श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला श्रीमती र छोरीको पहिरोमा परेर मृत्यु

हिमाल प्रेस १५ असार २०८१ १३:४६
8
SHARES
श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला श्रीमती र छोरीको पहिरोमा परेर मृत्यु

पोखरा- स्याङ्जाको फेदीखोलामा गएराति पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु भएको छ।

फेदीखोला गाउँपालिका वडा ५, बाँगेस्थित दुर्गा जिटीको घर पहिरोले पुरिँदा उनीसहित नाबालिका निसासिएर मृत्यु भएको हो ।

अविरल वर्षाका कारण शुक्रबार राति ११ बजेतिर जिटीको घरमा पहिरो खसेको थियो। पहिरोले उनको एकतले घर पुरेको छ भने  गोठको भैँसी मरेको छ।

जिटी परिवारका ४ सदस्यमध्ये दुर्गाका श्रीमान् नरबहादुर जिटी वैदेशिक रोजगारका क्रममा साउदीमा छन्। ७ वर्षीय छोरा निर्देश छिमेकीको घरमा केही दिनदेखि बस्दै आएका थिए। घरमा नभएका कारण उनी जोगिए।

फेदीखोला ५ का वडाध्यक्ष डिलबहादुर गुरुङका अनुसार पहिरोले घर पूर्णरूपमा पुरिएको छ। उनले भने, ‘राति करिब ७ देखि ९ बजेसम्म भीषण वर्षा भएको थियो। कहाँ के गर्छ भन्ने भय हामीलाई पनि भय थियो । आखिर यस्तो देख्नु पर्‍यो।’

उनका अनुसार जिटीको घर कान्लोमा थियो। ढुंगामाटोले बनेको एकतले घर  भएकाले ढिस्कले पुरिएको हो। वडाध्यक्ष गुरुङका अनुसार स्थानीयको सहयोगमा पहिरोमा पुरिएको शव राति करिब ३ बजे निकालिएको थियो। शव पोस्टमार्टमका लागि अस्पताल नलगिएको गुरुङले बताए।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला अस्पतालको टोली, जिल्ला प्रहरी कार्यालयका प्रमुख शालिग्राम शर्मा समेतको उपस्थितिमा शनिबार बिहानै घटनास्थल पुगेर शव परीक्षणसहित शव व्यवस्थापन कार्य भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

संघीय सरकारबाट प्राप्त हुने १५ हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई तत्कालै हस्तान्तरण गरेको छ। यस्तै, वडाध्यक्ष गुरुङले पीडित परिवारलाई वडा र गाउँपालिकाबाट पनि सहयोग हुने बताए। यसै साता कास्की र लमजुङमा घरमा पहिरो खस्दा ६ जनाको ज्यान गएको थियो।

प्रकाशित: १५ असार २०८१ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =