 शरतसिंह भण्डारी, महन्थ ठाकुर र सर्वेन्द्रनाथ शुक्ला।
                             शरतसिंह भण्डारी, महन्थ ठाकुर र सर्वेन्द्रनाथ शुक्ला।
                                            काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विभाजनको खेल सुरु भएको छ। वरिष्ठ नेता राजेन्द्र महतोले अध्यक्ष महन्थ ठाकुरसँग विवाद गरेर पार्टी छाडेको छ महिना नबित्दै फेरि मतभेद चर्किएको हो।
पछिल्लो समयचाहिँ सरकारमा सहभागी हुने विषयलाई लिएर विवाद बढेको नेताहरूले बताएका छन्। उनीहरूका अनुसार केपी ओली नेतृत्वको सरकारमा अध्यक्ष ठाकुरले वरिष्ठ नेता शरतसिंह भण्डारीलाई पठाएपछि विवाद बढेको हो। यसपटक लोसपाबाट मन्त्री बन्ने आकांक्षामा वरिष्ठ सहध्यक्ष सर्वेन्द्रनाथ शुक्ला थिए। शुक्लाले आफूलाई महन्थले धोका दिएको आरोप लगाएका छन्।
शुक्लानिकट नेताहरूले विभाजनको विषयसमेत अघि सारेका छन्। ‘यसअघि नै पहिलो चरणमा (उहाँलाई) शरतसिंह र अर्को चरणमा मलाई भनिएको थियो। तर एकाएक उहाँकै नाम आयो,’ शुक्लाले हिमाल प्रेससँग भने, ‘मलाई अध्यक्षज्यूले वचन दिनुभएको थियो। अन्तिम समयमा बोली फेर्नुभयो।’
शुक्लाले मन्त्रीको नाम पठाउने अघिल्लो दिनसम्म ठाकुरले वचन दिएको बताए। ‘म र अध्यक्षज्यू सँगै थियौँ। हजुरलाई भयो भन्नुभयो,’ शुक्लाले भने, ‘अध्यक्षज्यूले हुन्छ जानुस् भनेपछि म हिँडेँ।’
भण्डारीलाई मन्त्री पठाउँदा महन्थले सल्लाह नगरेको दुःखेसो शुक्लाको छ। ‘मलाई अघिल्लै दिन तपाईँ हुँदैन। उसलाई दिन्छु भन्नुभएको भए म मान्ने थिएँ। तर अन्तिम समयमा किन अर्को व्यक्ति पठाउनुभयो?’ शुक्लाको प्रश्न छ।
शुक्लालाई भने शपथको केही बेरअघि मात्र नाम काटिएको थाहा भएको थियो। ‘हामीले राष्ट्रपति कार्यालय कार्यालयमा फोन गर्याैँ। त्यसबेला शुक्लाजीको नाम छैन। शरतसिंहको छ भन्ने खबर आयो,’ शुक्ला निकट एक नेताले भने, ‘त्यसपछि समाचार हेर्दा पो उहाँ (शरतसिंह) को नाम रहेछ।’
पार्टी नेतृत्वबाट अपहेलित भएको ती नेताको बुझाइ छ। ‘सधैँ एउटै मान्छेले प्राथमिकता पाउनुपर्छ भन्ने छैन नि। विभाजन गरौँ नै भनेको मैले त।’ शुक्लाले भने आफू विभाजनमा नपुगेको तर असन्तुष्टि यथावत् रहेको बताए। ‘विभाजनमै म पुगेको छैन। मलाई किन रोकियो। म मन्त्री बन्न पाउनुपर्छ’, शुक्लाले भने।
शरतसिंह प्राथमिकता पर्नुको कारण
शुक्ला रोकिनुको मुख्य कारण भण्डारी हुन्। सरकारमा सहभागी हुन लोसपालाई एक मन्त्री दिइएको छ। जसमा भण्डारी परिहाल्छन्। पछिल्लो समय पनि यही भएको हो।
शुक्लाका अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकारमा भण्डारी मन्त्री बन्दा महन्थले शुक्लालाई दोस्रोपल्ट पठाउने आश्वासन दिएका थिए। सोही कारण शुक्ला केपी ओली सरकारमा मन्त्री बन्ने आसमा थिए। तर फेरि भण्डारी नै दोहोरिए।
यति मात्र होइन, आफूलाई गुमराहमा पारेर भण्डारीलाई मन्त्री बनाएको शुक्लाको आरोप छ। अहिले शुक्ला यही प्रश्नको जबाफ खोजिरहेका छन्। ‘म किन परिनँ? जबाफ मागिरहेको छु’, शुक्ला भन्छन्।
अध्यक्ष महन्थले भण्डारीलाई पठाउनुको कारण एउटै जिल्लाका भएको नेताहरूको दाबी छ। ठाकुर र भण्डारी दुवै महत्तरीबाट प्रतिनिधित्व गर्छन्। भण्डारी क्षेत्र नम्बर २ बाट र ठाकुर ३ बाट निर्वाचित भएका हुन्। अघिल्ला चुनावमा ठाकुर सर्लाहीबाट लड्थे। सर्लाहीबाट हार्न थालेपछि २०७० को चुनावदेखि उनी महोत्तरी सरेका थिए।
‘उहाँ (महन्थ) उता गएपछि लगातार जित्नुभएको छ’, लोसपाका एक नेता भन्छन्, ‘त्यसैले होला महोत्तरी अलि प्यारो लाग्दो रहेछ।’ यसअघि पनि विभिन्न मन्त्रिपरिषद्मा ठाकुरको प्राथमिकता महोत्तरी परेको थियो।
शुक्ला रुपन्देहीका बासिन्दा हुन्। २०७९ को आमनिर्वाचनमा उनले रुपन्देही ४ बाट चुनाव जितेका थिए। ठाकुरले चुनावी जिल्लालाई प्राथमिकता दिँदा अरू जिल्ला ओझेलमा परेको लोसपा नेताहरूको टिप्पणी छ।
छोरीलाई निर्वाचन क्षेत्र छाड्न शरतसँग साँठगाँठ
लोसपा निकट नेताहरूका अनुसार अब अध्यक्ष ठाकुर चुनाव नलड्ने सुरुमा छन्। आफ्नो ठाउँमा छोरी मीनाक्षी ठाकुरलाई उठाउने तयारीमा छन्। ठाकुर अहिले पार्टीको केन्द्रीय सदस्य छिन्।
‘अध्यक्षज्यूले छोरीलाई उठाउनुहोला कि भन्ने लागेको छ’, लोसपाका एक नेताले हिमाल प्रेससँग भने, ‘त्यसो भयो भने चुनाव जित पनि निश्चित छ।’ महोत्तरीमा लोसपाको संगठन बलियो भएकाले महन्थले छोरीलाई जिताउन खोजेको ती नेताको भनाइ छ।
शरतसिंहसँग महन्थले सहयोग लिन चाहेको नेताहरूको बुझाइ छ। ‘शरतदाइ राजनीतिका चतुर खेलाडी हो। उहाँको साथ नपाइएला कि भन्ने चिन्ता अध्यक्षलाई परेको हुन सक्छ,’ ती नेता भन्छन्।
मीनाक्षीको पनि राजनीतिक सक्रियता बढेको छ। उनलाई यसअघि पनि समन्त्री भएका बेला शरतसिंहले वैदेशिक रोजगार बोर्डको सदस्य बनाएर गुन लगाएका थिए। लोसपा नेताहरूका अनुसार यो निर्णय पनि महन्थले गुपचुप गरेका थिए। ‘सरकार फेरिए पनि महन्थकी छोरी भनेर नयाँ बनेका मन्त्री (डीपी अर्याल)ले हटाएनन्,’ ती नेताले भने,‘अहिले पनि मीनाक्षीजी त्यहीँ हुनुहुन्छ।’
शुक्लाले फुटाउलान् पार्टी?
अहिले शुक्ला आन्तरिक परामर्शमा छन्। उनी निकट नेताहरूले भने पार्टी फुटाउन दबाब दिइरहेका छन्। उनले मन्त्री नपाएकैमा यसो गर्न नहुने बताइरहेका छन्। ‘मन्त्री नपाएर फुटाएजस्तो हुन्छ। नगरौँ,’ शुक्ला निकट एक पदाधिकारीले भने, ‘केही समय कुरौँ। अनि विचार गरौँला।’ शुक्लाले भने आफू अब मधेश र लुम्बिनी प्रदेशको भ्रमणमा निस्किने बताए। त्यहाँका कार्यकर्ताको विचार सुनेपछि पार्टीमै बस्ने कि नबस्ने भन्ने निर्णयमा पुग्ने उनको भनाइ छ।
‘मैले धेरैको कुरा सुनेको छु/सुनिरहेको छु’, शुक्लाले भने, ‘तर म जनताको कुरा सुन्छु।’ महन्थ निकट स्रोत भने यसको समाधान हुने बताइरहेको छ। ‘दुईजना अग्रनेताहरू बसेपछि समाधान निस्किन्छ,’ लोसपा महासचिव मनीष मिश्रले हिमाल प्रेससँग भने, ‘अध्यक्षज्यूसँग कुरा गरेपछि मिलिहाल्छ।’


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 