खेती-किसानी

२३ लाख मेट्रिक टन धान अपुग

रमेश भारती १२ असार २०८१ ७:३८
40
SHARES
२३ लाख मेट्रिक टन धान अपुग धान रोपाइँमा सहभागी भक्तपुरको चाँगुनारायणस्थित छायाबस्तीका किसान। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- नेपालमा चालु आर्थिक वर्ष २०८०/८१ मा धान उत्पादन ४.३३ प्रतिशतले बढेको छ। उन्नत बिउको बढ्दो प्रयोग, सिँचाइ सुविधाका साथै मलखादको सहज उपलब्धताले धान उत्पादन बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए। मन्त्रालयकाे तथ्यांकअनुसार विगत केही वर्षयता धान उत्पादन बढ्दै गएको छ।

आव २०७९/८० मा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन र आव २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ। आव २०७७/८८ मा भने ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो। यद्यपि बढ्दो सहरीकरण र बाँझोपनका कारण धान रोपाइँ हुने क्षेत्रफल घट्दै गएको छ।

मन्त्रालयका अनुसार नेपालमा वार्षिक ५५ लाख टन धान उत्पादन हुँदै आएको छ। खपत भने वार्षिक ७१ लाख मेट्रिक टनभन्दा बढी हुने गरेको छ। उत्पादित धानले नपुगेपछि विभिन्न देशबाट १७ लाख मेट्रिक टनभन्दा बढी धान आयात हुँदै आएको छ। आत्मनिर्भर बन्न ७८ लाख उत्पादन पुर्‍याउने सरकारी लक्ष्य छ।

चालु आर्थिक वर्षको ११ महिनामा ४५ अर्ब ३० करोड रुपैयाँको धान-चामल आयात भएको भन्सार विभागको तथ्यांक छ। यसमा २८ अर्ब ५० करोड रुपैयाँको चामल र १५ अर्ब ९२ करोडको धान छ।

आगामी पाँच वर्षभित्र धानमा आत्मनिर्भर हुने गरी योजना बनाइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता केसी बताउँछन्। उनका अनुसार नेपाल धानमा आत्मनिर्भर बन्न २३ लाख मेट्रिक टन उत्पादन बढाउनुपर्छ। ‘वार्षिक ५५ लाख मेट्रिक टन धान उत्पादन भइरहेको छ। ७१ लाख मेट्रिक टन धान खपत हुन्छ। आत्मनिर्भर हुन ७८ लाख उत्पादन पुर्‍याउने लक्ष्य छ’, उनले भने। सरकारले २०८५ सालभित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ।

पाँच वर्षयता सरकारले धान उत्पादन प्रतिहेक्टर ३.१ मेट्रिक टनबाट वृद्धि गरी ४ मेट्रिक टन पुर्‍याउने लक्ष्य राखेको थियो। धान उत्पादन चालु आर्थिक वर्षमा प्रतिहेक्टर ३.३ मेट्रिक टन पुगेको जानकारी कृषि विभागका प्रवक्ता अरूण काफ्लेले दिए। उनले २३ जिल्लामा धान उत्पादन बृहत् कार्यक्रम सञ्चालन भइरहेको बताए। कुल गार्हस्थ उत्पादनमा २० प्रतिशत योगदान धानको छ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालको १२ लाख १६ हजार ४०० हेक्टरमा धानखेती हुने गरेको छ। पछिल्लो १० वर्षमा साढे २ लाख हेक्टरले धानखेती हुने क्षेत्रफल घटेको गणनामा उल्लेख छ।

वार्षिक २१ लाख मेट्रिक टन चामल आयात

कृषि मन्त्रालयका अनुसार नेपालमा वार्षिक करिब ४८ मेट्रिक टन चामल आवश्यक पर्छ। २७ लाख मेट्रिक टन चामल स्वदेशमै उत्पादन भइरहेको र २१ लाख मेट्रिक टन चामल आयात हुने गरेको छ। ३० लाख टन चामल भात खानमा खपत हुन्छ। अन्य चामल चिउरा, चामलको पिठोबाट बन्ने परिकारमा खपत हुने गरेको छ।

नेपालमा १३ लाख ८० हजार ७ सय ६ हेक्टरमा धानखेती हुन्छ। कृषि मन्त्रालयका अनुसार खेती गरिने कुल क्षेत्रफलको झण्डै आधा अथवा ४७ प्रतिशत जमिनमा धानखेती भइरहेको छ।

कृषिविज्ञ हरि दाहाल सरकारले कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्यका साथ काम गरे पनि धान उत्पादन नबढेको बताउँछन्। सबैभन्दा ठूलो समस्या सिँचाइको रहेको उनले बताए। साथै आधुनिक प्रविधि भित्र्याएर उत्पादन बढाउनुपर्ने सुझाव उनको छ।

‘धान उत्पादन वृद्धिका लागि योजना बनाएर मात्र हुँदैन। आधुनिक प्रविधि अपनाएर खेती, मल र बिउजस्तो कृषिका सामग्रीमा किसानलाई अनुदानको व्यवस्था गर्नुपर्छ’, उनले भने। परम्परागत खेतीकै भरमा कृषिमा आत्मनिर्भर हुन कठिन हुने उनी बताउँछन्।

यस वर्ष असार दोस्रो सातासम्म साढे ४ लाख हेक्टर जमिनमा धान रोपाँई भइसकेको विभागको तथ्यांक छ। नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३०५० मिटर उचाइसम्म धानखेती हुन्छ। नेपालमा ११८ जातका धान पाइन्छन्। तीमध्ये ३५ जातका धान उत्पादन हुने गरेको छ।

सरकारले असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी शनिबार विभिन्न कार्यक्रम गरेर राष्ट्रिय धान दिवस मनाउँदै छ। सरकारले २०६२ सालमा असार १५ लाई राष्ट्रिय धान दिवस मनाउने घोषणा गरेको थियो।

प्रकाशित: १२ असार २०८१ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =