पहिरोले ५ घर विस्थापित, २६ जोखिममा

हिमाल प्रेस ३० असार २०८१ १५:४६ | Sunday, July 14, 2024
पहिरोले ५ घर विस्थापित, २६ जोखिममा

पोखरा-  पोखरा महानगरपालिका वडा २५, हेमजाको झिर्झिकामा निरन्तरजसो पहिरोले ५ घर विस्थापित भएका छन्। यस्तै, २६ घर पहिरोको जोखिममा छन्। अविरल वर्षाका कारण निरन्तरजसो गएको पहिरोले झण्डै ५० रोपनी जग्गा पुरिसकेको छ भने २ सय रोपनी चर्किएको गण्डकी प्रदेशसभाका सदस्य गणेशमान गुरुङले जानकारी दिए। पहिरोले झण्डै ४ सय रोपनीको फलामे खेतसमेत असर पर्ने अनुमान छ।

स्थानीय एकदत्त अधिकारी, छविलाल अधिकारी, कपिलप्रसाद अधिकारी, बासुदेव अधिकारी, शिवदत्त अधिकारीको घर परिवार विस्थापित भएको छ।  पहिरो बढ्दै जाँखा पोखरामा आपूर्ति हुने सबैभन्दा ठूलो मर्दी मुहानमा समेत प्रभाव पर्ने देखिएको छ।

समयमै पहिरो नियन्त्रण गर्न सकिएन भने पोखरामा आउने मर्दीखोलाको पानी बन्द हुने सम्भावना छ। सो पहिरो मुहान नजिकै भएकोले अहिले गेग्रान थुपारेको छ। पोखरेलीले धमिलो पानी खान बाध्य छन्।

कमेरो र बलौटेसहितको माटो भएकोले वातावरण तथा भूगर्भविद्को टोलीले अनुगमन गरी रोकथामको उपाय गर्नुपर्ने सांसद गुरुङको भनाइ छ। कांग्रेस नेता मनोज गुरुङले समयमा सम्बन्धित निकायबाट आवश्यक कदम नचालिएमा पोखरामा पानीको हाहाकार हुने बताए।

स्थानीय ऋषि गौतमले विगत चार पाँच वर्ष अघि पनि पहिरोमा एक जनाको मृत्यु भएको। सो ठाउँबाट विस्थापित भई फलामे खेत आएका वासिन्दालाई पनि पहिरोले ठूलो असर पारेको उनले बताए।

तत्कालका लागि पोखरा महानगरपालिकाले २५ वटा तारजालीको व्यवस्था गरे पनि जाली भर्न नसकिएको उनको भनाइ छ। यता, पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले पहिरो नियन्त्रणका लागि महानगर मात्र नभई सबै पक्ष मिलेर दीर्घकालीन योजना अनुरुप अगाडि बढ्नुपर्ने बताए।

हेमजादेखि बेलबोट, धिताल, धम्पुस हुँदै निर्माण गरिएको सडकबाट बर्खाको समय पानी एकीकृत भएर आउँदा त्यही प्रभाव परेको स्थानीयको भनाइ छ।

प्रकाशित: ३० असार २०८१ १५:४६ | Sunday, July 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast