पूर्वराष्ट्रपति भण्डारीको खुलासा : नेकपा विभाजन रोक्न खोजेकै हो सकिनँ

हिमाल प्रेस १४ असार २०८१ १७:५१
66
SHARES
पूर्वराष्ट्रपति भण्डारीको खुलासा : नेकपा विभाजन रोक्न खोजेकै हो सकिनँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेकपा विभाजन रोक्न आफूले हरसम्भव प्रयास गरेको खुलासा गरेकी छन्। आज शुक्रबार पति मदनको जन्म जयन्तीको अवसरमा धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेकी हुन्।

२०७७ सालमा नेकपा विभाजन हुँदा उनी राष्ट्रपति थिइन्। त्यति बेला राष्ट्रपतिको पद र गरीमा भूलेर दलीय राजनीति गरेको गम्भीर आरोप उनलाई लागेको थियो।

आज भण्डारीले तत्कालीन नेकपाको विभाजनका बेलामा आफूलाई निकै ठूलो चिन्ता लागेको पनि बताइन्। ‘२०७७ को कुरा हो। त्यतिबेला मलाईभन्दा बढी पीडा कसलाई थियो होला?’, भण्डारीले भनिन, ‘झन्डै दुई तिहाइ मत ल्याएको पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वाभाविक हो।’

यति बताइसकेर उनले आफूले त्यतिखेर आफूले राजनीति भने नगरेको भन्न पनि छोडिनन्। उनले भनिन्, ‘यो राजनीति होइन। यो राष्ट्रका लागि, राजनीति गर्नुपर्छ भने पनि गर्नुपर्छ। एजेन्सी खेल्ने। पार्टी नफुटाउभन्दा राजनीति हुने ? मैले थाहा पाएरै गरेको हुँ।पाँच महिनामा महाधिवेशन हुन्छ भनेर पर्खन आग्रह गर्दा पनि नेताहरूले मान्नुभएन।’

उनले आफूलाई नेकपाको चिन्ता लिनेले एमाले किन फुटबाट नजोगाएको भन्ने गरेको पनि सुनेको बताइन्। ‘तपाईं पूर्वराष्ट्रपति भएर यस्तो भन्नुहुन्छ। हिजो एमालेको नेता हुनुहुन्थ्यो। एमालेचाहिँ किन नमिलाएको भन्ने गरेको पनि सुनेँ,’ उनले भनिन्, ‘कोसिस त मैले धेरै गरेको। मैले एमालेको लागि होइन देशका लागि गरेको जनतालाई सम्झेर। राजनीति भनेको राष्ट्रसेवा हो। यो व्यवसाय होइन। समाजसेवा, राष्ट्रसेवा हो।’

त्यसवेला आफूले खुट्टा समातेर ढोग्नमात्र नसकेको भन्दै नेताहरूले विपक्षसँग साँठगाँठ गरेकाले समस्या आएको बताइन्। उनले एमाले जब अलि अघि बढ्छ त्यतिबेला ठेस लाग्ने गरेको स्मरण गर्दै ०५० सालमा जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याले राष्ट्रले ठूलो घाटा बेहोरेको सुनाइन्।

२०५४ सालमा पनि आफूले पार्टी विभाजन गर्न नहुने अडान लिएको भन्दै उनले आन्तरिक रूपमा समाधान गरेर अघि बढ्न आग्रह गरेको स्मरण गरिन्।

‘पार्टी विभाजन गरेर कलंकको टीका नलगाउनुस् भनेको, खरानी हुन तयार छु भने’, भण्डारीले नेता वामदेव गौतमप्रति लक्षित गर्दै भनिन्, ‘अहिले खरानी भएका छन्। सिंगो दलका नेता हुने मान्छे।’ उनले छुटेहरू एक भए देशले पनि र पार्टी संगठनले पनि काँचुली फेर्ने बताइन्।

प्रकाशित: १४ असार २०८१ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =