 
                             
                                            लुम्बिनी- लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचायले बुधबार सपथ लिने भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम एमाले प्रदेशसभा संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
दुई दलबीच मन्त्रालय भागबन्डा गरेर मन्त्रीहरूको समेत टुंगो लगाएर आचार्यले शपथ लिने तयारीमा जुटेका छन्। मुख्ममन्त्रीसहित मन्त्रीहरुको शपथ बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा बिहान साढे ८ बजे राखिएको छ। प्रदेशमा हाल रहेका १२ मन्त्रालयलाई कायमै राखेर भागबन्डा गर्ने जनाइएको छ। कांग्रेसले ५ र एमालेले मुख्यन्त्रीसहित ४ मन्त्रालय पाउने गरी मन्त्रीहरुको टुंगो लगाइएको छ।
सानादललाई समेट्न २ मन्त्रालय दिने कांग्रेस–एमालेको तयारी छ । एमालेबाट एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीको नाम टुंगो लागेको छ। ढकाल रूपन्देही ५(१), पन्थी गुल्मी २ (२), सारु पाल्पा १(२) र शर्मा समानुपातिकबाट निर्वाचित सांसद हुन्।

मुख्यमन्त्री आचार्यसहित ढकाल र पन्थी यसअघिको मन्त्रीपरिषदमा पनि मन्त्री थिए। एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले मन्त्रालयका विषयमा छलफल भइरहेको बताए। उनले कांग्रेससँग छलफल गरेर मन्त्रालय टुंगो लगाउने, मन्त्रालय नटुगिएमा विनाविभागीय रूपमा सपथ लिने बताए। नेपाली कांग्रेसले प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।
कांग्रेस संस्थापन पक्षीय नेताहरूका अनुसार प्रमुख सचेतक बर्दियाका तिमिल्सिना सहित गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने भएका हुन्। न्यौपाने शेखर गगन समुहका हुन भने अन्य सबै सस्थापन पक्षका हुन्। कांग्रेसबाट मन्त्री बन्न लागेका प्यूठानका थापाबाहेक सबै नयाँ अनुहार हुन्। थापा यसअघि उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए।
मन्त्री बन्नेहरु तिमिल्सिना बर्दिया निर्वाचन क्षेत्र २ (१), कार्की गुल्मी १ (२), थापा प्यूठान १ (२) न्यौपान दाङ २ (२) कुर्मी बाँके ३ (२) बाट निर्वाचित हुन्। एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर उपनेता आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 