टी-२० विश्वकप : अपराजित भारत सेमिफाइनल नजिक, बंगलादेशको लगातार हार

हिमाल प्रेस ९ असार २०८१ ६:५०
4
SHARES
टी-२० विश्वकप : अपराजित भारत सेमिफाइनल नजिक, बंगलादेशको लगातार हार

काठमाडौँ- बंगलादेशमाथि ५० रनको जित निकालेसँगै भारत आईसीसी टी २० विश्वकप २०२४ को सेमिफाइनल नजिक पुगेको छ।

आईसीसी टी-२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर-८’ चरणको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ ।

जितसँगै भारतले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । जारी विश्वकपमा भारत हालसम्म अपराजित छ ।

लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना भने निकै कमजोर बनेको छ। भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन्। दुई खेलबाट चार अंक बटुलेको भारत तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

एक खेलबाट दुई अंक जोडेको पूर्वविजेता अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ। एक खेल खेलेको अफगानिस्तान शून्य अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

दुई खेल खेलेको बंगलादेशले पनि हालसम्म अंक बटुल्न सकेको छैन।

टी-२० विश्वकपको पहिलो संस्करणको विजेता भारतले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले हराएको थियो। बंगलादेशी टोली भने आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले पराजित भएको थियो।

शनिबार रातिको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४६ रनमात्र बनाउन सक्यो।

भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतकीय योगदान गरे। उनले केवल २७ बलमा तीन छक्का र चार चौकाको मद्दतले अविजित ५० रन बनाए। ओपनर विराट कोहलीले पनि ३७ रन बनाए । विराटले २८ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए।

कप्तान रोहित शर्माले पनि टोलीको खातामा २३ रन थपे। ओपनर रोहितले केवल ११ बलमा एक छक्का र तीन चौका पनि प्रहार गरे। ओपनरको भूमिकामा ओर्लिएका विराट र रोहितले ३९ रनको साझेदारी गरेका थिए।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका ऋषभ पन्तले पनि टोलीको खातामा ३६ रन थपेका थिए।विकेटकिपर ब्याट्सम्यान ऋषभले २४ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए।

चौथो नम्बरका ब्याट्सम्यान सूर्यकुमार यादब भने ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका शिवम् दुबेले ३४ रन बनाए । उनले २४ बलमा तीन छक्का पनि हिर्काए।

बंगलादेशका बलर तान्जिम हसन सकिबले दुई विकेट लिए। रिसाद होसैनले पनि दुई विकेट हात पारे। सकिब अह हसनले पनि एक विकेट लिए। जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४० रन बनाए।

कप्तान नजमुलले ३२ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए । ओपनर तानजिद हसनले २९ रन जोडे। अर्का ओपनर ब्याट्सम्यान लिटन दास भने १३ रन बनाउँदै आउट भएका थिए। सकिब अल हसन पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन्।

यसैगरी बंगलादेशका लागि तल्लो क्रमका ब्याट्सम्यान रिसाद होसैनले १० बलमा तीन छक्का र एक चौकाको मद्दतले २४ रन बनाए । महमुदुल्लाहले पनि टोलीको खातामा १३ रन थपे।
भारतीय टोलीका बलर कुलदीप यादवले तीन विकेट लिए। उनले चार ओभरमा केवल १९ रन खर्चिए। जसप्रित बुमराह र अर्शदीप सिंहले दुई–दुई विकेट लिए । हार्दिक पाण्ड्याले पनि एक विकेट हात पारे।

प्रकाशित: ९ असार २०८१ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =