सिंहदरबारमा ‘हराए’ प्रचण्ड

किरण पौडेल १३ असार २०८१ १९:३६
64
SHARES
सिंहदरबारमा ‘हराए’ प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'।

काठमाडौँ- गत शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रममा घोषणा गरे, ‘अब बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन मिति तोक्छ।’ बाहिर सुन्दा प्रचण्डको यो अभिव्यक्ति सामान्य लाग्छ। माओवादीका नेतालाई भने अचम्मित बनाइरहेको छ।

पार्टी निकट तामाङ मोर्चाको कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले महाधिवेशन मिति तोक्ने घोषणा गर्दा माओवादी केन्द्रका दोस्रो स्तरका नेताहरूको मौनजिज्ञासा थियो, ‘केन्द्रीय समिति बैठक कहिले बस्छ?’ माओवादी बैठक नबसेको महिनौँ भइसक्यो। यतिसम्म कि पदाधिकारी बैठक नबसेको पनि महिना दिनभन्दा बढी भइसकेको छ।

अब अर्को पदाधिकारी बैठक कहिले बस्छ, कसैलाई थाहा छैन। प्रचण्डले उक्त कार्यक्रममा भने, ‘अब बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन घोषणा गर्छौँ।’ माओवादीको केन्द्रीय समिति बैठक फागुनमा बसेको थियो।

माओवादीका उपमहासचिव हरिबोल गजुरेल त अब बस्ने पदाधिकारी बैठक होइन, यसअघि बसेको बैठकको मिति पनि बिर्सिसकेको बताउँछन्। ‘खोइ, धेरै भयो। मलाई थाहा भएन’, गजुरेल भन्छन्। माओवादीको प्रशासन हेर्ने एवम् पार्टी कोषाध्यक्षसमेत रहेका श्रीराम ढकाल पनि यसअघि बसेको पदाधिकारी बैठक बसेको मिति सम्झना नभएको बताउँछन्। ‘जेठमा जस्तो लाग्छ, मिति हेर्न माइन्युट पल्टाउनुपर्छ’, उनले भने।

२०७९ पुसमा प्रधानमन्त्री भएपछि माओवादी पार्टी कसरी चलेको छ भन्ने बारेमा थाहा नभएको दोस्रो स्तरका नेताहरू बताउँछन्। ‘पार्टी कसरी चल्छ, हामीलाई थाहै हुँदैन। सरकारले गर्ने कामकारबाहीका विषयमा माओवादीभित्र सफल भयो भने अनौठो मान्दा हुन्छ’, पार्टीका एक पदाधिकारी भन्छन्।

सरकारले गरेका अधिकांश काम मिडियाबाट मात्रै थाहा पाउने गरेको ती नेताले बताए। ‘अरू त थाहा हुँदैन। माओवादीकै नेताले कतै राजनीतिक वा अन्य नियुक्ति पाएका कुरा पनि हामीलाई थाहा हुँदैन’, उनले भने।

अब प्रश्न उठ्छ, माओवादी कसरी चलेको छ? यो प्रश्नको जबाफ स्वयम् माओवादीका नेतासँग छैन। उनीहरूको प्रतिपश्न छ, ‘अध्यक्षज्यू सिंहदरबारमै हराएपछि कहिलेसम्म चल्ला पार्टी?’ माओवादीमा प्रचण्डको निर्देशनमा महासचिव देव गुरुङले बैठक बोलाउने प्रचलन छ। अहिले प्रचण्डले बैठक बोलाउन निर्देशन दिएका छैनन्।

प्रचण्ड व्यस्त भएकै कारण माओवादी अस्तव्यस्त भएको दोस्रो स्तरका नेताहरू बताउँछन्। ‘सरकारको कामकारबाहीले अध्यक्षज्यू व्यस्त हुनुहुन्छ’, उपमहासचिव गजुरेल भन्छन्, ‘बैठक बोलाउने तयारी हुँदै होला।’

माओवादीका दोस्रो स्तरका प्रभावशाली नेता पनि सरकारमै छन्। माओवादीबाट प्रधानमन्त्रीसहित छजना मन्त्री छन्। वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री छन्। सक्रिय भूमिका देखाउने उपमहासचिव वर्षमान पुन अर्थमन्त्री छन्। यस्तै उपमहासचिव शक्ति बस्नेत ऊर्जामन्त्री छन्।

यसबाहेक रेखा शर्मा सञ्चार र हितमान तामाङ पर्यटनमन्त्री छन्। खासमा सरकारले गरेका कामको कार्यक्रम पार्टीले बनाउनुपर्ने हो। तर सरकारले गरेका कामकै बारेमा पार्टीलाई पत्तो छैन। उपाध्यक्षमध्ये कृष्णबहादुर महरा विवादका कारण निष्कृय छन्। अर्का उपाध्यक्ष अग्नि सापकोटा प्रचारको जिम्मेवारीमा रहे पनि खास दख्खल देखाउन सकेका छैनन्। अध्यक्षपछिको कार्यकारी भूमिकामा रहेका महासचिव गुरुङले पनि पार्टी चलायमान बनाउन सकेका छैनन्।

‘हाम्रोमा उपयुक्त पात्रलाई जिम्मेवारी दिइएको छैन’, माओवादीका एक पदाधिकारी भन्छन्, ‘वर्षमान र जनार्दनमध्ये एकजनालाई महासचिव बनाएको भए पार्टी केही चलायमान हुन्थ्यो।’

पछिल्लो समयमा माओवादी अध्यक्षसँग दोस्रो स्तरका नेताहरू सन्तुष्ट छैनन्। यसमा सबैभन्दा बढी आलोचक बन्ने गरेका छन् उपमहासचिव जनार्दन शर्मा। उनीसँग विवाद बढेपछि प्रचण्डले बैठक बोलाउन छाडेको माओवादीका एक पदाधिकारी सुनाउँछन्। ‘बैठक बोलाउँदा समस्या हुने/विवाद बढ्ने भयले पनि बैठक नबोलाइएको हो,’ ती नेता भन्छन्।

महासचिव देव गुरुङ भने पार्टी चलायमान रहेको दाबी गर्छन्। ‘पार्टीमा छलफल चलिरहेको छ। बजेटको समय भएकाले बैठक बस्न केही ढिला भएको मात्र हो’, गुरुङ भन्छन्।

घोषणामै सीमित अभियान

फागुनमा बसेको केन्द्रीय समितिले मेची–काली राष्ट्रिय अभियान र हिमाल–पहाड–तराई एकता अभियान चलाउने निर्णय गरेको थियो। दुवै अभियान घोषणामा मात्र सीमित भए। ‘मिति तोकियो। तर नेताहरू व्यस्त रहँदा चलाउन सकिएन,’ कोषाध्यक्ष श्रीराम ढकाल भन्छन्, ‘वैशाख–जेठका लागि तोकिएको अभियान सञ्चालन गरिएन।’

ढकालका अनुसार अब यी कार्यक्रम चल्ने सम्भावना पनि छैन। ‘बर्खा लाग्यो। चलाउनुपर्ने भयो भने छठपछि गरिएला’, ढकाल थप्छन्। पार्टीका कार्यक्रम निष्क्रिय रहनुको कारण दोस्रो स्तरका नेताहरू चलायमान नहुनु हो।

माओवादीको मुख्य कार्यालय पेरिसडाँडा हो तर नेताहरू सिंहदरबारमा मात्र भेटिने गरेका छन्। पार्टी केन्द्रीय कार्यालय नपुग्ने तर मन्त्री र प्रधानमन्त्री भेट्न जाने प्रवृत्ति माओवादीमा बढेको छ।

यसअघि प्रचण्डले नेताहरूलाई सिंहरदरबार र बालुवाटार नआउन निर्देशन दिएका थिए। प्रचण्डले आफू शनिबारैपिच्छे पेरिसडाँडा आउने र त्यतै छलफल गर्ने बताएका थिए। प्रचण्डको त्यो भनाइ बोलीमै सीमित भयो। अहिले त पार्टीको पदाधिकारी बैठक पनि प्रायः बालुवाटारमै बस्छ। ‘हाम्रो बैठक कहाँ बस्छ, हामीलाई थाहा हुन्न’, एक पदाधिकारी भन्छन्,‘घरी बालुवाटार, घरी पेरिसडाँडा।’

कहिले बस्छ केन्द्रीय समति, कहिले तोकिन्छ महाधिवेशन?

माओवादी नेताहरूलाई केन्द्रीय समिति बैठक बस्ने र महाधिवेशन तोकिने कुराबारे केही थाहा छैन। एक पार्टी पदाधिकारीले त महाधिवेशनको बारे सोध्दा ‘हाँसेर टारिदिए।’
पहिलो कुरा त माओवादीमा अब कहिले केन्द्रीय समिति बैठक बस्छ, त्यो कसैलाई थाहा छैन। बैठक बसिहालेमा महाधिवेशन मिति तोक्छ/तोक्दैन अन्योल छ। माओवादी नेताहरू यसबारे आशावादी नदेखिनुको कारण अध्यक्ष प्रचण्डको कार्यशैली हो। प्रचण्डले पार्टीको ८ औँ महाधिवेशनताका ‘विशेष महाधिवेशन’ तोक्ने बताएका थिए।

महाधिवेशनबाट पदाधिकारीमा आफैँमात्र निर्वाचित भएका प्रचण्डले दोस्रो स्तरका नेतालाई थुमथुम्याउन ‘विशेष महाधिवेशन’ को आस देखाएका थिए। आठौँ महाधिवेशन सकिएको पनि तीन वर्ष पुग्यो। यसबीचमा माओवादीले ‘विधान सम्मेलन’ चाहिँ राख्यो। माओवादी नेताकै भनाइमा विधान सम्मेलन पनि औपचारिकतामै सीमित भयो।
अहिले पनि प्रचण्ड महाधिवेशनको कुरा गरिरहेका छन्। तीन वर्षअघिबाटै सुन्दै आएको महाधिवेशनको कुरा सुन्दा माओवादी नेताहरू पत्याउदैनन्।

अलमलिए एकताका लागि अघि बढेका पार्टी र नेता

प्रचण्डले सार्वजनिक मन्चबाट भाषण गर्दा प्रायः दोहोर्‍याउने शब्द हो,–पार्टी एकता। उनी माओवादी धारहरू एक ठाउँमा उभिनुपर्ने बताउने गर्छन्। ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्न हामी एक हुनुको विकल्प छैन।’ प्रायः प्रचण्डले भाषण गर्दा भन्ने वाक्य हो, यो। तर तीतो सत्य के हो भने, यसरी भाषण गर्ने प्रचण्डकै कारण एकता अभियान अलमलिएको छ। कुनै बेला माओवादीसँग एकता गर्न डा.बाबुराम भट्टराई समेत सकारात्मक थिए।

चुनावताका ‘प्रचण्ड–बाबुराम एक ठाउँमा उभिनुको ठूलो अर्थ छ,’ प्रचण्डले भनेका थिए। तर प्रचण्डकै कारण बाबुराम एकतामा आउन पाएनन्। ‘प्रचण्डले बाबुरामबिना नै बाबुरामको पार्टीका नेता खोजे’, एक नेता भन्छन्।

बाबुरामका केही नेता माओवादीसँग एकताका पक्षमा छन्। उनीहरू बाबुरामसँग फुटेर माओवादीसँग मिल्न तयार छन्। तर प्रचण्डकै निष्कृयताले उनीहरू माओवादीमा मिसिएका छैनन्।

महिन्द्र राययादव समूहसँग एकता गर्न दुवै पार्टीले वार्ता समिति बनाएका छन्। वार्ता समितिको बैठक गत चैतदेखि बसेको छैन। अहिले यादवपक्ष माओवादीसँग एकता हुने/नहुने दोधारमा छ।

नेकपा विप्लवसँग पनि सुरुमा प्रचण्डले एकताको कुरा गर्दै आएका थिए। एकताकै लागि विप्लव समाजवादी मोर्चामा आए। विभिन्न ठाउँमा प्रचण्डकै भनाइ मान्दै चुनावमा समेत सहभागी भए। तर पछिल्लो समय विप्लवसँग पनि एकताको कुरा हराएको छ। ‘तत्काल एकता हुन सम्भव छ जस्तो लाग्दैन,’ विप्लवका नेता सन्जय सी भन्छन्, ‘एकता हुनुपर्छ, तर अहिले नै हुने सम्भावना छैन।’

प्रकाशित: १३ असार २०८१ १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =