मेयर हर्क साम्पाङ र नगरसभा सदस्यको टसलले धरानको बजेट अनिश्चित

हिमाल प्रेस ११ असार २०८१ ९:२४
2
SHARE
मेयर हर्क साम्पाङ र नगरसभा सदस्यको टसलले धरानको बजेट अनिश्चित फाइल तस्बिर

इटहरी- मेयर हर्क साम्पाङ र नगरसभा सदस्यबीचको टकरावले आर्थिक वर्ष २०८१/८२ को धरान उपमहानगरपालिकाको बजेट अनिश्चित बनेको छ।

धरान उपमहानगरपालिकाका मेयर साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्षबीचको विवादका कारण सोमबार नगरसभा हुन नसकी समयमा नीति कार्यक्रम र बजेट आउन नसकेको हो।

धरान १० स्थित सैनिक भवनमा सोमबार दिउँसो ३ बजे हुने भनिएको बैठकमा मेयर, उपमेयर, सबै वडाध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरू पुगेपनि नगरसभा सुरु भएन।

उपमेयर बेघाका अनुसार बजेटको सबै प्रक्रिया पूरा नगरी नगरसभाको समय तय भएका कारण बजेट आउन नसकेको हो। धरानको बजेट आउन नसक्नुमा यसको जिम्मेवारी मेयर साम्पाङले नै लिनुपर्ने उनको जिकिर छ।

नगरसभा बैठक बस्न नसक्नुमा मेयर र अन्य जनप्रतिनिधिहरूले एकअर्कालाई दोषी देखाएका छन्। यता मेयर साम्पाङले ‘बैठक बसौं’ भनेर समयमै पुगेको भएपनि हुन नसकेको बताए। उनले भने, ‘उहाँहरू नगरसभा बस्दैनौं भन्दै अडान राखी बहिष्कार गरेर हिँड्नुभयो, यसमा उपमेयरको पनि दोष देख्छु।’

यता, धरान उपमहानगरका प्रवक्तासमेत रहेका १७ नं वडाका वडाध्यक्ष मनोज भट्टराईले कार्यपालिका बैठकको निर्णय विपरीत मेयरले जबरजस्ती गर्न खोज्दा यो अवस्था आएको दाबी गरे।

मेयरले बजेटको सिलिङ तोडेर नियमविपरीत हिँड्न खोजेपछि आफूहरूले बहिष्कार नभई स्थगित गर्नुपर्छ भनेर निस्किएको बताए।

‘बजेट बनाउने विधि, प्रक्रियामा सिलिङ समिति, विषयगत समिति, वडा र बजेट तर्जुमा समितिमार्फत् बजेट नगर कार्यपालिकामा आएर नगरसभामा आउनुपर्दथ्यो’, उनले भने, ‘तर पनि त्यो अनुसार गर्ने भनेर एकखाले निर्णय भएको थियो, त्यो निर्णय लिखितरुपमा आउनुपर्नेमा केही लेखिएन, निर्णय भएको कुरा त लेखिनुपर्छ नि।’

मेयर साम्पाङले सोमबारको नगरसभा उद्घाटन र नीति कार्यक्रम गर्ने र असार २५ गते बजेटसहित आउने प्रस्ताव गरेका थिए । तर, अरु नगरसभा सदस्यहरूले भने उनको प्रस्ताव अस्वीकार गरेका थिए।

स्थानीय तहहरूले असार १० भित्र बजेट पालिका सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।

तर, धरानमा भने यसअघि कार्यपालिका बैठकदेखि अरु कामहरूमासमेत मेयर र वडाध्यक्षहरूबीचको टकरावले विकासका योजना प्रभावित हुँदै आएको छ।

प्रकाशित: ११ असार २०८१ ९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =