सामाजिक काम गर्नेलाई सैनिक श्रीमती संघले गर्‍यो सम्मान

हिमाल प्रेस १३ साउन २०८१ २१:४१ | Sunday, July 28, 2024
सामाजिक काम गर्नेलाई सैनिक श्रीमती संघले गर्‍यो सम्मान भावी प्रधानसेनापति रथि सिग्देललाई मोमेन्टो प्रदान गर्दै सैनिक श्रीमती संघ अध्यक्ष शर्मा (बायाँ)। सिग्देललाई स्वागत गर्दै उपाध्यक्ष नीता सिग्देल।

काठमाडौँ- दुई सातापछि प्रधानसेनापति प्रभुराम शर्मा बिदामा बसेपछि सेनाको नेतृत्व सम्हाल्ने तयारी गरिरहेका रथी अशोकराज सिग्देल नेपाली सेना सैनिक श्रीमती संघको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।

कार्यक्रममा प्रधानसेनापति शर्मा प्रमुख अतिथि हुने तय थियो। तर अचानक अन्य कार्यक्रममा सेनापति व्यस्त हुन परेपछि त्यहाँ सिग्देल नै प्रमुख अतिथिको भूमिकामा उपस्थित भएका हुन्।

यस्ता कार्यक्रममा प्रधानसेनापति प्रमुख अतिथि हुने गरे पनि भावी नेतृत्वलाई विस्तारै अभ्यस्त बनाउन कतिपय स्थानमा प्रधानसेनापति अनुपस्थित हुने र रथीलाई पठाउने गर्छन्। तर सैनिक श्रीमती संघले विभिन्न सामाजिक कार्यमा भूमिका खेल्नेलाई सम्मान गर्ने कार्यक्रम भएकाले सबैको उपस्थिति खोजेको थियो। यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा सहभागी हुन जानु पर्ने भएपछि त्यहाँ सिग्देलको नेतृत्व रहेको थियो।

सैनिक श्रीमती संघले सैनिक परिवारहरूको कल्याण एवं मलुकमा आउने प्राकृतिक विपत्तिमा आफ्नो क्षमताअनुसार पीडितहरूलाई सहयोग गर्ने, कल्याणकारी एवम् सेवामूलक सामाजिक कार्यहरूमा जनशक्ति एवम् आर्थिक स्रोत जुटाउने व्यक्ति र संस्थालाई सम्मान गरेको थियो।

त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डप हलमा नेपाली सेनाका रथी तथा अधिकृत वर्ग, संघका कार्यकारिणी एवम् सम्पूर्ण पदाधिकारी, बैंक तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा संघकी अध्यक्ष सुनिता शर्माले आभारसहित मोमेन्टो प्रदान गरेकी थिइन्। अध्यक्ष शर्माले आफ्नो समयमा भएको काममा सहयोग गर्नेहरूलाई यस्तो मेमेन्टो प्रदान गरेकी हुन्।

प्रधानसेनापति आगामी साउन २४ गतेपछि एक महिना बिदामा बस्ने र भदौ २४ बाट रोलक्रमको आधारमा सिग्देल प्रधानसेनापति भएपछि निता सिग्देलले संघको अध्यक्षता गर्नेछिन्। त्यही कारण सबैलाई एकै स्थानमा राखेर संघको गतिविधि र विभिन्न सामाजिक कार्यमा सहयोग गर्नेहरूलाई सम्मान गर्न यस्तो कार्यक्रम गरिन्छ। यो वार्षिक कार्यक्रम नै हो।

प्रकाशित: १३ साउन २०८१ २१:४१ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast