बूढी खोलाको बाढीले प्रेमकलाको ज्यान लियो, दुई जना अझै बेपत्ता

हिमाल प्रेस ११ असार २०८१ १५:३९
154
SHARES
बूढी खोलाको बाढीले प्रेमकलाको ज्यान लियो, दुई जना अझै बेपत्ता अविरल वर्षाका कारण बूढीखोलामा आएको बाढी।

इटहरी- सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचालाई सिमाना भएर बग्ने बूढीखोलाले बगाएर सुन्दरहरैँचा नगरपालिका ५ की प्रेमकला चौधरीको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको बाढीका कारण आज (मंगलबार) बिहानको समयमा चौधरीसहित चारजनालाई बाढीले बगाएको थियो।

माछा मार्ने क्रममा प्रेमकलासहित सुन्दरहरैँचा ५ की २२ वर्षीया स्वस्तिका चौधरी, सोही स्थानकी ३० वर्षीया फूलकुमारी चौधरी र ६० वर्षीया असरादेवी चौधरीलाई बाढीले बगाएको थियो। जसमा स्वस्तिकाको सकुशल उद्धार गरिएको छ भने प्रेमकलाको इटहरी ४ स्थित गैरीगाउँस्थित शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले पुष्टि गरे।

‘माछा मार्ने क्रममा खोक्सी भन्ने ठाउँबाट चारैजनालाई बगाएको रहेछ, जसमध्ये दुईजनाको अझै खोजी भइरहेको छ,’ उनले भने, ‘बेपत्ताको खोजी जारी रहेको छ।’ उनका अनुसार मोरङ प्रहरी, सुनसरी प्रहरी, स्थानीयबासीसहितले खोजीको क्रम जारी राखेका छन्।

बाढी आएर पानीको बहाब उच्च भएको खोलामा माछा मार्न र दाउरा टिप्न स्थानीय महिलाहरूसँगै उनीहरू पनि गएको खुलेको छ। असावधानीपूर्वक माछा मार्ने र दाउरा बटुल्ने क्रममा उनीहरूलाई बाढीले बगाएको हो।

मृतक प्रेमकलाको शव पोस्टमार्टमका लागि अस्पताल लगेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घटनापछि पीडित परिवार विक्षिप्त बनेका छन्।

प्रकाशित: ११ असार २०८१ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =