नेपाल प्रहरीका एसएसपी दीपक श्रेष्ठले आईजीपी कुँवरलाई किन भने नालायक?

हिमाल प्रेस १३ असार २०८१ १८:१४
1.4k
SHARES
नेपाल प्रहरीका एसएसपी दीपक श्रेष्ठले आईजीपी कुँवरलाई किन भने नालायक?

काठमाडौँ– नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) डा. दीपक श्रेष्ठले प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई नालायक भन्दै टिप्पणी गरेका छन्।

गृहमन्त्री रवि लामिछाने र आईजीपी कुँवरले बढुवा गर्न नचाहँदा प्राविधिकतर्फ स्वास्थ्य उपसमूहका एसएसपीद्वय श्रेष्ठ र डा.सुवास आचार्य पीडित बनेका हुन्। दुवै जना ६ वर्षे पदावधि पुरा गरेर अवकाशमा जान बाध्य भएका हुन्। श्रेष्ठ र आचार्य दुवै २०७५ असार १२ गते एसएसपीमा बढुवा भएका थिए।

डेढ महिनादेखि डीआईजीको दरबन्दी रिक्त हुँदा पनि आईजीपीले उनीहरूको फाइल अघि बढाएनन्। उनीहरूको बढुवा भएको भए डीआईजी बन्थे। थप पाँच वर्ष प्रहरीमै रहन्थे। प्रहरी प्रधान कार्यालयले भने उनीहरूले बढुवाका लागि आवश्यक तालिमहरू नलिएको बताउँदै आएको छ।

बढुवा नभई घर जान बाध्य भएका एसएसपी श्रेष्ठले आईजीपी कुँवरलाई ‘नालायक सीईओ’ भन्दै नेपाल प्रहरीलाई ‘प्राइभेट कम्पनी’ बनाएको आरोप पनि लगाएका छन्।

‘सबै नालायक छैन। अहिलेको सीईओ नालायक हो। अनि यसले सबैलाई नालायक नै देख्छ। जुन यस्को बोलि र व्यबहार बाट नै देखिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भेट्ने बित्तिकै जंगिने जंगली।’

उनले आगामी दिनमा नेपाल प्रहरीमा व्यवसायिक आईजीपी आउने आशा पनि व्यक्त गरेका छन्।

एसएसपी श्रेष्ठ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका मुख्य प्रतिस्पर्धी थिए। श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्। उनीहरूलाई घर पठाएर आईजीपी कुँवर र गृहमन्त्री लामिछानेले अस्पतालमा कार्यरत एसएसपी सञ्चिता घिमिरे र दामोदर पौडेललाई बढुवा गर्न खोजेको आरोप छ। डा. मनोज यादव पनि बढुवा प्रतिस्पर्धाको दौडमा छन्।

एसएसपी श्रेष्ठले नेपाल प्रहरी हाँकेका केही पूर्वआईजीपीहरूको नाम लेखेर उनीहरूले जोगाएको प्रहरीको छवि कुँवरले सिध्याएको आरोप पनि लगाएका छन्।

उनले लेखेका छन्, ‘खड्गजित बराल, दुर्लभ थापा, डीबी लामा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान सरहरू जस्तो आदरणीय व्यक्तित्वले हाँकेको गौरवमय इतिहास बोकेक‍ो संगठन मा २०५८ मा प्रवेश गरेर आज २०८१ मा वदनियतिपुर्वक अवकाश दिदा मन लागेको कुरा गौरवमय नेपाल प्रहरी संगठन पछिल्लो समयबाट”नेपाल प्रहरी प्राइभेट कम्पनी लिमिटेड” मा परिणत भै अब प्रहरी महानिरीक्षक होइन कि सीईओले नेतृत्व गर्ने भएछ।’

 

प्रकाशित: १३ असार २०८१ १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fourteen =