लुम्बिनीमा मनाइयो धान दिवस, १८.५ प्रतिशतमा मात्रै रोपाइँ

विनोद परियार १५ असार २०८१ २१:२४
42
SHARES
लुम्बिनीमा मनाइयो धान दिवस, १८.५ प्रतिशतमा मात्रै रोपाइँ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ५ काभ्रामा रोपाइँ गरेर धान दिवस मनाउँदै।

लुम्बिनी– लुम्बिनी प्रदेशमा २१ औँ राष्ट्रिय धान दिवस मनाइएको छ। ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवसका अवसरमा शनिबार मुख्यमन्त्रीसहित लुम्बिनीका विभिन्न स्थानीय तहका जनप्रतिनिधि सामेल भएर दिवस मनाएका हुन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो गृहजिल्ला रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ५ काभ्रामा रोपाइँ गरेर धान दिवस मनाएका छन्।

रोल्पाका किसानसँगै खेतमा धान रोपाइँ गरी मुख्यमन्त्री महराले १५ असारलाई कृषि क्षेत्रको विशेष दिनका रुपमा मनाएका हुन्। ‘जनआकांक्षा पूरा गर्ने हाम्रो संकल्प  : दिगो विकास र सुशासन मात्र विकल्प’ भन्ने लुम्बिनी प्रदेश सरकारको नारालाई साकार पार्नका लागि किसानहरुसँग हातेमालो गरेर सरकार अगाडि बढ्ने जमर्को गरेको मुख्यमन्त्रीले बताए। उनले कृषि क्षेत्रलाई संस्थागत रुपमा अगाडि बढाउन नीतिगत रुपमा र व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र कृषि क्षेत्रको विस्तारमा लुम्बिनी प्रदेश सरकारले ध्यान दिएको समेत उनले बताए। यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल १८ दुवौलीमा रोपाइँमा सरिक भएर दिवस मनाएका छन्। लुम्बिनी प्रदेशमा भने रोपाइँ निकै कम भएको छ।

केही दिनअघिबाट मात्रै पानी पर्न थालेपछि बल्ल रोपाइँ सुरु भएको हो। लुम्बिनी प्रदेशमा १८.५ प्रतिशत मात्रै रोपाइँ भएको प्रदेश सरकारको तथ्यांकले देखाएको छ। कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले असार १४ गतेसम्म लुम्बिनीमा १८.५ प्रतिशत रोपाइँ भएको बताए।

गत वर्ष यो अवधिमा ११.०९ प्रतिशत धान मात्रै रोपाइँ भएको थियो। लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमध्ये ६७ हजार ६६७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ। कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका कृषि अर्थ विज्ञ पौडेलका अनुसार प्रदेशमा सबै भन्दा धेरै धान रोपाइँ प्युठानमा भएको छ भने कपिलवस्तुमा सबै भन्दा कम रोपाइँ भएको छ। प्युठानमा कुल ५ हजार २२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ।

कपिलवस्तुमा ६९ हजार ४९७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ। जसमध्ये प्युठानमा ६ हजार ५२५ हेक्टर क्षेत्रफल अर्थात् धान रोपाइँ हुने क्षेत्रको ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने ६९ हजार ४८० हेक्टर क्षेत्रफल अर्थात् धान रोपाइँ हुने क्षेत्रफलको ४ प्रतिशत मात्रै रोपाइँ भएको छ।

यस्तै रुपन्देहीमा २३ प्रतिशत रोपाइँ सकिएको छ। रूपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये १४ हजार ६०४ हेक्टरमा रोपाइँ भएको हो। यसैगरी दाङमा १० प्रतिशत र बर्दियामा २३.८ प्रतिशत नवलपरासी पश्चिममा ५८ प्रतिशत मात्रै रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ।

प्रदेशको सबैभन्दा धेरै धान उत्पादन हुने पहाडी जिल्ला गुल्मीमा ११ प्रतिशत रोपाइँ सकिएको छ। गुल्मीमा ७ हजार ९८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने अहिलेसम्म ८७९ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सकिएको छ।

पाल्पामा ७ सय ४२ हेक्टर क्षेत्रफल अर्थात् ९ प्रतिशतमा रोपाइँ सकिएको छ। रोल्पामा ३ हजार ४४६ हेक्टर क्षेत्रफलमा रोपाइ हुँदा अर्घाखाँचीमा १ हजार ६९४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ। रोल्पामा ४ हजार ५९५ हेक्टर र अर्घाखाँचीमा ७ हजार ७०१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ।

यस्तै रुकुम पूर्वमा धान रोपाइँ हुने ९६२ हेक्टर क्षेत्रफल मध्य १०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। जुन कुल धान रोपाइँ हुने क्षेत्रफलको ११ प्रतिशत हो। सिँचाईको अभाव र आकाशको पानीमानिर्भर हुँदा कम मात्रामा धान रोपाइँ भएको हो।

 

प्रकाशित: १५ असार २०८१ २१:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =