असारे हिलोमा रमाए पर्यटक [तस्बिरहरू]

विजय नेपाल १५ असार २०८१ २१:३७
6
SHARES
असारे हिलोमा रमाए पर्यटक [तस्बिरहरू] पोखरा पर्यटन परिषद्ले पोखरा २३, मार्गीस्थित फेवा फाँटमा आयोजना गरेको रोपाइँ जात्रामा रमाउँदै पर्यटक। तस्बिरहरू : हिमालप्रेस

पोखरा- ‘पोखराको पर्यटन सबै मौसमका लागि’ मूल नाराका साथ शनिबार आयोजित असारे रोपाइँ महोत्सवमा करिब ३ सय विदेशी पर्यटक सहभागी भए। पोखरा पर्यटन परिषद्ले महोत्सवको १९ औँ संस्करण यसपालि पोखरा २३, मार्गीस्थित फेवा फाँटमा आयोजना गरेको हो। झण्डै दुई दशकदेखि सुरु भएको यो महोत्सवमा बर्सेनि फरक फरक फाँटमा हुने गरेको छ।

आयोजकका अनुसार महोत्सवमा करिब ३० देशका गरी ३ सय पर्यटक हिलोमा रमाएका हुन्। उनीहरु हिलोमा आयोजित विभिन्न इभेन्टमा खुबै रमाइलो मानेर रमाए।

हिलोमा डोरी तान्ने प्रतियोगितामा मात्रै विदेशी १० टिमले भाग लिएको परिषद् महासचिव सञ्जयकान्त सिग्देलले बताए। एउटा टिममा कम्तीमा १० जना सहभागी थिए। आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न दुई दशकदेखि आयोजित महोत्सव यसपालि पनि सफल भएको उनको भनाइ छ।

महोत्सवमा साउने प्रतियोगिता ९हलगोरु दौड०, आमा समूहबीच असारेगीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगिता, हिलोमा दौड, रस्साकसी, भलिबल प्रतियोगिता समेत हिलोमै भएको हो।

महोत्सवको प्रमुख आकर्षक गायिका समीक्षा अधिकारी थिइन्। उनले चर्चित गीतमा मनोरञ्जन प्रदान गरिन्। साथै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष प्रजापति पराजुली, निर्जला गुरुङ, बालकाशी गुरुङलगायत कलाकारको प्रस्तुति थियो।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे हली बनेर हिलो छोएपछि महोत्सव उद्घाटन गरिएको हो। पाण्डेले पोखराको पर्यटन कृषि उत्पादनसँग पनि जोड्नुपर्ने बताए। यसखालका महोत्सवले पर्यटनमा टेवा पुग्ने उनको भनाइ थियो।

प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए। महोत्सवको स्थानीय आयोजकमा पोखरा महानगरपालिका वडा २३, मार्गी बगर टोल विकास संस्था, प्रवर्धक गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिका कार्यालय थिए।

असार १५ मा रोपाइँ महोत्सव मनाइरहँदा सरकारले समेत केही वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउन सुरुआत गरेपछि यसको झनै महत्व बढेको परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन्।

रोपाइँ जात्रामा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने, पोखरा घुम्न आएका विदेशी पर्यटक महोत्सवस्थलसम्म लैजाने, पोखरा घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश देशविदेशमा प्रचार गर्ने, किसनलाई प्रोत्साहित गर्ने, मौलिक परम्परागत कृषिप्रणालीबारे जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव सयोजक तारानाथ पहारीले बताए।

जेठाबुढो धान पोखराको पहिचान हो। तर बढ्दौ सहरीकरणसँगै यो अचेल मासिँदै गएको छ। पोखरामा विगतमा धेरै ठाउँमा फाँट थिए। त्यसैले पनि तिनीहरुको नाम बिरुवा फाँट, कुडँहर फाँट, फेवा फाँट, अर्मला फाँट, पामे फाँट, बिरौवा फाँटको रुपमा चर्चित हुन्। अचेल तीव्र सहरीकरणका लागि फाँटभरि घर ठडिएका छन्। साथै, खेतीयोग्य जमिनसँगै यहाँका सिमसार, रामसार क्षेत्र समेत संकटमा छन्।

प्रकाशित: १५ असार २०८१ २१:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =