काठमाडौँ- सरकारले एकै दिन ३३ अर्ब ६१ करोड ३३ लाखको बजेट निकासी गरेको छ। गत सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेट निकासा हुने अन्तिम दिन सोही रकम बराबरको बजेट निकासी गरेको हो।
गत आइतबारसम्ममा सरकारले १३ खर्ब २२ अर्ब ६० करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले जनाएको थियो। तर सोमबार ह्वात्तै खर्च बढ्दा हालसम्ममा १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपैयाँ भुक्तानी भएको दिएको छ।
यति बजेट खर्च हुँदा पनि लक्ष्य पूरा हुन सकेको देखिदैन। चालु आवमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो। तर हालसम्ममा सोही लक्ष्यको ७७ दशमलब ४४ प्रतिशत मात्र खर्च भएको महालेखाले जनाएको छ।

पुँजीगत खर्च पनि ५६ दशमलव ९७ प्रतिशत मात्र खर्च भएको तथ्यांकले देखाएको छ। जहाँ खाता बन्द हुने अन्तिम दिन मात्रै १४ अर्ब ४० करोड १३ लाख रुपैयाँ खर्च भएको देखिएको छ। जसले गर्दा यसवर्ष ३ खर्ब २ अर्ब ७ लाख ४४ हजार रुपैयाँ पुँजीगत बजेट खर्च भएको देखिन्छ।
यता चालुतर्फ ८१ दशमलव ७९ प्रतिशत बजेट खर्च भएको छ। जम्मा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा खाता बन्द हुने दिन मात्र ९ अर्ब ८५ करोड २३ लाख रुपैयाँ बजेट खर्च भएको छ।




