पर्याप्त सुनचाँदी आपूर्ति गर्न दिन व्यवसायीहरूको माग

हिमाल प्रेस १४ असार २०८१ १६:५२
12
SHARES
पर्याप्त सुनचाँदी आपूर्ति गर्न दिन व्यवसायीहरूको माग सांकेतिक तस्बिर।

काठमाडौँ-  नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न बज्राचार्यले सुनचाँदी व्यवसायलाई आवश्यक कानुनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउन माग गरेका छन्। शुक्रबार काठमाडौंमा नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै उनले सुनचाँदी गरगहना बनाउन आवश्यक पर्ने कच्चा पदार्थ पर्याप्त रुपमा आपूर्तिको व्यवस्था गर्न माग गरे।

उनले हाल नेपालमा सुन दैनिक २० किलो र चाँदी आयात ६० हजार डलरको सीमा रहेको बताए। उनले सीमाका कारण नेपालको सुनचाँदी बजार नियन्त्रण भएको उल्लेख गर्दै कुनै व्यवसायको उद्योगले दैनिक एक किलो सुनको गरगहना उत्पादन गर्ने क्षमता राख्छ भने उसलाई प्यान नम्बरको आधारमा एक किलो नै सुन पाउने र कसैले पाँच किलोको क्षमता राख्छ भने सोही बमोजिम र कसैलाई ५० ग्रामको आवश्यकता छ भने सोही बमोजिम सुन उपलब्ध हुनेगरी सुनको आपूर्ति खुला गर्नुपर्ने बताए।

उनले आयात खुला गर्दा बैंकका साथै व्यवसायहरूलाई पनि आयात गर्न दिई प्रतिस्पर्धात्मक रुपमा बजार चल्न दिनुपर्ने बताए। आयात भएको सुन दुरुपयोग गर्न नदिनका लागि वितरण प्रणालीमा सहयोग गर्न महासंघ तयार रहेको उनको भनाइ छ। सुनको भन्सार दरमा १५ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत गरिएपछि महँगो सुन झनै महँगो भएको उनले बताए। साथै २ प्रतिशत बिलासी कर लगाउँदा सुनचाँदीका गरगहनाले नेपालको धर्मसंस्कृति, पहिचान र देशको समृद्धिको सम्पत्ति र सुरक्षित वचतका रुपमा रहने क्षेत्रलाई विलासिताको क्षेत्रमा परिणत गर्दा झनै मार परेको जिकिर गरे।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले बजेटमा सुनचाँदी व्यवसायीहरूलाई प्रोत्साहन गर्नेगरी नीति नआएको बताइन्। उनले सुनचाँदी व्यवसायीहरू एक भएर अघि बढ्न जरुरी रहेको उल्लेख गरिन्। उनले सुनको भन्सार पाँच प्रतिशत वृद्धि गरेकोप्रति आपत्ति जनाउँदै युवा मात्रै नभई व्यवसायीहरू पनि पलायन हुने स्थिति आएको बताइन्।

कार्यक्रममा बोल्दै नकेपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले नेपाल सुनचाँदी व्यवसायी महासंघले पाउनुपर्ने जति गरिमा र ओज नपाएको गुनासो गरे। उनले सुनचाँदी व्यवसायीलाई, सुनचाँदी व्यवसायी संघ संस्थालाई हेर्ने दृष्टिकोणमै खोट रहेको बताए।

प्रकाशित: १४ असार २०८१ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seventeen =