 
                             
                                            काठमाडौँ- कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा ‘फिल्म, साहित्य र नेपाली सन्दर्भ’ विषयक अन्तर्क्रिया कार्यक्रम गरिएकाे छ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले फिल्म आफैँमा संवेदनशील र प्रविधिमैत्री भएकाले अरू विधाभन्दा भिन्न रहेको बताए। अहिले आफ्नो कथा आफैँ लेख्न र भन्न नसक्ने व्यक्तिले फिल्म हेरेर आफ्नोबारे बुझ्न र धारणा बनाउन सक्छन् भन्नेमा उनको जोड थियो।
प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै फिल्मसँग भाषा र प्रविधि रहेको हुँदा पाठ्य र लेखन साहित्यभन्दा दृश्य साहित्य सबैले बुझ्नसक्ने पहुँचमा हुने बताए। उनले नेपाली फिल्म मौलिकता र स्तरीयताबारे चनाखो हुनुपर्नेमा जोड दिए। उनले याे चलचित्र र साहित्य बारेको बहसको थालनी मात्रै भएको पनि जानकारी दिए।
प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य तथा वरिष्ठ कलाकार नीर शाहले कार्यपत्रमाथि टिप्पणी गर्दै साहित्य र कलालाई हेर्ने परम्परागत दृष्टिकोण समयसापेक्ष बदलिनुपर्ने धारणासहित पटकथा चलचित्रको मुटु रहेको बताए।
‘पटकथा चलचित्रको मुटु हो। यो नै साहित्य हो। साहित्य, कला र प्रविधि नै फिल्म हो।’ उनले भने। हरिश्चन्द्र नै पहिलो नेपाली फिल्म भएको जिकिर गर्दै फिल्मले प्रष्टसँग सबै वर्गका व्यक्तिको भावनालाई स्पर्श गर्न सक्ने बताए।
उनले भारतीय कलाकारहरूले अभिनय गरेका कतिपय चलचित्रमा प्रष्टसँग नेपाली उच्चारण गर्न नसकेकै कारण डबिङ भएको जस्तो भान पर्न पुगेको भन्ने धारणा पनि राखेका थिए।
त्रिभुवन विश्वविद्यालय नेपाली विभागमा प्राध्यापनरत डा.अशोक थापाले ‘फिल्म, साहित्य र नेपाली सन्दर्भ’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
उनले फिल्म बेग्लै विधा भए पनि साहित्यसँग परिपूरक सम्बन्ध राख्ने भएकाले त्यसैअनुरूप सैद्धान्तिकीकरण गर्नुपर्ने बताउँदै संस्कृति निर्माण र समाज रूपान्तरणमा फिल्म र साहित्यका अन्य विधामा अधिकांश समानताहरू र फरक दुवै देखिने उल्लेख गरे।
साहित्यभित्रका कथा लिखित माध्यमबाट शब्दका सहायताले अभिव्यक्त गरिने र फिल्मको प्रस्तुति चित्र, आवाज र दृश्यबाट गरिने स्मरण गराउँदै यिनीहरूको अन्तिम लक्ष्य विचार र भावनाको प्रकटीकरण वा सम्प्रेषण गर्नु रहेको बताइन्।
गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले कार्यपत्रमाथि टिप्पणी गर्दै चलचित्रको इतिहास खोतलिएको भए पनि कार्यपत्र फिल्म साहित्यबारे प्रष्ट हुन नसकेको र साहित्यिक विधामा फिल्म बन्ने र व्यवसायिक हुने भए पनि नेपाली फिल्ममा मौलिकतामाथि प्रश्न गर्नुपर्ने अवस्था रहेको बताए।
कार्यपत्रमा टिप्पणी गर्दै सीतादेवी ढुङ्गानाले विषयवस्तु र लेखनको तालमेल हुनुपर्ने, भन्दै अलि प्रष्ट हुन नसकेको बताइन्। फिल्ममा पटकथा साहित्य, कला र प्राविधिक पाटोको बारेमा कार्यपत्र गहन र सार्थक ढङ्गले आउनुपर्नुे धारणा राख्नु भएको थियो।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष केपी पाठकले कार्यपत्रले साहित्य र फिल्मकाे सम्बन्धलाई उजागर गरे पनि फिल्म आफैँमा दृश्य साहित्य हो भन्ने मान्यता स्थापित गर्न नै यो विमर्श सुरु गरिएको बताए।
एउटा उपन्यासले भन्दा बढी एउटा फिल्मले धेरै कुरा भन्न सक्ने जिकिर गर्दै संवेदनशीलता, सांस्कृतिक र समाज रूपान्तरणमा फिल्मको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे।
सहभागीको तर्फबाट कार्यक्रममा कलाकार सुवास गजुरेल, चलचित्र पत्रकार विजयरत्न तुलाधार र नायिका विमला केसी लगायतले आआफ्नो जिज्ञासा राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका सदस्य सन्ध्या थापाले गरेकी थिइन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 