![‘घरज्वाइँ’ को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक [भिडियाेसहित]](https://himalpress.com/wp-content/uploads/2024/07/yanimaya.jpg) 
                             
                                            काठमाडाैँ- अनिल बुढा मगरको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘घरज्वाइँ’ को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ। शनिबार युट्युबमा सार्वजनिक भएको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन्।
सार्वजनिक गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत तथा स्वर रहेको छ। यही गीतको रिदममा सिनेमाको ब्याग्राउण्ड म्युजिक तयार गरिएको निर्देशकले केही दिन अगाडि आयोजित सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए। सिनेमाको दृश्य, भाषा र क्यारेक्टरको हिँडाइ र बोलाइलाई समेत सिनेमाको यही गीतको थिममा नै राखेर प्रस्तुत गरिएको उनको दाबी थियो।
जीएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्। रुकुम पूर्व आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैँले लेखेका हुन्। पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।
सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन्। सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरको अभिनय छ। सिनेमा असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ।
सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ। कृष्ण भण्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो। एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ। नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ।
यस्ताे छ गीत

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 