जनकपुरमा सुरु भयो ‘अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल’

हिमाल प्रेस ११ असार २०८१ १९:३०
जनकपुरमा सुरु भयो ‘अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल’

जनकपुर- जनकपुरधाममा आज (मंगलबार) बाट ‘अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल’ सुरु भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फेस्टिभलको उद्घाटन गरे।

मुख्यमन्त्री सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा ‘फिल्म फेस्टिभल’ले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले मैथिली भाषामा राम्रा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताए।

वरिष्ठ कलाकार नीर शाहले मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउने विचार व्यक्त गरे।

‘फेस्टिभल’को औपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता लोक सञ्चारका अध्यक्ष रमेश रञ्जन झाले गरेका थिए। कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साह, गायक सुनिल मल्लिक, अभियानी विभा झालगायतका वक्ताहरुले मैथिली भाषाको अन्तर्राष्ट्रिय ‘फिल्म फेस्टिभल’ले भाषा, संस्कृति तथा कलाको संरक्षणमा मद्दत पुग्ने बताए।

‘फेस्टिभल’मा मिथिलाञ्चल क्षेत्रका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशक सहभागी छन्। दुई दिनसम्म चल्ने ‘फिल्म फेस्टिभल’ स‌ंघीयता कार्यान्वयन भएपछि पहिलो पटक आयोजना गरिएको हो। जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चारको संयुक्त आयोजनामा जनकपुरधामको गिरिजा चलचित्र मन्दिरमा सुरु भएको ‘फेस्टिभल’मा ललका पाग, लोटस ब्लुम्स, समानान्तर गरेर तीन वटा फिचर फिल्मको प्रदर्शन हुने कार्यक्रम छ।

यसै गरी वृत्तचित्र गुमकी र विद्यापत तथा लघु फिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुने आयोजक लोकसञ्चार संस्थाका अध्यक्ष रमेश रञ्जन झाले जानकारी दिए। अन्तर्राष्ट्रिय मैथिली ‘फिल्म फेस्टिभल’को क्रममा मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमालगायतका विषयमा विमर्श गरिने आयोजकले जनाएको छ।

प्रकाशित: ११ असार २०८१ १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =