 
                             
                                            काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ। यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो। महासंघ कार्यसमितिको आज (सोमबार)को बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष निर्वाचनबाट चयन हुने जानकारी दिए।
उनले यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरू गठन गरी काम गरिएको भए पनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुने गरी निर्वाचन गर्ने गरिएको अध्यक्ष ढकालले बताए।
अध्यक्ष प्रत्यक्ष निर्वाचित हुँदा संस्थालाई राम्रो हुने ठानेर आफूले गएको निर्वाचनकै बेला विधान संशोधनको वाचा गरेको र अहिले आफ्नो प्रस्तावलाई कार्यसमितिले सर्वसम्मत पारित गरेकामा उनले समितिलाई धन्यवाद दिए।
यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताइएको छ। संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एक जना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ।
महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मंसिर मसान्तभित्र महासंघको विशेष साधारणसभाले पारित गर्ने महासंघले जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 