कर्णालीको सिकाइ उपलब्धि कमजोर

हिमाल प्रेस १६ असार २०८१ २०:५१
18
SHARES
कर्णालीको सिकाइ उपलब्धि कमजोर

सुर्खेत- कर्णालीको सिकाइ उपलब्धि कमजोर रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र भक्तपुरले गरेको सो अध्ययन प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो।

प्रतिवेदनअनुसार कर्णालीमा कक्षा १० को गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयमा ४० प्रतिशतभन्दा कम सिकाइ उपलब्धि छ। गणितमा ३१ प्रतिशत, विज्ञानमा १८, नेपालीमा ३९ र अंग्रेजी ३० प्रतिशतमात्र सिकाइ उपलब्धि हासिल भएको केन्द्रका अध्ययनकर्ता धनबहादुर ओलीले जानकारी दिए। उनले सबै विषयमा ४० प्रतिशतभन्दा कम विद्यार्थीले न्यूनतम सिकाइ उपलब्धि हासिल गरेको पाइएको बताए। सिकाइ उपलब्धि हासिल भएकोमा पनि सामुदायिक भन्दा संस्थागत विद्यालयका बढी छन्।

यसै गरी कक्षा ८ मा पनि सिकाइ उपलब्धि उस्तै छ। गणित विषयमा ३२ प्रतिशत, विज्ञानमा ३८ प्रतिशत, नेपालीमा ५९ प्रतिशत र अंग्रेजीमा ५१ प्रतिशत उपलब्धि हासिल भएको पाइएको उनले बताए।

यस्तै कक्षा ५ मा नेपाली, विज्ञान, अंग्रेजी र गणित विषयमा पनि कर्णाली कमजोर छ। राष्ट्रिय सिकाइ स्तर औसत ४९९ मध्ये कर्णालीमा नेपाली विषयको सिकाइ उपलब्धि ४८९ अंक छ। विज्ञान विषयको सिकाइ स्तर ४९२ अंक, अंग्रेजीको ४७३ अंक र गणितको ४७५ अंक छ।

आर्थिक वर्ष २०८०/०८१ मा कार्यसम्पादन परीक्षण गरिएका विद्यालयहरूको अवस्थामा पनि कर्णाली कमजोर देखिएको छ। परीक्षणमा सहभागी भएका कर्णालीका सात जिल्लाका ३७० वटा विद्यालयमध्ये ४० भन्दा कम अंक प्राप्त गरी कमजोर श्रेणीमा चार वटा विद्यालय परेका छन्।

यस्तै ४० देखि ७० अंक प्राप्त गरी सामान्यको श्रेणीमा ३५१ विद्यालय परेका छन्। ७० देखि ९० अंक प्राप्त गरी मध्य श्रेणीमा कर्णाली १५ वटा विद्यालय परेका छन्। ९० भन्दा बढी अंक प्राप्त गरी उत्तम श्रेणीमा कर्णालीमा कुनै पनि विद्यालय पर्न नसकेको अध्ययनकर्ता ओलीले जानकारी दिए।

यद्यपि प्राधानाध्यापकहरुको कार्यसम्पादमा सुर्खेतको सबैभन्दा धेरै ८८ अंक रहेको छ। मोरङ, धनुषा, चितवन, कास्की, रुपन्देही र कैलालीमध्ये सुर्खेतले सबैभन्दा धेरै ८८ अंक प्राप्त गरी प्रथम भएको छ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र भक्तपुरका उपमहानिर्देशक बसन्तप्रसाद कोइरालाले सिकाइ उपलब्धिमा सबैभन्दा कमजोर कर्णाली देखिएकोले यसको उपलब्धि हासिल गर्न यहाँका शिक्षासँग सरोकार राख्न पक्षहरु थप क्रियाशील हुन सुझाव दिए। उनले शिक्षक, पूर्वाधार अभावलगायत धेरै कारणले सिकाइ उपलब्धिमा कमी आएको उल्लेख गरे।

शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले संघ, प्रदेश र स्थानीय तहहरूले शिक्षालाई प्राथमिकता नदिएका कारण बजेट पर्याप्त नछुट्याएको पाइएको बताइन्।

प्रकाशित: १६ असार २०८१ २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =