 प्रतिनिधिमूलक तस्बिर
                              प्रतिनिधिमूलक तस्बिर
                                            काठमाडौँ- काठमाडौँको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ। सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ।
काठमाडौँ उपत्यका प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज (शुक्रबार) अपराह्न ४ बजे उक्त पर्खाल भत्किएर ६ जना पुरिएका थिए।
घटनामा परेका सबैको उद्धार गरिएकामा उपचारका क्रममा पाँच वर्षीया पल्जोम तामाङको मृत्यु भएको उनले बताए। उक्त घटनामा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्वो शेर्पा, १० वर्षीया सुनिता तामाङ, आठ वर्षीया ममता तामाङ र मनकुमारी तामाङ घाइते भएका प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै फर्पिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले स्थानीयवासीको सहयोगमा उनीहरूको उद्धार गरेको थियो। घाइते सबैको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा परेका सबै सोही स्थानमा रहेको थाई गुम्बामा बस्ने बालबालिका भएका बताइएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 