वडा तहसम्मै एमालेमा गुटको प्रभाव

विवेक विवश रेग्मी १६ असार २०८१ १५:१६
174
SHARES
वडा तहसम्मै एमालेमा गुटको प्रभाव

इटहरी- नेकपा एमालेमा स्थानीय तहसम्मै गुटको प्रभाव पर्न थालेको छ। शनिबार इटहरीमा सम्पन्न एमालेको नवौँ अधिवेशन, यसअघि गत जेठमा भएको सुनसरी जिल्लाको अधिवेशनदेखि विराटनगरमा खानेपानीको निर्वाचनलाई लिएर पार्टीबाटै निष्कासनमा परेको घटनलाई नियाल्दा पछिल्लो समय पार्टीभित्र गुटको प्रभाव पर्न थालेको हो।

खासगरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहकै नेताहरू स्थानीय तहसम्मै आ–आफ्नो गुट निर्माणमा सक्रिय बनेका छन्। गुट निर्माणका कारण निर्वाचनताका आफू निकटकालाई टिकट वितरण गर्नु नै ‘मुख्य स्वार्थ’ रहेको स्वयम् नेताहरू बताउँछन्।

‘पार्टीले आम निर्वाचनसँगै विभिन्न निर्वाचनमा आफू निकटकालाई उम्मेदवार बनाउनका निम्ति व्यक्तिपिच्छे गुट बन्ने गरेको छ,’ एमाले इटहरीका एक नेताले भने, ‘खासमा बाहिरी रूपमा भन्दा सबै एमाले गुट भनिन्छ। तर, भित्री रूपमा भने एमालेमा पनि व्यक्तिपिच्छे गुट हुन थालेको छ।’

यसको पछिल्लो उदाहरणका रूपमा लिन सकिन्छ, इटहरीको निर्वाचनलाई। नेकपा एमाले इटहरीको शनिबार नवौँ अधिवेशनले रुपेश बस्नेतलाई निर्वाचत गरायो। निर्वाचनमा बस्नेतले १९७ मत प्राप्त गर्दै विजयी भए। त्यसैगरी निकटतम् प्रतिस्पर्धी सुजन लामाले ७९ मत प्राप्त गरे भने उमेश पौडेलले ६२ मत प्राप्त गरे।

नवनिर्वाचित बस्नेतलाई एमाले इटहरीका निवर्तमान अध्यक्ष यामकुमार सुब्बा र खानेपानी इटहरीका निवर्तमान अध्यक्षसमेत रहेका रामप्रसाद चौलागाईँले सहयोग गरेका थिए। पौडेललाई भने एमाले सुनसरीका निवर्तमान अध्यक्ष तथा प्रदेश सांसद रेवतीरमण भण्डारी र एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले सहयोग गरेका थिए। त्यसैगरी विद्यार्थी नेताहरूसहित युवाहरूले भने सुजन लामालाई अध्यक्षमा उम्मेदवारी उठाएका थिए।

खासगरी कोशी प्रदेशमा विराटनगरपछि इटहरीलाई प्रत्येक राजनीतिक दलको निर्वाचनमा महत्वकासाथ हेरिदैँ आएको छ। एक महिनाअघि (जेठ ५–७) मा भएको एमाले सुनसरीको निर्वाचनमा पनि दुई समूहबीच निर्वाचन भएको थियो।

इटहरीको नगर अधिवेशन भने रोचक भयो। खासगरी इटहरी खानेपानीका निवर्तमान अध्यक्ष रामप्रसाद चौलागाईँले एमाले नगर अध्यक्षसमेत रहेका याम सुब्बालाई खानेपानीको अध्यक्षमै निर्वाचित गराउन सहयोग गरेका थिए। इटहरी उपमहानगरको मेयरमा पराजित सुब्बालाई खानेपानीमा ‘सेटल’ गराएर चौलागाईँ आगामी स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्ने तयारीमा रहेको स्रोत बताउँछ।

‘याम सुब्बालाई खानेपानीमा सेटल गराउनु र उहाँहरूले चाहेकै उम्मेदवार (रुपेश बस्नेत)ले निर्वाचन जित्नुले पनि आगामी स्थानीय तहको निर्वाचनमा रामप्रसाद चौलागाईँ एमालेबाट मेयरको उम्मेदवार बन्ने सक्ने तयारी छ,’ एमाले स्रोत भन्छ, ‘एमालेको जिल्लादेखि सबै स्थानीय तहमा पछिल्लो समय निर्वाचन हुनुले पनि आन्तरिक रूपमा एमालेभित्र दुई गुट रहेको प्रष्ट छ।’

खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली समूह र इतर समूहबीच प्रतिष्पर्धा हुँदै आएपनि इटहरीमा भएको निर्वाचनमा भने सबैजना ओली निकटकै हुन्। तर, स्थानीय तहमा भने ओली गुटबीच पनि व्यक्तिपिच्छेका गुट हुँदा भने पार्टीको वडा कमिटिसम्म गुटको प्रभाव पर्ने गरेको छ।

गत जेठमा भएको सुनसरीको निर्वाचनमा नीलम खनालको प्यानलै निर्वाचित भएको थियो। निकटतम् प्रतिद्वन्द्वी  खेमराज पोखरेललाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका खनालले कार्यभार सम्हाल्न नपाउँदै उनको निधन भयो। यसअघि खेमराज पोखरेल भने रेवती भण्डारीसँगै पराजित भएका थिए। उनै भण्डारीले यसपटक भने खनाललाई उम्मेदवार बनाएर पोखरेललाई हराएको एमाले निकटहरू बताउँछन्।

उता विराटनगरमा भने खानेपानीको निर्वाचनमा पार्टीको निर्णय विपरीत गएको भन्दै गत जेठ ३२ गते एमाले विराटनगर महानगरपालिकाकाका अध्यक्ष सागर थापासहित तीनजनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको थियो।

एमाले मोरङ जिल्ला कमिटीले महानगरका अध्यक्ष थापा, उपसचिव नवराज नेपाल र वडा नम्बर ३ अध्यक्ष लालमणि भट्टराईलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिएको थियो।

विराटनगरमा रहेको मानगढ खानेपानीको निर्वाचनको विषयलाई लिएर महानगरका निलम्बन गरिएको जनाइएको थियो।। विराटनगरमा रहेको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एमालेले राम घिमिरेलाई उम्मेदवार बनाएको थियो। पार्टीको निर्णय विपरीत गएको भन्दै उनीहरूलाई कारबाही गरिएको थियो।

खासगरी पछिल्लो सयम कोशी प्रदेशमा पनि एमाले नेता शेरधन राई र भीम आचार्य समूहबीच निर्वाचनमा प्रतिष्पर्धा हुँदै आएको छ। त्यसैगरी पार्टीको वडा तहसम्मै उनीहरूको समूहबीच प्रतिष्पर्धा हुँदै आएको एमाले स्रोत बताउँछ।

एमालेमा ओली समूहका राई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हुन्। माधवकुमार नेपाल समूहका आचार्य भने कोशी प्रदेशको यसअघि मुख्यमन्त्री हुनकै लागि नेकपा एकीकृत समाजवादीमा प्रवेश नगरेको र एमालेमै रहेर ओली इतर समूहमा काम गरिरहेको स्रोतले जनाएको छ।

इटहरीको निर्वाचनमा कुन पदमा को निर्वाचित ?

अध्यक्षमा बस्नेत निर्वाचित हुँदा उपाध्यक्षमा जीतेन्द्र थापा निर्वाचित भएका छन्। उनले २०१ मत प्राप्त गर्दा मन्दिरा राईले १३१ मत प्राप्त गरिन्। यसैगरी सचिवमा मदनबहादुर कार्कीले १७३ मत प्राप्त गर्दै निर्वाचित हुँदा राजेन्द्रकेशरी घिमिरेले १२१ र गोपाल गिरीले ४० मत प्राप्त गरे।

यता, उपसचिवमा रञ्जु सिग्देलले २४५ मत र तेजनारायण चौधरीले १५० मत प्राप्त गर्दै विजयी भए भने मनोजकुमार राय, सुनील कार्कीले समान ९१ मत प्राप्त गर्दा विमलादेवी लम्सालले ८१ मत प्राप्त गरिन्।

यस्तै, लेखा कमिटि सदस्य महिलातर्फ मेनुका घिमिरे भट्टराई र रेणुका राई, लेखा कमिटि सदस्य खुल्लातर्फ निशान खनाल र प्रशान्त पोखरेल निर्वाचित भएका छन्।
यसैगरी, हल खुल्ला महिला सदस्यतर्फ चन्दा पुरी, दमयन्ता कार्की, धनुकला नाल्बो लिम्बू र धनमाया श्रेष्ठ, हल खुल्ला सदस्यतर्फ उमानाथ दाहाल, उमेश सुवेदी, केदार घिमिरे, देवराज मादेन र हर्कबहादुर मगर निर्वाचत भएका छन्।

यस्तै, दलित महिला सदस्यतर्फ राधिका विश्वकर्मा, आदिवासी जनजाती सदस्यतर्फ शिलाकुमारी गुरुङ, जनजाती पुरुष सदस्यतर्फ पूर्णबहादुर तामाङ र सरोजकुमार गुरुङ, थारु महिला सदस्यतर्फ गायत्रीकुमारी चौधरी, थारु खुल्ला सदस्यतर्फ कमलकुमार चौधरी र सत्यनारायण चौधरी निर्वाचित भएका छन्।

उता, भूगोल खुल्ला सदस्य (७ नं.) तर्फ देवनारायण चौधरी, भूगोल महिला सदस्य (७ नं.) तर्फ मेनुका बञ्जरा, भूगोल खुल्ला (१२ नं.) तर्फ कमल कार्की, भूगोल खुल्ला (२० नं.) रवीन्द्र भट्टराई निर्वाचत भएका छन्।

प्रकाशित: १६ असार २०८१ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =