स्थलगत रिपोर्ट 

‘पानी पनि यिनीहरूकै ज्यान लिन आएको रहेछ…’

विवेक विवश रेग्मी ११ असार २०८१ २०:०७
456
SHARES
‘पानी पनि यिनीहरूकै ज्यान लिन आएको रहेछ…’ मोरङको सुन्दरहरैँचा नगरपालिका–५ खोक्सीस्थित घरमा मंगलबार रामसरी चौधरीलाई सान्त्वना दिन भेला भएका आफन्त र गाउँले। तस्बिर : विवेक विवश रेग्मी

इटहरी- मोरङको सुन्दरहरैँचा नगरपालिका-५ खोक्सीमा चिल्ला सडक छन्। पिच बाटोको वारपार छन्, ठूलाठूला घर। तिनै महलको छेउमै छ टिनको झुपडी। मजदुरी गरेर दुःखसुखले छोराहरूले कमाउँदै जीविकोपार्जन गर्दा त्यही घरमा खुसी थिइन्, रामसरी चौधरी।

मंगलबार बिहान अविरल वर्षापछि आएको बाढीले उनको मनमा पनि बाढी पस्यो र आँखाबाट बगेको भेल अझै ओभानो भइसकेको छैन। करिब ९ बजेतिर पानी पर्नुअघि रामसरीकी जेठी बुहारी ३० वर्षीया फूला, माइली बुहारी २३ वर्षीय स्वस्तिका, कान्छी बुहारी २३ वर्षीया प्रेमकला र देउरानी ६० वर्षीया असरादेवी चौधरी स्थानीय बूढीखोलामा माछा मार्न र दाउर टिप्न घरबाट  निस्किएका थिए।

उनीहरू घरबाट बूढीखोलामा गएको केही घण्टा नबित्दै परालमा आगो लागेजसरी गाउँमा हल्ला फैलियो। ‘बूढीखोलाले मान्छे बगायो। बूढीखोलाले माछा मार्न गएकाहरूलाई एकैपटक लग्यो,’ कोलाहलबीच रामसरीले यस्तै सुनिन्। नभन्दै केहीबेरमा आफ्नै तीन बुहारीसहित देउरानीलाई बाढीले बगाएको खबर पाएपछि उनी छाँगाबाट खसेजस्तै भइन्। अहिले उनी भावविह्लल अवस्थामा छिन्।

निरन्तर आँसुमा उनका आवाज कारुणिक सुनिँदैछन् – ‘यो पानी पनि यिनीहरूकै ज्यान लिन आएको रहेछ। के दिन आइलाग्यो नि!’ रामसरीकी कान्छी बुहारी प्रेमकलाको इटहरी-४ स्थित गैरीगाउँमा दिउँसो १२ बजेतिर शव फेला परेको छ। माइली बुहारी स्वस्तिका पौडी खेलेर बाँचेकी छन् भने जेठी बुहारी फूला र देउरानी असरादेवी भेलमा बेपत्ता छन्। उनीहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

स्थानीयले शोकलाई शक्तिमा बदल्न भने पनि रामसरी मन बुझाउने अवस्थामा छैनन्।  पौडिएर बाँचेकी स्वस्तिकाका अनुसार पानी परेपछि माछा मार्न र दाउरा टिप्न जाँदा अचानक बाढी आएको थियो। ‘हरैँचापट्टि बग्ने खोलामा बाढी आएको थिएन, अलिअलि मात्रै पानी थियो,’उनले हिमालप्रेससँगको कुराकानीमा रोदनमिश्रित स्वरमा भनिन्, ‘इटहरीपट्टि बग्ने खोलामा पानी थियो। बीचको भागमा गएर हामी दाउरा टिप्न र माछा मार्न व्यस्त थियौँ। एक्कासि उँभोबाट बाढी आयो र बगायो।’

अचानक आएको बाढीले हरैँचा क्षेत्रसमेत प्रभावित बन्यो र बीचमा रहेका चारैजनालाई बगाएको थियो। आफूले पौडी खेलेर ज्यान जोगाए पनि देउरानीको मृत्यु भएको, जेठानी र काकी सासूलाई बाढीले बगाएको उनले सुनाइन्।

मृतक प्रेमकलाकी फुपूसासू राजकुमारी चौधरीका अनुसार प्रेमकला र सन्दीप चौधरीबीच पाँच वर्षअघि विवाह भएको थियो। सन्दीप वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्। उनीहरूको चार वर्षका छोरा छन्।

‘घर खर्च चलाउनका निम्ति विदेश गएको वैशाखमा एक वर्षमात्रै भयो,’ राजकुमारीले विक्षिप्त भावमा भनिन्, ‘माइती घर हरैँचा हो। राम्ररी परिवार चलेकै थियो, के दशा आइलाग्यो!’

रामसरीका तीन छोरा र एक छोरी छन्। छोरीको विवाह भइसकेको छ भने तीनै छोराहरू वैदेशिक रोजगारीमा थिए। जेठा छोरा राजन केही वर्षअघि वैदेशिक रोजगारीबाट आएर मजदुरी गरिरहेका छन् । माइला छोरा दीपेन मलेसियामा छन् भने कान्छा सन्दीप साउदी छन्।

‘जेठो मिस्त्री हो। उसले आफैँ घर बनाएर बसेको छ। माइला र कान्छा छोराबुहारी एकै घरमा थिए, मिलेको परिवार थियो,’ राजकुमारीले थपिन्, ‘दाजु (मृतकका ससुरा) अघिल्लो फागुनमा जन्डिसका कारण खस्नुभयो। अहिले एकैपटक घरका सबै बुहारीलाई बाढीले बगायो। पानी पनि सानो आएन, यिनीहरूलाई नै लिन आएको रहेछ।’ राजन र दीपेनको एकै लगनमा विवाह भएको थियो।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार मृतक प्रेमकलाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। बेपत्ता दुवैजनाको खोजी कार्य भइरहेको कार्कीले जानकारी दिए।

‘माछा मार्ने क्रममा खोक्सी भन्ने ठाउँबाट चारैजनालाई बगाएको रहेछ, जसमध्ये दुईजनाको खोजी भइरहेको छ,’ उनले भने। असावधानीपूर्वक माछा मार्ने र दाउरा बटुल्ने क्रममा उनीहरूलाई बाढीले बगाएको कार्कीले बताए।

घटनास्थलमा रहेका सुन्दरहरैँचा-५ का वडाध्यक्ष गणेश चौधरीले पीडित परिवारलाई राहत दिलाउनका निम्ति पालिकास्तरीय बैठक बस्ने र निर्णय गर्ने बताए। उनले पीडित परिवारको उद्धार र राहतका निम्ति पहल भइरहेको जनाए। ‘हामी मेयरसाबसँग छलफल गरेर उद्धार, राहतका निम्ति पहल गरिरहेका छौँ,’ उनले भने।

बूढी खोलाको बाढीले प्रेमकलाको ज्यान लियो, दुई जना अझै बेपत्ता


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =