दयाहाङ-मिरुना

हिट जोडीको कति फिल्म चले, कति कमायो?

सुस्मिता बजगाईं १६ असार २०८१ १९:२४
178
SHARES
हिट जोडीको कति फिल्म चले, कति कमायो?

काठमाडौँ- पछिल्लो समय नेपाली फिल्ममा चर्चित जोडी हुन् अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर। एकपछि अर्को फिल्म ‘हिट’ भएपछि उनीहरूलाई फिल्ममा अभिनय गराउन निर्माता र निर्देशकको लर्को लाग्यो।

उपेन्द्र सुब्बाको लेखन र रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ बाट उनीहरूले पहिलो सहकार्य गरेका थिए। फिल्म २०७९ वैशाख २३ मा प्रदर्शन भएको थियो। जुन फिल्म वर्षकै सर्वाधिक कमाउने फिल्म बन्यो। दर्शकले पनि उनीहरूलाई राजेश हमाल र करिस्मा मानन्धरको जोडीसँग तुलना गर्न थाले। कुनै बेला राजेश र करिस्माले नेपाली फिल्ममा वर्चस्व जमाएका थिए।

दोस्रो फिल्म ‘जारी’ ले घरेलु बक्स अफिसमा सय दिन मनायो। त्यस्तै तेस्रो फिल्म ‘नांगो गाउँ’ वर्षमा चलेका नाममध्येमा पर्न सफल भयो। गत वर्ष त सिने जगतनै दया र मिरुनामय भयो। हलमा उनीहरूकै फिल्म अनि नयाँ घोषणामा पनि दया र मिरुनाकै नाम।

जुन फिल्ममा दयाहाङ जोडिन्छन् त्यहाँ मिरुना जोडीको रुपमा भित्रिइन्। कतिपयले त दया र मिरुनाबिना नयाँ फिल्म नबन्ने रहेछ भन्दै टिप्पणीसमेत गरे। यस वर्ष पनि उनीहरूको जोडी सहकार्यमा ‘मनसरा’ प्रदर्शन भइसक्यो। असार २८ मा ‘घरज्वाइँ’ प्रदर्शनको तयारीमा छ। हालसम्म उनीहरूका पाँच फिल्म प्रदर्शनमा आएका छन्। ‘कबड्डी ४: द फाइनल म्याच’, ‘जारी’, ‘नांगो गाउँ’, ‘रंगेली’ र ‘मनसरा’। यसै गरी एउटा फिल्म प्रदर्शनको तयारी छ। यो जोडीले दुई वटा फिल्ममा साइन गरेका छन्।

‘कबड्डी ४: द फाइनल म्याच’

फिल्म ‘कबड्डी’ तीन शृंखलासम्म विवाह हुन नसकेको काजी (दयाहाङ राई) को शिक्षिका बनेर गाउँ गएकी शान्ति (मिरुना मगर) सँग बिहे भएको छ। त्यसपछि दर्शकले उनीहरूको जोडीलाई मन पराए।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले २१ करोड ३८ लाख २३ हजार चार सय ६२ रुपैयाँ खुद संकलन गर्‍यो। यो नेपाली सिनेजगतको हालसम्मकै उच्च कमाइ हो।

निर्माण टिमले फिल्मलाई अन्तिम शृंखला भनेर प्रचार गरेका थिए तर उनीहरूको जोडी ‘हिट’ भएपछि दर्शकको मागअनुसार पुरानै कलाकारसहित पाँचौँ शृंखला पनि घोषणा भयो। फिल्म निर्देशक रामबाबु गुरुङले यही वर्ष प्रदर्शन गर्ने तयारी गरेका छन्।

जारी

दया र मिरुना मुख्य भूमिकामा देखिएको दोस्रो फिल्म ‘जारी’ हो। गत वर्ष वैशाखमा प्रदर्शन भएको फिल्मले बक्स अफिसमा सय दिन मनायो। दोस्रो फिल्म पनि वर्षको सर्वाधिक कमाउने पहिलो बन्यो। फिल्मले १७ करोड संकलन गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा उल्लेख छ।

उपेन्द्र सुब्बाको लेखन र डेब्यु निर्देशन रहेको फिल्मको कथा लिम्बू समुदायको जारी प्रथामा आधारित छ। फिल्ममा उनीहरू पतिपत्निको भूमिकामा छन्। बिहे गरेको पाँच वर्षसम्म सन्तान नभएपछि मिरुनाले अर्कैसँग बिहे गरेकी छन्। मिरुनाका दोस्रो पतिले जारी तिर्न नसकेपछि आफैँ दयाको घरमा गोठालो बसेको देखाइएको छ। यो फिल्म लिम्बू समुदायको जारी कथामा आधारित छ। फिल्मको पनि दोस्रो शृङ्खला बन्ने घोषणा भइसकेको छ।

नाङ्गो गाउँ

गत वर्ष भदौमा प्रदर्शन भएको फिल्म ‘नाङ्गो गाउँ’ मा दयाहाङ र मिरुना मुख्य भूमिकामा छन्। यो उनीहरूले सहकार्य गरेको तेस्रो फिल्म हो। फिल्मका पटकथाकार र निर्देशक दीपेन्द्र लामा हुन्। फिल्मले चार करोड ९० लाख कलेक्सन गरेको निर्माण टिमको दाबी छ। फिल्ममा दयाहाङ नेताको भूमिकामा छन् भने मिरुना उनकी पत्नी बनेकी छन्। गाउँ केन्द्रित राजनीतिक कथावस्तुमा आधारित फिल्ममा चुनावको समयमा खोक्रो आश्वासन दिने र पूरा नगर्ने नेताहरूमाथि व्यंग्य गरिएको छ।

रङ्गेली

गत वर्ष फागुनमा प्रदर्शन भएको फिल्म ‘रङ्गेली’ मा पनि दयाहाङ र मिरुना जोडीका रूपमा छन्। मोरङको रङ्गेली गाउँको कथा समेटिएको फिल्ममा रङ्गेलीमा राज गर्न तीन ग्याङ्स्टारको शक्ति र पैसाको खेललाई प्रस्तुत गरिएको छ।

फिल्ममा मिरुना जुनकिरीको भूमिकामा छिन् भने दयाहाङ विजय पात्रको भूमिकामा। फिल्ममा विजयले रङ्गेलीमा राज गर्न अगाडि बढ्ने क्रममा नै जुनकिरी सँग प्रेम भएको देखाइएको छ।

जुन हिसाबले फिल्म चल्नेमा निर्माण टिम ढुक्क थिए त्योअनुसार फिल्मलाई दर्शकले रुचाएनन्। जसका कारण फिल्मले सोचेअनुरुपको व्यापार गर्न सकेन। फिल्म फ्लपको सूचीमा पर्‍यो। अर्जुन सुवेदीको लेखन र निर्देशनमा बनेको फिल्म संसार चौलागाईं र रमेश भट्टराईले निर्माण गरेका हुन्।

मनसरा

वैशाखमा प्रदर्शन भएको फिल्म ‘मनसरा’ पनि दयाहाङ र मिरुना जोडी बनेका छन्। फिल्ममा दयाहाङ लाहुरेको भूमिकामा छन् भने मिरुना दयाको प्रेमिका हुन्। आफू गर्भवती भएपछि लाहुरेको खोजीमा एक्लै संघर्ष गर्दै छोरा हुर्काइरहेकी मिरुना र गाउँ छोडेर हिँडेकी प्रेमिकाको खोजीमा सडक अनि गल्लीगल्लीमा उनको पोस्टर टाँस्दै भौँतारिरहेको दयाहाङको मिलनसँगै फिल्म टुंग्याइएको छ। फिल्मको कथा भने अन्तरजातीय सम्बन्धमा आधारित छ।

फिल्मले बक्स अफिसमा करिब चार करोड कमाएको निर्माण टिमको दाबी छ। फिल्म एक करोड ५० लाखमा बनेको थियो।

प्रदर्शनको तयारीमा रहेका फिल्म

मगर समुदायको कथामा आधारित फिल्म ‘घर ज्वाइँ’ यही असार २८ मा देशभर प्रदर्शन हुँदैछ। फिल्ममा दयाहाङ र मिरुनाको प्रेम सम्बन्ध, विवाह गर्न घर ज्वाइँ बस्नुपर्ने बाध्यता र त्यसले पति पत्निबीच ल्याउने उतारचढाव फिल्ममा प्रस्तुत गरिएको छ।

फिल्म अनिल बुढा मगरको कथा लेखन र निर्देशनमा बनेको छ। फिल्मको पटकथामा लेखनमा भने निर्देशक अनिललाई विनोद खतिवडा र सुभाष कोइरालासँग सघाएका छन्।

जनक घर्ती मगर निर्माता रहेको फिल्ममा मगर समुदायको ‘घरज्वाइँ’ बस्ने प्रचलनमा आधारित छ। यो फिल्मले कस्तो व्यापार गर्ला त्यो भने हेर्न बाँकी नै छ।

साइन गरेका फिल्म कति छ?

निर्माण टिमले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म दयाहाङ र मिरुनाले दुई फिल्म साइन गरेका छन्। ती हुन् :

लोकल हिरो

विश्वास तिमल्सिना र राज सिग्देलको संयुक्त निर्देशनमा बन्न लागेको फिल्म ‘लोकल हिरो’ मा दयाहाङ र मिरुना मुख्य भूमिकामा देखिनेछन्। अनन्या फिल्म्स‍्को ब्यानरमा बन्न लागेको फिल्मका निर्माता सरोज न्यौपाने हुन्। फिल्म गत वर्ष बन्ने घोषणा भएको थियो। फिल्म रोमान्टिक, कमेडी, सोसल ड्रामा जनरामा बन्ने भनिएको छ।

गाउँ नै रमाइलो

दिनेश राउतको निर्देशनमा बन्ने भनिएको फिल्म ‘गाउँ नै रमाइलोमा’ मा पनि दयाहाङ र मिरुना मगरको सहकार्य हुँदैछ। विकास सुवेदीको लेखन रहेको फिल्म क्लब वार्क क्रियशनको ब्यानरमा निर्माण हुनेछ।

फिल्मका निर्माता हिमाल कडरिया हुन्। शीर्षकअनुसार फिल्म गाउँको कथामा बन्ने अनुमान गर्न सकिन्छ। फिल्म आगामी दसैँमा प्रदर्शन गर्ने तयारीमा छन्। साइन गरेको फिल्ममा उनीहरू रहन्छन् या फेरिन्छन् त्यो त भन्न सकिन्न। नेपाली सिनेजगतमा उनीहरूको जोडीलाई दर्शकले निकै रुचाए पनि पछिल्लो चरणमा प्रदर्शन भएका फिल्मले सोचेअनुरुप दर्शक तान्न सकिरहेको छैन। अत: निर्माता र निर्देशकले नाम र अनुहारका कारण मात्र फिल्म चल्छ भन्ने सोचाइ त्याग्न जरुरी देखिन्छ।

प्रकाशित: १६ असार २०८१ १९:२४

प्रतिक्रिया

One thought on “हिट जोडीको कति फिल्म चले, कति कमायो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 9 =