किन हमासलाई हराउन सकिरहेको छैन इजरायल?

हिमाल प्रेस १६ असार २०८१ १२:०६
66
SHARES
किन हमासलाई हराउन सकिरहेको छैन इजरायल? गाजापट्टि सहरको पश्चिममा इजरायली हवाई हमलापछि उडेको धुवाँ। इजरायली आक्रमणमा शुक्रबार कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ। तस्बिर : सिन्हवा/रासस

अक्टोबर ७ को त्यो हमलापछि इजरायली नागरिक इजरायली फौजको क्षमतालाई लिएर निरन्तर प्रश्न गरिरहेका छन्। के इजरायली फौज हमासलाई साँच्चै हराउन सक्षम छ? इजरायली समाज यसको जबाफ खोजिरहेको छ। गाजामाथि नियन्त्रण जमाउन इजरायली फौजले भएभरको स्रोत परिचालन गरेको छ। उसलाई पर्याप्त समय दिइएको छ।  यति हुँदाहुँदै पनि हमास ढलेको छैन।

हो, गाजा र अन्य क्षेत्रमा हमासलाई ठूलो क्षति भएकै छ। धेरै लडाकु मारिएका छन्। इजरायली वायुसेनाको आक्रमणले हमासको पूर्वाधार क्षतविक्षत भएको छ। जलसेना र थलसेनाको कारबाहीले हमास आत्तिएको छ। यद्यपि हमास मेटिन मानेको छैन।

पछिल्ला धेरै वर्ष इजरायल एउटा बहसमा रुमल्लियो। बहस थियो, गाजालाई लिएर के निर्णय गर्ने? इजरायलभित्र फरकफरक कित्ताबाट फरकफरक मत आइरहे। त्यसमध्येको एउटा मत थियो, सैन्य शक्तिको उपयोग गरी गाजालाई पूर्ण नियन्त्रणमा लिने। यसलाई बहसमा राखिएका मतमध्ये सबैभन्दा उत्तम मानिएको थियो। तर यसो गर्दा केही गम्भीर समस्या सिर्जित हुने थिए। जस्तै, मानवीय हताहती, सैन्य कारबाहीका कारण तहसनहस हुने गाजा, अन्तर्राष्ट्रिय समुदायले गर्ने विरोध। उत्पन्न हुनसक्ने समस्याबारे त्यसबेला छलफल गरियो, तर एउटा सम्भावनाबारे सोचिएन। त्यो थियो, सैन्य कारबाहीले पनि हमासलाई मेट्न नसके?

अक्टोबर ७ मा हमासले त्यो स्तरको हमला गर्छ भनेर इजरायलभित्र कसैले अनुमान गरेको थिएन। जबाफी कारबाही गर्दा हमासलाई इजरायली फौजले तहसनहस नगर्ला भनेर त झन् अनुमान गर्ने कुरै भएन। यो प्रकारको अनुमान, त्यो पनि यस्तो सेनालाई लिएर, जसले सन् १९६७ को अरब युद्धमा ६ दिनभित्र चार देशका सेनालाई हराएको थियो, कसले किन गर्थ्यो र?

त्यसो भए किन पराजित भएको छैन हमास?

कारण हो, सुरुङ। गाजाको जमिनमुनि हमास बलियो छ भन्ने सबैलाई थाहा थियो। तर सुरुङकै कारण हमास बाँचिरहन्छ भनेर चाहिँ कमैले अनुमान गरेका थिए। उसो त हमासले इजरायलविरुद्धको लडाइँ अरू धेरै पक्षको प्रयोग गर्ने गरेको थियो। स्स्थानीय नागरिकको जनघनत्व बढी हुने ठाउँबाट गतिविधि सञ्चालन गर्ने हमासका लडाकु अस्पताल, विद्यालय, मस्जिदभित्र शरण लिने गर्थे। यसपालि भने इजरायली फौजलाई ती सबै सुविधाबाट वञ्चित गरिदियो। तर हमासलाई सुरुङबाट भने इजरायली फौजले हटाउन सकेन।

हमासका धेरैभन्दा धेरै लडाकु सुरुङभित्र शरण लिने, त्यहीँबाट परिचालित हुने मात्र होइन बन्धकहरूलाई समेत त्यहीँ राखिने गरिएको छ। सुरुङलाई आफ्नो गढ मानेको हमासले थप सुरुङ खन्न छाडेको छैन। हमासका लागि सुरुङ मुख्य ताकत हो। आफूलाई बचाइराख्ने आधार हो। सुरुङ नहुँदो हो त, इजरायली फौजले हमासलाई अक्टोबर महिनाभरमै पराजित गरिसक्ने थियो।

इजरायली फौजले हमास निर्मित सुरुङ नभेट्टाएको होइन। कतिपय सुरुङलाई कब्जामा नलिएको पनि होइन। तर इजरायली सेनाले सुरुङभित्र पसी कमै कारबाही चलाएको छ। त्यो पनि सुरुङभित्र धेरै समय खर्च नगर्ने गरी। किनभने इजरायली फौजको उद्देश्य सुरुङलाई पूर्ण कब्जामा लिने हुँदैन।

खासमा हमासले जमिनमाथिबाट जसरी साना आकारका आक्रमणको योजना बुन्छ, इजरयाली फौज जमिनमुनि त्यसरी नै साना आकारका कारबाही अभियान चलाउने गर्छ। हमासका लडाकु सुरुङबाट माथि उक्लिन्छन्, क्षेप्यास्त्र प्रहार गर्छन् र हतारहतार सुरुङभित्र पस्छन्। उता क्षेप्यास्त्र हमला खेप्नसाथ इजरायली फौज हमासको सुरुङभित्र पस्छ, दुस्मनको अखडा तहसनहस पार्ने प्रयास गर्छ।

गाजामा भइरहेको युद्ध बाहिरबाट हेर्दा अत्यासलाग्दो देखिन्छ। वास्तविकता केही फरक छ। गाजामा एउटा सिमाना रहिआएको छ। यो सिमाना न त इजरायली फौज र हमास हम्मेसी नकट्ने गरी निर्माण भएको हो। तर जहाँ सिमाना विद्यमान थिएन, जस्तै किब्बुटजिमको पश्चिमी क्षेत्रमा, त्यहाँ इजरायली सेनाले जमिनमाथि पूर्ण कब्जा जमाएको छ।

यहाँ जमिनमुनि भने अझै पनि हमास बलियो छ। गत अक्टोबरमा इजरायली फौजले घातक हमला गरेपछि हमास सुरुङमा सीमित भएको हो। यहाँ बारम्बार दुवै पक्षले पकड बढाउने कोसिस गरिरहेकै छन्। यहाँ मात्र होइन, अन्य क्षेत्रमा पनि इजरायली फौज र हमास पकड पहिल्याउन पालैपालो एकअर्काविरुद्ध हमला गर्छन्। हाल हमास जबल्या र राफाबाट इजरायली फौजलाई धकेल्न प्रयास गरिरहेको छ। उता इजरायली फौज हमासलाई सुरुङबाट बाहिर निकाल्न चाहन्छ, ताकि हमासमाथिको कारबाहीलाई सफल मान्न सकियोस्।

बेलाबेलामा इजरायली पक्षबाट यस्तो भनाइ आइरहन्छ, याया सिनवर मुसा जस्तो लुक्छन्। हमासका शक्तिशाली नेता सिनवरलाई हेपेर यसो भनिएको होइन। बरु यो अभिव्यक्ति निराशाको उपज हो। उनलाई खोज्दाखोज्दा इजरायली फौज साँच्चै दिक्क मान्न थालेको छ। इजरायली फौजलाई डर पनि छ, सिनवरजस्ता नेतालाई भेट्नै नसकिने पो हो कि? उसै पनि यी नेतालाई खोज्न सुरुङ पस्दा इजरायली फौजतर्फ पटकपटक क्षति पुग्ने गरेको छ।

इजरायल सैन्य र प्राविधिक रूपमा अब्बल छ। यो तथ्य हो। तर यसको मतलब यो होइन कि, इजरायल सुरुङ युद्धका लागि तयार छ। यस्तो युद्धका लागि इजरायलसँग न त सुहाउँदो हतियार छन्, न त यसका लागि हुर्काइएको सैन्य युनिट छन्। अतः यो युद्ध इजरायलका लागि एउटा पाठ हो, अबको जमानामा सुरुङभित्र पसेर लड्ने सेना नभए युद्ध जित्न सकिँदैन। जसरी आधुनिक युद्धपोत र जलसेनाबिना शक्तिशाली सेना बन्न नसकिने यथार्थ छ, त्यस्तै अर्को यथार्थ हामीसामु आइपुगेको छ, उपयुक्त स्रोतबिना सुरुङ युद्ध जित्न सकिँदैन।

अब इजरायलले सुरुङ युद्धका लागि आफूलाई तयार पार्नैपर्छ। बुट जमिनमाथि मात्र होइन, जमिनमुनि पनि बजार्न जरुरी छ। गाजाका सुरुङ हमासको किल्ला हो। ती सुरुङलाई हमासमुक्त बनाउन कम मेहनत लाग्नेवाला छैन। के पनि भन्ने गरिएको छ भने हमासले खनेको सुरुङ पाँच सय किलोमिटर जति लामो छ। तर यो सूचनाले इजरायली सेनाले सुरुङभित्रको युद्ध किन जितेको छैन भन्ने प्रश्नको जबाफ दिँदैन। जबकि जमिनमाथि हजारौँ किलोमिटर लामा सडक छन्, बस्ती छन्, त्यहाँ हमासलाई उखेल्न सकिएको छ।

युद्धको सुरुवाती दिनमा इजरायलमा मात्र होइन, विश्वभर नै के भनियो भने इजरायलीमाथि हमला गरेर हमासले आफ्नो खुट्टामा बञ्चरो हान्यो। धेरैको अनुमान थियो, अक्टोबर ७ को त्यो हमलाको जबाफ इजरायलले यसरी दिनेछ कि त्यसले हमास पूर्ण रूपमा नष्ट हुनेछ। तर आठ महिना लामो युद्धले हमास पराजित भएको छैन। जसकारण त्यसबेलाको अनुमानको पुनरवलोकन गर्ने बेला भएको छ। अब एउटा प्रश्न, के हमासले सोचेको थियो, इजरायलले पूर्णकालीन युद्धको घोषणा गर्छ भनेर? सोचेको हुनुपर्छ। त्यसो भए के हमासका नेताहरूले इजरायली हमलाबाट बच्न सकिन्छ भनेर अनुमान गरेका थिए? सायद गरेका थिए।

हमासका नेता प्रस्ट थिए, इजरायलले जत्रो आकारको हमला गरे पनि आफूहरूलाई सुरुङले जोगाउनेछ भनेर। भएको छ पनि त्यस्तै। इजरायलले गाजालाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिँदा पनि हमासका नेता जोेगिएका छन्। कारण उही, पछिल्ला दुई दशकमा खनिएको सुरुङ। सुरुङ युद्धमा हारिँदैन भन्ने मनोबलकै कारण हमासले यस्तो इजरायलमाथि हमला गर्‍यो, जो खाडी क्षेत्रकै सबैभन्दा बलियो सैन्य शक्ति हो।

जबसम्म सुरुङभित्र पसेर हमासलाई पराजित गर्न सक्दैन, तबसम्म इजरायलले यो युद्ध जित्दैन। जमिनमाथि प्राप्त सफलताले सन्तुष्ट भएको इजरायलले यो तथ्यलाई स्वीकार गर्नैपर्छ। उता अमेरिकाले यो तथ्यलाई स्वीकार गरिसकेको हुनुपर्छ। अमेरिकाको पछिल्लो रणनीति विश्लेषण गर्ने हो भने, यो अनुमान लगाउन सकिन्छ। सुरुका दिनमा इजरायललाई भनेजति सहयोग गरेको अमेरिका पछिल्लो समय संकोच मानिरहेको छ। अमेरिकालाई लागेको हुनुपर्छ, हमासलाई पूर्ण रूपमा ध्वस्त बनाउन सकिँदैन।

हमला गरेपछि सुरुङभित्र लुक्ने हमासलाई मुसाको संज्ञा दिन सकिएला। तर आफूसँग जे छ, त्यसको भरपूर उपयोग गरेर युद्ध लड्नु हमासको सबल पक्ष हो। यो वास्तविकतालाई अमेरिकाले जसरी स्वीकर गर्नु बाहेकको विकल्प इजरायलसँग छैन। भलै यो स्वीकारोक्ति इजरायलका लागि पीडादायी हुनेवाला छ। यद्यपि पीडादायी वास्तविकतालाई स्वीकार गरेर आफूलाई तयार पार्ने, तत्कालै युद्धविरामका लागि राजी हुने र सबै बन्धकलाई रिहा गराउन भूमिका खेल्ने इजरायलले गर्नुपर्ने कार्य यिनै हुन्।

निमरोद कोरेनको द जेरुसलेम पोस्टमा छापिएको लेखको भावानुवाद

प्रकाशित: १६ असार २०८१ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 11 =