ड्रागन फ्रुट खेती : दुई जनालाई राेजगारी दिएर वार्षिक १६ लाख आम्दानी गर्छिन् तनहुँकी कल्पना

हिमाल प्रेस ५ साउन २०८१ १५:२८ | Saturday, July 20, 2024
ड्रागन फ्रुट खेती : दुई जनालाई राेजगारी दिएर वार्षिक १६ लाख आम्दानी गर्छिन् तनहुँकी कल्पना

तनहुँ- तनहुँको व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले ड्रागन फ्रुट बिक्रीबाट गत वर्ष १६ लाख आम्दानी गरिन्। नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उनले १६ लाख आम्दानी गरेकी हुन्।

ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो समयमा भ्याइनभ्याइ हुने गरेको किसान गौलीले बताइन्। ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी वि.सं. २०७९ मा भारतको हैदराबादबाट ‘सी’ प्रजातिका बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिइन्।

‘मासिक २० हजार बुझाउने सम्झौता अनुसार २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक रुपमा खेती गर्दै आएको छु,’ गौलीले भनिन्। अघिल्लो वर्ष १६ लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको जनाउँदै यस वर्ष फल राम्रो लागेकाले २० लाख बराबरको बिक्री हुने अपेक्षा गरेको छु।’

वैशाखदेखि ड्रागन फुल्न सुरु गर्छ, फूल फुलेको ६० दिनको अवधिमा पाक्छ र टिप्नलायक हुन्छ। असारदेखि मंसिर छ महिनासम्म फल टिप्न सकिन्छ। यसवर्ष पहिलो छिमालमा ३५, दोस्रो छिमालमा एक हजार र तेस्रो छिमालमा एक हजार किलोग्राम ड्रागन फ्रुट टिपिसकेको उनकाे भनाइ छ। उनका अनुसार ड्रागन फ्रुट तेह्र छिमालसम्म टिप्न सकिन्छ।

अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेकाे गौलीले बताइन्। बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनले जानकारी दिइन्। ‘ड्रागन बिक्रीका लागि अन्यत्र लैजानु परेको छैन। उत्पादित फल दमौलीमा नै खपत हुने गरेको छ’, उनले भनिन्।

गौलीका अनुसार फार्ममा दैनिक दुई जनाले नियमित रोजगारी पाएका छन्। उत्पादित ड्रागन फ्रुट ग्रेडिङ गरेर प्रतिकिलोग्राम पाँचसयदेखि सात सयसम्म बिक्री गर्ने गरिएको पनि उनले बताइन्।

पछिल्लो समय गौलीको फार्म अवलोकन केन्द्रका रुपमा विकास हुँदै गएको छ। विद्यालय र कलेजका विद्यार्थी, शिक्षक तथा स्थानीय अवलोकन गर्न आउने गरेका छन्।

प्रकाशित: ५ साउन २०८१ १५:२८ | Saturday, July 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast