 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ- मेलम्ची खानेपानी आयोजनाको बाँध सारेपछि मात्रै काठमाडौँ उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ। बुधबार राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्ची खानेपानीको बाँधमा सारेपछि मात्रै काठमाडौँमा बाह्रै महिना पानी आउन सक्ने बताए।
२०७८ असार १ मा बाढीले मेलम्चीको खानेपानी आयोजनाको बाँधमा क्षति गरेको थियो। त्यसयता बाँधमाको मर्मतसम्भारको काम भइरहेको छ। वर्षातको समयमा पानी पठाउँदा थप क्षति हुनसक्ने भन्दै गत असार १० गतेदेखि मेलम्चीको पानी काठमाडौँ ल्याउन बन्द गरिएको छ।
बैठकमा बोल्दै सचिव आचार्यले काठमाडौँमा दीर्घकालसम्म पानी खुवाउनका लागि बाँधमा सार्नुपर्ने अवस्था रहेको बताए। उनले साबिककै बाँधमाबाट वर्षात्को समयमा पानी खुवाउन नसकिने स्पष्ट पारे। उनले एडीबीले मेलम्ची खानेपानी आयोजनाका लागि २ अर्ब रुपैयाँ अनुदान दिन लागेको जानकारी पनि दिए।
त्यस्तै मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछानेले पनि मेलम्ची खानेपानी आयोजनाको बाँधमा कडा चट्टान भएको स्थानमा सार्नुपर्ने बताए। उनले बाँधमा सार्नका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकेको जानकारी गराए।
उनले मेलम्चीबाट कुनै प्रशोधनबिना पानी काठमाडौँ पठाइरहेको अवस्थामा वर्षात्को समयमा पानी पठाउँदा टनेलमा ग्रेगर र माटो जमेर क्षति हुनसक्ने भएकाले वर्षात्को समयमा पानी नपठाइएको बताए। उनले बाढी घट्नासाथ भदौबाट मेलम्चीको पानी काठमाडौँ पठाइने जानकारी दिए।
त्यस्तै बैठकमा बोल्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले भूमिगत र सतह स्रोतबाट १० करोड लिटर पानी संकलन गरेर ६ देखि १२ दिनको अन्तरालमा काठमाडौँ उपत्यकामा पानी वितरण गरिएको जानकारी दिए। उनले वर्षात्को समयमा स्थानीय स्रोतहरूबाट समेत पानी धमिलो आउने हुनाले पानी वितरणलाई निरन्तरता दिन नसकेको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 