सुपर ८ मा सन्देह : भारतसँग हारे अस्ट्रेलिया बाहिरिन्छ?

हिमाल प्रेस ९ असार २०८१ १८:२९
94
SHARES
सुपर ८ मा सन्देह : भारतसँग हारे अस्ट्रेलिया बाहिरिन्छ? टी २० विश्वकप २०२४ अन्तर्गत अफगानिस्तान र अस्ट्रेलियाबीचको खेलमा अफगानिस्तानका इब्राहिम जाद्रान (बायाँ) र अस्ट्रेलियाका म्याथ्यु वेड (दायाँ)। तस्बिर : एएफपी/रासस

काठमाडौँ– आईसीसी टी-२० को सुपर ८ को खेलमा अफगानिस्तानसँग अस्ट्रेलिया पराजित बनेपछि अनेक टिप्पणी भइरहेका छन्। उपाधि दाबेदार मानिएको अस्ट्रेलिया कमजोर मानिने अफगानिस्तानसँग फराकिलो रनले पराजित बन्यो। अफगानिस्तानका कप्तान रासिद खानले यो जित अकल्पनीय भनेका छन्।

यति मात्र होइन, आइतबारको हारकै कारण अस्ट्रेलिया टी २० विश्वकपबाट बाहिरिन्छ भन्ने विश्लेषण पनि चलिरहेका छन्। अस्ट्रेलिया यस्तो टोली हो, जुन टोलीले टी २० विश्वकप २०२४ का कुनै पनि खेल हारेको थिएन। यो हारसँगै अस्ट्रेलियाको अपराजित यात्रामा ब्रेक लागेको छ। अफगानिस्तानसँग हार भने अस्ट्रेलियालाई महँगो साबित भएको विश्लेषण भइरहेको छ।

अफगानिस्तानसँगको हारले भने अस्ट्रेलियालाई दबाब बढाएको छ। अस्ट्रेलियाले सुपर ८ को एक खेलमात्र जितेको छ। उसले आइतबार जित निकालेको भए ‘समूह एक’को अर्को टोली भारतसँग समूह विजेताको दाबेदारी प्रस्तुत गर्न सक्थ्यो।

यति मात्र होइन, अस्ट्रेलियाको अबको खेल पनि भारतसँगै छ। दुई खेलबाटै ४ अंक बटुलेको भारत सेमिफाइनल पुग्ने प्रबल सम्भावना छ। अब भारतले एक खेल खेल्न बाँकी छ। भारतले अस्ट्रलियासँगको खेल हारे पनि ४ अंकका कारण सेमिफाइनल सम्भावना जीवितै रहन्छ।

अस्ट्रेलियाले २ खेलबाट २ अंक मात्र बटुलेको छ। अस्ट्रेलियासँगै दुई खेलबाट २ अंक बटुलेको अफगानिस्तान पनि अब सेमिफाइनलको दाबेदार बनेको छ।

अब अफगानिस्तानले बंगलादेशसँग जित निकाले ४ अंक बटुल्नेछ। बंगलादेशले जितेमा भने उसको २ अंक मात्र रहनेछ। सुपर ८ को दुई खेल खेलिसक्दा बंगलादेश अंकविहीन छ। यही कारण अस्ट्रेलिया सेमिफाइनलमा पुग्न भारतसँग जित्नुपर्ने दबाबमा छ।

त्यसो नभए अफगानिस्तान जाने सम्भावना रहन्छ। अफगानिस्तानले बंगलादेशसँग हार्ने हो भने अस्ट्रेलियालाई केही सहज हुन सक्छ। यदि अस्ट्रेलिया भारतसँग पराजित भएमा र अफगानिस्तान बंगलादेशसँग हारेमा भने अस्ट्रेलियाको सम्भावना रहन्छ।

अफगानिस्तान र अस्ट्रेलियाले हारे को पुग्छ सेमिफाइनलमा?

यो समूहको अबको समिकरण रोचक बन्नेछ। अफगानिस्तानसँग अस्ट्रेलिया पराजय भएपछि रोचकता बढेको हो। अब सबै (चार टोली) ले एकएक खेल खेल्न बाँकी छ। अहिले अंकतालिकामा भारतको ४ अंक छ। अफगानिस्तान र अस्ट्रेलियाको २ अंक छ। बंगलादेश अंकविहीन छ।

भनिन्छ, क्रिकेटमा कहिलेकाहीँ अकल्पनीय नतिजा आउन सक्छ। जस्तो, अस्ट्रेलियासँग अफगानिस्तान विजयी बन्यो। अहिले २ अंक बटुलेका अफगानिस्तान र अस्ट्रेलिया अबका खेलमा पराजित बने नतिजा कता जाला यो महत्त्वपूर्ण छ।

अस्ट्रेलियाको अबको खेल अपराजित भारतसँग छ। यता बंगलादेशले अफगानिस्तानलाई जित्ने हो भने २ अंक बटुल्छ। तर सेमिफाइनल पुग्ने सम्भावना भने बंगलादेशको सामान्य मात्र रहन्छ।

किनभने अहिले बंगलादेशको रनरेट माइनस २ मा छ। अब पराजित बने पनि अस्ट्रेलियालाई केही राहत अवश्य मिल्नेछ। त्यो हो, अहिले उससँग रहेको रन रेट। अहिले शून्य माथिको रन रेटमा रहेको अस्ट्रेलिया झिनो रन वा विकेटले पराजित बने पनि अन्य टोलीभन्दा माथि रहन्छ। तर यता अस्ट्रेलिया हार्दा अफगानिस्तान पनि पराजित भएको हुनुपर्छ।

अहिलेलाई यति भन्न सकिन्छ- यी सबै टोलीको सेमिफाइनल सम्भावना आफ्नो मात्र हातमा छैन। अबको खेल हारेमा भारतको पनि हविगत अन्यको जस्तै रहन्छ।

अस्ट्रेलिया र अफगानिस्तानले जित निकाल्ने हो भने भारतसँग समान ४ अंक रहन्छ। तर भारतसँग अहिले प्लस २ को रन रेट छ। यही कारण भारत अब पराजित बने पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो छ।

प्रकाशित: ९ असार २०८१ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =