 
                             
                                            काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले कोशी प्रदेशको नामकरण पहिचानका आधारमा राख्नुपर्ने धारणा अघि सारेका छन्। यसैगरी उनले आफूलाई जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा उभ्याएका छन्। पार्टीको दसौँ महाधिवेशनमा फरक मत राख्दै कोशीका पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले यस्तो प्रस्ताव गरेका हुन्। यसैगरी उनले एमाले कालमै कोशीको नाम पहिचानका आधारमा राख्ने विषयमा निर्णय भइसकेको जनाएका छन्।
राईले आफ्नो फरक मतको दस्ताबेजमा उल्लेख गरेका छन्, ‘प्रदेश नामकरण हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) मा निर्णय हुन बाँकी विषय होइन। किनकि हामी नेकपा (एमाले) मा हुँदै प्रदेशको नाम पहिचानसहितको वा बहुपहिचानको राखिनुपर्छ भन्ने निर्णय गरिसकेका छौँ।’
यसैगरी उनले विगतमा विभिन्न क्षेत्रलाई खस, लिम्बुवान, किराँत, मगरात, तमुवान, नेवाः आदि भनिने गरिएको उल्लेख गरेका छन्। ‘अड्डाअदालतका कागजपत्र, सरकारी लिखित, रेकर्ड, साहित्य सिर्जना आदिमा पनि प्रयोगमा ल्याइएकै थियो। पहिला प्रचलन÷प्रयोगमा आएको नामलाई पुनः माग गरिनुलाई अनुचित भन्न मिल्दैन।’
प्रदेश नामकरणको विषयलाई लिएर मधेश प्रदेशबाहेक सबै प्रदेशमा असन्तुष्टि रहेको दाबी उनको छ। यसैगरी त्यस्तो असन्तुष्टि कतिपय प्रदेशमा आक्रोश र आन्दोलनको रुपमा भइरहेको राईको दस्ताबेजमा उल्लेख छ।
उनले लेखेका छन्, ‘कतिपय प्रदेशमा विस्फोटअघिको ज्वालामुखीको लाभाजस्तो भित्रभित्रै सलबलाइरहेको छ, भविष्यमा के हुन्छ भन्न सकिन्न।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 