बुटवलले ल्यायो २ अर्ब ९९ करोडको बजेट

हिमाल प्रेस ९ असार २०८१ १८:३९
10
SHARES
बुटवलले ल्यायो २ अर्ब ९९ करोडको बजेट नगरसभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा आइतबार वार्षिक बजेट तथा कार्यक्रम पेस गर्दै उपप्रमुख सावित्रादेवी अर्याल। तस्बिर : हिमाल प्रेस

बुटवल– बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ। उपप्रमुख सावित्रादेवी अर्यालले नगरसभाको आइतबार १५औँ अधिवेशनको तेस्रो बैठकमा चालुतर्फ ४८ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको वार्षिक बजेट तथा कार्यक्रम पेस गरेकी हुन्।

बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ। उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि, पशुपक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई बजेट छुट्याइएको बताइन्।

बजेटमा उल्लेख भएअनुसार बुटवलले आगामी आर्थिक वर्षमा वडा नम्बर १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने गरी बजेट ल्याएको छ। वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल सञ्चालन गर्ने गरी पर्याप्त बजेट विनियोजन गरेको अर्यालले बताइन्।

बुटवलले निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत् बुटवल ११ मा १ सय बेडको अस्पताल स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्याएको छ।

अर्यालले सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ, नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधासम्पन्न बनाउन १ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताइन्।

बुटवलले बुटवलबासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ नि:शुल्क उपलब्ध गराउने, जेष्ठ नागरिक लक्षित बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह गर्ने र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तरगत गर्भवती महिलालाई नि:शुल्क प्रयोगशाला सेवालाई निरन्तरता दिएको छ।

शिक्षातर्फ असहाय, विपन्न तथा अल्पसंख्यक समुदायका बालबालिकालाई छात्रवृत्ति, पोसाक र शैक्षिक सामग्री उपलब्ध गराउने उदेश्यका साथ नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने कार्यक्रम ल्याएको उपप्रमुख अर्यालले बताइन्। बुटवलले शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यक्रमअन्तरगत ५ करोड छुट्याएको छ।

छोरी पढाऔँ, समाज बनाऔँ कार्यक्रमअन्तर्गत बुटवलले बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले २५ लाख रुपैयाँ छुट्याएको छ।

बुटवलले विद्यार्थीसँग नगर प्रमुख, बालबालिकासँग उपप्रमुख र एक विद्यार्थी एक बैंक खाता कार्यक्रम र विद्यालय खाजा कार्यक्रमअन्तरगत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई खाजा खुवाउने विद्यालयहरुमा १० रुपैयाँ थप गरी २५ रुपैयाँ गराउनेजस्ता नयाँ कार्यक्रम बजेटमा समावेश गरेको छ।

यस्तै लुम्बिनी बस टर्मिनलमा विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गर्न १ करोड र उज्यालो बुटवल कार्यक्रमअन्तरगत बुटवल चिडियाखोलादेखि योगीकुटीसम्म, धागो कारखानादेखि तिनाउ पुलसम्म ट्राफिक लाइट जडानका लागि ४ करोड रुपैयाँ बजेटमा राखिएको छ।

मुख्य राजमार्ग, भित्री सडकहरु सौन्दर्यीकरण, ट्राफिक लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईट जडान गर्ने कार्यक्रमले निरन्तरता पाएका छन्।

बजेटमार्फत जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध संग्रहालयजस्ता महत्वपूणर् स्थानलाई नगरको गौरव सम्पदाका रुपमा प्रवर्धन गर्ने भनिएको छ। जितगढी किल्लानजिकै देवभूमि तिनाउ आरती केन्द्र स्थापनाका लागि ३ करोड बजेटको व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन्।

बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्दै आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई वृद्धि गर्न बुटवल भ्रमण वर्ष घोषणा गरी पर्यटन प्रवर्धन गर्ने कार्यक्रमले बजेटमा स्थान पाएको छ। बुटवलदेखि नुवाकोट जाने पैदलमार्ग निर्माणका लागि १ करोड, पैदलमार्गमा शिव मूर्ति निर्माणका लागि १ करोड रुपैयाँ र हिलपार्कमा बुद्धमूर्ति निर्माणका लागि १ करोड रुपैयाँ बजेटमा समावेश छन्।

बुटवलदेखि लुम्बिनी जोड्ने, मुक्तिनाथ, बाँके बर्दिया, आसपासका पर्यटकीय स्थलहरु जोड्ने र बुटवल-चितवन-पोखरा त्रिकोण पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने, रात्रिकालीन बजार सञ्चालन गर्ने, रात्रिकालीन बजार सञ्चालनमा विपन्न वर्गलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा देखिने कार्यक्रमका रुपमा रहेका छन्।

बुटवललाई रोजगार र स्वरोजगारका समेत स्थापित गर्न गृहिणी महिलाहरुलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रमका लागि ३ करोड, बिक्री केन्द्र स्थापनामा प्रोत्साहन गर्न १ करोड र महिला उद्यमी आत्मनिर्भर कार्यक्रमका लागि ५० लाख बजेटको व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन्।

बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको खानेपानी ल्याउने व्यवस्था मिलाउन मुहान क्षेत्रका बासिन्दालाई लाभ हुने गरी तिनाउ गाउँपालिकामार्फत विकासका कार्य गर्न बुटवलले २ करोड छुट्याएको छ।

मुख्य चोक, चौराहामा विश्राम चौतारी, फल्चा, परम्परागत प्रतीक्षालय निर्माणका लागि २ करोड, छाडा चौपाया व्यवस्थापनका लागि अस्थायी संरचना, विश्रामस्थल, ध्यान केन्द्र, योग केन्द्र निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याएको बजेटमा उल्लेख छ।

वडाहरुको समग्र विकासका लागि १६ करोड ५० लाख रुपैयाँ तथा बुटवल वडा नम्बर १४ देखि १९ का छ वटा वडालाई १-१ करोड विशेष विकास कार्यक्रममार्फत विकासका लागि खर्च गर्ने कार्यक्रमले बजेटमा स्थान पाएको छ।

प्रकाशित: ९ असार २०८१ १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =