एक बालविकास शिक्षकको भरमा सय विद्यार्थी

हिमाल प्रेस १० साउन २०८१ १६:५६ | Thursday, July 25, 2024
एक बालविकास शिक्षकको भरमा सय विद्यार्थी

हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका-१ ठेहेमा पञ्चमुखी आधारभूत विद्यालयमा एक बालविकास शिक्षकको भरमा एउटै कोठामा सयजना विद्यार्थी पढ्नुपर्ने बाध्यता छ। शैक्षिक सत्रबाट विद्यार्थी संख्या बढेपछि एउटै कोठामा कोचाकोच राखेर पढाउनुपर्ने बाध्यता भएको हो।

बालविकासका लागि निर्माण भवनको कोठामा खचाखच विद्यार्थी हुँदा पठनपाठनमा समस्या भएको पञ्चमुखी आधारभूत विद्यालयका शिक्षक लक्ष्मण बोहराले बताए।

‘बालविकासको कोठा साँघुरो छ। बालबालिकालाई सहज रूपमा पठनपाठनमा समस्या छ,’ शिक्षक बोहराले भने। बालविकासका लागि दुईकोठे भवन निर्माण भए पनि शिक्षक अभावमा एउटै काेठामा राखेर पढाउनुपर्ने बाध्यता बनेकाे हाे।

शिक्षक सत्यदेवी उपाध्याय बालविकास शिक्षक हुन्। उनले नै सय विद्यार्थीलाई पढाउँछिन्। एउटै कोठामा सय विद्यार्थी राखेर पढाउनु पर्दा उनीहरूको पढाइमा समेत बाधा पुगेको शिक्षक उपाध्ययले बताइन्। सिमकोट गाउँपालिकाको दुईवटा वडामा बालबालिका विद्यालय भर्ना भएपछि समस्या आएको शिक्षक उपाध्यायले बताइन्।

ठेहे जिल्लाकै सबैभन्दा ठूलो र बढी जनसंख्या भएको गाउँ हो। कक्षा पाँचसम्म रहेको पञ्चमुखी आधारभूत विद्यालयमा शिक्षकसमेत अभाव छ। तीन स्थायी र तीन अस्थायी शिक्षक भए पनि अन्य शिक्षक माथिल्लो कक्षामा पठनपाठन गराउने हुँदा समस्या आएको प्रधानध्यापक विष्णु बोहराले बताए।

गाउँपालिकालाई शिक्षक अभावबारे जानकारी गराए पनि सुनुवाइ नभएको प्रधानाध्यापक बोहराको गुनासो छ।

प्रकाशित: १० साउन २०८१ १६:५६ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast