अविरल वर्षाका कारण डुबानमा विराटनगर

हिमाल प्रेस १२ असार २०८१ १०:०३
2
SHARE
अविरल वर्षाका कारण डुबानमा विराटनगर

इटहरी- अविरल वर्षाका कारण कोशी प्रदेशको राजधानी विराटनगर डुबानमा परेको छ। सोमबार रातिदेखि निरन्तर वर्षा भएका कारण विराटनगर डुबानमा परेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरको पूर्वतर्फ सिंघिया र पश्चिमतर्फ केसलिया खोलामा पानीको बहाब उच्च भएको छ भने बाढी ‘ओभरफ्लो’ भएर बस्तीतिर पस्न थालेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सिंघिया खोलाको बाढी हाटखोला आसपासका बस्तीतिर पस्न थालेको छ। ‘हाटखोला क्षेत्रका केही घरहरू घर डुबानमा परेको जानकारी आएको छ। पूर्ण विवरण प्राप्त हुन बाँकी छ,’ उनले भने। सम्भावित जोखिमलाई ध्यानमा राखेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले जनाए।

अधिकांश स्थान जलमग्न बन्दा जनजीवन प्रभावित बनेको छ। बेलैमा निकासको उचित प्रबन्ध नहुँदा बर्षा हुनेबित्तिकै जलमग्न हुने स्थानीयबासीहरूको भनाइ छ।

डुबानको समयमा जनप्रतिनिधिहरूले अनुगमन मात्रै गर्ने गरेको तर त्यसको समाधानका निम्ति भने मूकदर्शक जस्तै बन्ने गरेको विराटनगर ५ का सनोज मण्डलको आरोप छ।

‘डुबान हुन थालेपछि अनुगमन गर्ने र काम देखाउने प्रवृत्ति मात्रै हावी भयो। जहिल्यै पनि, जसरी पनि सर्वसाधारण नै मारमा पर्ने हुन् ।’

विराटनगरका करिब पाँच सय बढी घरमा पानी पसेको आकलन रहेको महानगरले जनाएको छ।

पीडितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको विराटनगर महानगरका प्रवक्ता एवं विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए ।

प्रकाशित: १२ असार २०८१ १०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 8 =