भारतलाई दोस्रोपटक आईसीसी टी ट्वान्टी विश्वकप उपाधि

हिमाल प्रेस १५ असार २०८१ २३:५०
10
SHARES
भारतलाई दोस्रोपटक आईसीसी टी ट्वान्टी विश्वकप उपाधि भारत र दक्षिण अफ्रिका बीचको खेलमा ब्याटिङ गर्दै भारतका विराट कोहली। तस्बिर : एपी/रासस

काठमाडौँ– आईसीसी टी ट्वान्टी विश्वकप २०२४ को उपाधि भारतले जितेको छ। ब्रिज टाउनमा शनिबार भएको प्रतिस्पर्धामा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रोपटक उपाधि जितेको हो।

फाइनलमा भारतविरुद्ध दक्षिण अफ्रिकाले १ सय ७७ रनको लक्ष्य पाएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो। त्यसपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो।

जारी विश्वकपमा यी दुई टोली अपराजित रहँदै अन्तिम दुईमा पुगेका थिए। दक्षिण अफ्रिकाले सबै ८ खेल जितेको थियो। सन् २००७ मा दक्षिण अफ्रिकामै आयोजना भएको पहिलो संस्करणको विजेता भारत २०१४ को फाइनलमा श्रीलंकासँग पराजित भएको थियो।

सन् २००७ देखि टी२० विश्वकप आयोजना हुन थालेको हो। अहिलेसम्म नौवटा विश्वकप प्रतियोगिता भइसकेको छ। वेस्ट इन्डिज र इंगल्यान्डले दुईदुई पटक विश्वकप जितेका छन्।

दक्षिण अफ्रिकामा भएको पहिलो विश्वकप भारतले जितेको थियो। दोस्रो विश्वकप सन् २००९ मा इंगल्यान्डमा भएको थियो। उक्त विश्वकप पाकिस्तानले जितेको थियो। यसैगरी २०१० मा वेस्ट इन्डिजमा भएको विश्वकप इंगल्यान्डले जितेको थियो।

२०१२ मा श्रीलंकामा भएको विश्वकप उपाधि वेस्ट इन्डिजले हात पारेको थियो। २०१४ मा टी२० विश्वकप बंगलादेशमा भएको थियो। उक्त विश्वकप श्रीलंकाले जितेको थियो।२०१६ मा भारतमा भएको विश्वकप वेस्ट इन्डिजले जितेको थिए। २०२१ मा यूएई र ओमनमा भएको विश्वकप जित्ने टोली थियो अस्ट्रेलिया। २०२२ मा अस्ट्रेलियामा भएको विश्वकप इंगल्यान्डले जितेको थियो।

प्रकाशित: १५ असार २०८१ २३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seventeen =