केन्द्रीय कमिटीलाई पूर्णता दिन अध्यक्ष नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल

हिमाल प्रेस १६ साउन २०८१ १८:३१ | Wednesday, July 31, 2024
केन्द्रीय कमिटीलाई पूर्णता दिन अध्यक्ष नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा ‘सम्मानित’ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य छन्।

सबै प्रदेशले केन्द्रीय सदस्यका लागि केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी कार्यदलले पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिस गर्ने नेता सोमप्रसाद पाण्डेयले जानकारी दिए।

विधानअनुसार पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ। समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी क्लष्टर छुट्टाइएको छ।

समावेशी महिला र समावेशी २५ देखि ४५ वर्षको उमेर समूह तथा खुला उमेर समूह निर्धारण गरिएको छ।

हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी र ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन्।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुको समीक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल गरिएको जनाइएको छ।

साउन १८ गते बस्ने केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी र आयोगको टुंगो लगाउने एकीकृत समाजवादीले जनाएको छ।

प्रकाशित: १६ साउन २०८१ १८:३१ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast