मनाङबाट एकै वर्षमा ३२ किलो यार्सागुम्बा निकासी

हिमाल प्रेस १२ साउन २०८१ ८:०७ | Saturday, July 27, 2024
मनाङबाट एकै वर्षमा ३२ किलो यार्सागुम्बा निकासी
मनाङ-  मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा संकलन कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए।
उक्त परिमाणको यार्सागुम्बा निकासीबाट १६ लाख ५७ हजार पाँच सय राजस्व संकलन भएको उनले बताए।यार्सा निकासीका लागि प्रतिकिलो ५१ हजार दस्तुर लिने गरिएको छ। निकासी गरिएको दस्तुर ५१ हजारमध्येबाट १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ। मनाङमा यार्सागुम्बा संकलन नाम्के खर्कबाट सुरु गरिएको थियो । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट संकलन गरिन्छ। गत वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जनाले यार्सागुम्बा संकलनको अनुमति लिएका थिए।अनुमतिपत्रबिना औषधीय जडीबुटी संकलन गर्न पाइँदैन। जसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ।

प्रमुख भुजेलका अनुसार मनाङमा नाम्के खर्क यार्सागुम्बा संकलन गर्ने पहिलो गन्तव्य हो। खर्कबाट यार्सागुम्बा संकलन गर्न अनुमति दिने निर्णयबमोजिम संकलकलाई अनुमति दिइएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका संयोजक एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिए।

प्रकाशित: १२ साउन २०८१ ८:०७ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast