ओलीलाई देउवाको प्रस्ताव, ‘पहिला तपाईँ त्यसपछि म’

हिमाल प्रेस १६ असार २०८१ १६:३२
1.2k
SHARES
ओलीलाई देउवाको प्रस्ताव, ‘पहिला तपाईँ त्यसपछि म’ शेरबहादुर देउवा र केपी ओली । फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्। ओली निवास बालकोटमा शनिबार पत्नी आरजुसहित पुगेका देउवाले एमाले अध्यक्ष ओलीलाई चुनावी सरकारको नेतृत्व भने आफूले गर्ने प्रस्ताव गरेको कांग्रेसका एक नेताले जानकारी दिए।

सत्ताको नेतृत्व परिवर्तनका विषयमा कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच लामो समयदेखि छलफल चलिरहे पनि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच शनिबार पहिलो पटक छलफल भएको हो। ती नेताले भने, ‘सभापतिज्यूबाट पहिले ओलीलाई सत्ता सम्हाल्न र चुनावी सरकारको नेतृत्व आफूले गर्ने प्रस्ताव गर्नुभएको छ।’

संसद्को सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा छ। यसैगरी एमाले सत्ता पक्षमा रहेको मुख्य ठूलो दल हो। दुई शीर्ष नेताबीच नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ताबाट हटाउने विषयमा छलफल अघि बढेको कांग्रेसका ती नेताले जानकारी दिए।

‘वर्तमान सरकारबाट काम केही पनि नहुने, मुलुक हितभन्दा आफ्नो र अन्यको हित मात्र हेर्ने भएपछि दुई ठूला दल मिलेर सरकार चलाउने तयारी भएको हो’, ती नेताले भने। कांग्रेसले ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि राज्य सत्तालाई सहज ढंगले अघि बढाउनुपर्नेमा जोड दिएको ती नेताको दाबी छ।

साना दलहरूले वर्चस्व बढाएर ठूला दललाई पाखा लगाउन खोजेपछि देउवा र ओलीबीच छलफल भएको ती नेताले बताए। उनका अनुसार दक्षिण छिमेकी स्थायी सरकारको परिकल्पना गरिरहेको छ भने उत्तर छिमेकी कम्युनिस्ट एक भएर सत्ता चलाएको हेर्न खोजिरहेका छन्। यस्तो अवस्थामा कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको ती नेताको भनाइ छ।

एमाले अध्यक्ष ओली पनि साना दल मिलाउनभन्दा ठूलो दलसँग सहकार्य गरेर अघि बढ्न सहज हुने निष्कर्षमा पुगेको एमालेका एक नेताले बताए। ओलीलाई माओवादी, कांग्रेस, रास्वपा र जसपाको गठबन्धन बनेमा के हुन्छ भन्ने चिन्ता पनि छ।

माओवादी नेताहरू भने ओली र देउवाको भेटलाई सामान्य आकलन गर्न नहुने बताउँछन्। प्रमुख प्रतिपक्षी दलका नेता देउवा र सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्ष ओलीबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको माओवादीका एक नेताले बताए।

विगत केही दिनदेखि दुवै दलका दोस्रो तहका नेताहरू लगातार वार्तामा छन्। दोस्रो तहका नेताहरूबीचको वार्ताले सकारात्मक परिणाम निकाल्ने देखिएपछि शीर्ष नेताबीच सत्ता गठबन्धनका विषयमा समेत कुराकानी भएको हो। यसमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, उद्यमी विनोद चौधरीलगायतको भूमिका रहेको कांग्रेसका एक नेताले जानकारी दिए।

कांग्रेस जसरी पनि वर्तमान सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ताबाट हटाउने रणनीतिमा छ। यो रणनीति लिएर हिँडिरहेका देउवाले ओलीसँग जस्तो पनि सम्झौता गर्नसक्ने आकलन माओवादीको छ।

कांग्रेस नेता डा. शेखर कोइरालाले पनि एमाले-कांग्रेस गठबन्धन आवश्यक रहेको भन्दै आएका थिए। समय र परिस्थिति नियालेर जसरी पनि कांग्रेस र एमाले एक नभएसम्म काम नहुने उनको बुझाइ छ। देउवा ओलीलाई प्रधानमन्त्री बनाउन तयार देखिएका छन्। निर्वाचन आफूले गराउने र पार्टीको महाधिवेशन धकेलेर केही समय सभापति रहने रणनीतिमा देउवा रहेको कांग्रेसका एक नेताले बताए।

पुष्पलाल जयन्तीका अवसरमा शनिबार दिउँसो काठमाडौँमा आयोजित कार्यक्रममा सबै कम्युनिस्ट पार्टीका प्रमुख उपस्थित भए पनि ओली सहभागी भएनन्। त्यतिबेला उनी सत्ता फेर्ने विषयमा छलफल गरिरहेका थिए। यसलाई सत्ता गठबन्धनले गम्भीर रूपमा लिएको छ। यसरी सत्ता समीकरण परिवर्तन हुँदा देउवा पत्नीलाई आरोप लाग्ने भुटानी शरणार्थी र एमाले अध्यक्षलाई गिरी बन्धु चिया बगानले तताएको छ। त्यही सामसुम पार्न स्वार्थ केन्द्रित रहेको शंका गर्ने नेताहरू पनि छन्।

पछिल्लो समय शीर्ष नेताहरूको भेटवार्ता बाक्लिएको छ। नेताहरू भने संक्रमकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा छलफल गर्नका लागि भेटवार्ताको क्रम बढेको दाबी गर्छन्। कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार ओलीलाई भेट्न भक्तपुरस्थित बालकोट पुगेका थिए। दुई शीर्ष नेताबीच के विषयमा छलफल भएको हो खुलाइएको छैन।

देउवा र ओलीबीचको भेटलाई लिएर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झस्किएका छन्। अध्यक्ष प्रचण्डले पार्टीको शीर्ष तहमा सत्ताको नेतृत्व परिवर्तन हुने संकेत गरेको माओवादीका एक नेताले बताए। ती नेताले सत्ता परिवर्तनमा छिमेकीको बढी चासो रहेको दाबी गरे। उनले भने, ‘नेपालको राजनीतिक परिवर्तनमा छिमेकीहरुको चासो रहँने हुँदा कसरी उनीहरुले लिन्छन् त्यसमा पनि भरपर्छ।’

प्रचण्डले एमाले अध्यक्ष ओली र सभापति देउवाबीचको भेटलाई गम्भीर रूपमा लिएको माओवादीका ती नेताले बताएका छन्। देउवा र ओलीबीचको भेटपछि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई पनि भेट गरिसकेका छन्। एमाले अध्यक्ष ओलीले आइतबार प्रधानमन्त्री ‘प्रचण्ड’सँग छलफल गरेका हुन्। सिंहदरबारमा भएको भेटमा  समसामयिक विषयमा छलफल भएको सचिवालयका एक सदस्यले जानकारी दिए।

ओली र देउवाबीच के विषयमा कुराकानी भएको भन्नेबारेमा औपचारिक जानकारी बाहिर आएको छैन। एमाले प्रवक्ता राजेन्द्र गौतम नेताहरूबीच भेटघाट हुनु सामान्य रहेको बताउँछन्। उनले तत्काल सत्ता परिवर्तन हुन नसक्ने पनि बताए। उनले भने, ‘हामी यही सरकारको निरन्तरता चाहन्छौँ। भेटघाट सामान्य हो। देउवाजीले भेट्न खोज्नुभयो। भेट्नुभयो के नौलो भयो र?’

प्रकाशित: १६ असार २०८१ १६:३२

प्रतिक्रिया

2 thoughts on “ओलीलाई देउवाको प्रस्ताव, ‘पहिला तपाईँ त्यसपछि म’

  1. दुई खुंखार मिलेपछि झन के होला? यिनीहरू २०४८ देखि नै एक अर्काका सारथी हुन। कहिले काहीँ के पी बाले धोका दिए पनि देउवा राजनीतिक सहमतिमा इमानदार छन्। उनले डा‍. शेखरलाई पार्टीमा आगामी सभापतिमा अघि बढाउने सर्त सहितको तयारी पनि गरेका छन्।

  2. गिरीबन्दु र भुटानी शरणार्थीको फाइल अघि नबढाउने सहमतीमा आलोपालो सरकार हो? राम्रै कुरा भएपनि शंका लाग्ने क्या? जय होस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =