३.८९ प्रतिशत कम गराउने प्रयास गरे पनि सफल भएनन्। असारम पनि भने जस्तो कर्जा प्रवाह नभएको राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षमा अर्थतन्त्र संकुचन भई खराब कर्जा बढ्दा बैंकहरूलाई आगामी आर्थिक वर्षको योजना बनाउन समस्या भइरहेको छ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी खराब कर्जा अनुपात बढेर ४ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गर्छन्। उनी भन्छन्, ‘अहिले यसबारे बोल्ने अवस्था छैन। बैंकहरूको खराब कर्जा अनुपात बढेर ४ प्रतिशतसम्म पुग्न सक्छ। यसका कारण बैंकिङ क्षेत्रमा तनाव र दबाब दुवै थपिनेछ।’
निष्क्रिय कर्जा बढ्ने भए डराउनुपर्ने अवस्था नरहेको उनले बताए। अहिले कर्जाको अवस्था उस्तै छ। केसीले भने, ‘कर्जामा गिरावट आउने अवस्था चालु आर्थिक भर देखियो।’ बैंकहरूको नाफा बढी भएको भन्दै हल्ला मात्र भइरहेको उनको दाबी छ। औसतमा आठ प्रतिशतको औसत नाफा बढी नभएको उनी बताउँछन्।

केसीको बुझाइमा ऋण नतिर्दा पनि हुन्छ भन्ने गलत मानसिकताका कारण बैंकको खराब कर्जा बढेको हो। सरकार गम्भीर नहुँदा खराब कर्जा बढेको उनको आरोप छ। बैंकहरुको केही वर्षयता बढीभन्दा बढी लगानी निर्माण क्षेत्रमा फसेको छ। साथै कृषि, घरेलु, मझौला तथा साना उद्योगमा पनि लगानी छ। यसको मारमा बैंकहरु परेको बैंक सञ्चालकहरु बनाउँछन्।

चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूले ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन्। गत साउनदेखि वैशाखसम्ममा बैंकको नाफा साढे ४८ अर्ब नाघेको थियो।

छुट्टै कम्पनी सञ्चालनको तयारी

नेपाल राष्ट्र बैंकले खराब कर्जा ‘ब्याड लोन’ उठाउन छुट्टै कम्पनी सञ्चालनमा ल्याउन ऐन बनाउन जुटेको छ। यसका लागि ड्राफ्ट बनाउने काम भइरहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा उठाउन नयाँ कम्पनी आवश्यक पर्ने र कम्पनी बनाउने विषयमा ऐनको मस्यौदा तयारी भइरहेको बताउँदै आएका छन्।

उनले मौदिक नीतिसम्बन्धी राजधानीमा भएको विभिन्न छलफल कार्यक्रममा समेत खराब कर्जा नियन्त्रण गर्न र उठाउन नयाँ कम्पनी आवश्यक रहेको बताए। ‘ब्याड लोन उठाउन कम्पनी आवश्यक देखियो। यसको मोडालिटी कस्तो हुने भन्ने विषयमा थप छलफल भइरहेको छ। खराब कर्जाका लागि विशेष किसिमको ऐन आवश्यक छ’, उनले भने।

समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि दक्ष जनशक्ति सहितको संस्था र अन्य सहकारीको व्यवस्थापनका लागि दोस्रो तहको नियामक बनाउन राष्ट्र बैंक लागिपरेको छ। अर्थतन्त्रमा सहकारीको भूमिका ठूलो छ। तर सहकारीहरु बैंकजस्तो भएर अगाडि बढ्न नसक्दा यस क्षेत्रले अर्थतन्त्रलाई असर पारेको बैंकको अधिकारीको दाबी छ।

गभर्नर अधिकारीले हाल राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीमा धेरै समस्या देखियो। सहकारीका लागि दोस्रो तहको नियामक आवश्यक छ भनेर राष्ट्र बैंकले २० वर्षअगाडिदेखि छुट्ट नियमन निकाय खोल्न सरकारसँग माग गर्दै आए पनि राज्य संयन्त्रले चासो नदिएको आरोप लगाएका छन्।

प्रकाशित: १७ असार २०८१ ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =