एकीकृत समाजवादी : बाहिरबाहिर सर्वसम्मतको रटान, अध्यक्षमा आआफ्नै दाबी

किरण पौडेल ८ असार २०८१ २१:२८
162
SHARES
एकीकृत समाजवादी : बाहिरबाहिर सर्वसम्मतको रटान, अध्यक्षमा आआफ्नै दाबी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको आगामी अध्यक्ष को भन्ने बारेमा तीन नेताबीच रस्साकस्सी बढेको छ। १० औँ महाधिवेशन नजिकिएपछि नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भुसाल अध्यक्ष पदका लागि दौडधुपमा सक्रिय भएका हुन्। यद्यपि तीनै नेताहरू नेतृत्व चयन सर्वसम्मत हुने दाबी गर्न छाडेका छैनन्।

कसको नेतृत्वमा सर्वसम्मत भन्नेमा द्विविधा रहेको नेताहरूको भनाइ छ। एकीकृत समाजवादीको महाधिवेशन १६ गते सुरु हुने कार्यतालिका छ।

अध्यक्षमा आकांक्षा देखाएका नेपाल हालका अध्यक्ष हुन्। खनाल सम्मानित नेता र भुसाल महासचिव हुन्। एक नेता भन्छन्, ‘यी तीनै नेता सर्वसम्मति चाहन्छन् तर आफ्नै नेतृत्वमा। सर्वसम्मतको रटान यति लगाइँदैछ कि कुनै पनि हालतमा निर्विरोध नेतृत्व चयन गर्नुपर्ने भनिएको छ।’

यति हुँदा पनि आफ्नो नाम पछि पार्न वा अरूको नाममा सर्वसम्मत गर्न तीनै नेता तयार छैनन्। एक पदाधिकारीले भने, ‘तीन नेता भन्छन्- हाम्रो महाधिवेशन सर्वसम्मतबाट टुंगिन्छ। तर कसको नेतृत्वमा? उनीहरू भन्छन्- मेरै नेतृत्वमा।’ नेपाल, खनाल र भुसाल अरूलाई नेतृत्व छाड्न तयार नदेखिएको ती नेताले बताए।

नेपाल : विद्रोह पुष्टि गर्न नेतृत्व दोहोर्‍याउने

नेपाल अब फेरि अध्यक्ष पद दोहोर्‍याउने योजनामा छन्। उनी आफ्नै नेतृत्वमा एमालेबाट विद्रोह गरेकाले अब पनि दोहोरिनुपर्ने अडानमा रहेको उनी पक्षीय एक नेता बताउँछन्। नेपालले आफू निकट नेतालाई लिएर समीकरण नै बनाएका छन्। ती नेताले भने, ‘उपाध्यक्षमा अहिलेकै अधिकांश उपाध्यक्षलाई निरन्तरता दिने योजना छ।’

हालका महासचिव घनश्याम भुसाललाई दोहोर्‍याउने तयारीमा नेपाल रहेका छन्। उनी उपमहासचिवमा समेत पुरानै नेतालाई थपघटमार्फत अघि बढाउन चाहन्छन्। ‘सर्वसम्मत हुन्छ त केवल माधवजीकै नेतृत्वमा हुन्छ,’ नेपालका निकटस्थ सोम पाण्डेय भन्छन्, ‘नेपालबाहेकको नेतृत्व सोच्ने बेला भएको छैन। एकपल्ट अवसर दिनुपर्छ।’

पाण्डेका अनुसार नेपालले उपाध्यक्षमा बेदुराम भुसाल र राजेन्द्र पाण्डेलाई दोहोर्‍याउने योजना बनाएका छन्। भुसाल र पाण्डेबीच वरीयता विवाद छ। यही कारण नेपालले पुरानै पदमा व्यवस्थापन गर्न खोजेको उनी निकट नेताहरू सुनाउँछन्।

अध्यक्ष नेपाल उपमहासचिवमा पनि गंगालाल तुलाधर र विजय पौडेललाई दोहोर्‍याउने पक्षमा छन्। नेतृत्वमा नयाँ देखाउन रामकुमारी झाँक्रीलाई उपमहासचिवमा व्यवस्थापन गर्न सकिने नेपाल पक्षको तयारी छ।

नेपाल अध्यक्षमा दोहोरिन खोज्नुको अर्कै दाउ छ। उनी अहिले संसदीय दलको नेता समेत हुन्। अध्यक्ष छाडेको खण्डमा सरकारबाट आउने अवसरसमेत गुम्ने भय उनको छ। ‘प्रधानमन्त्री-राष्ट्रपति पद मिल्न सक्छ। नेतृत्वमा नभए पनि कमजोर भइन्छ नि’, नेपाल पक्षका एक नेता बताउँछन्। नेपाल आफूखुसी अध्यक्षमा दोहोरिन चाहेका भने होइनन्।

आफू पक्षीय नेताले जोडबल गर्दा नेपाल फेरि अध्यक्ष बन्न चाहेका उनी निकट नेताहरू सुनाउँछन्। दोस्रो स्तरका नेताहरूकै जोडबलमा पार्टीभित्र ७० वर्षे उमेर हदसमेत हटाएर नेपालले आफूमैत्री विधान बनाएको छ।

‘हाम्रो दोस्रो पुस्ता तयार भएन। एकपटकलाई हदम्याद हटायौँ,’ नेपाल पक्षीय नेता गंगाधर तुलाधर भन्छन्। यसका अतिरिक्त नेपाल आफूले छाड्दा अर्का नेता झलनाथ खनालमा नेतृत्व जाने त्रासमा छन्। खनालमा नेतृत्व गए एमालेसँग विलय हुनुपर्ने नेपालको पक्ष भय छ।

‘अहिलेसम्म हामीले गरेको विद्रोह सकिन पनि सक्छ। एमालेसँग विलय हुनु हुँदैन। त्यही कारण नेपाल दोहोरिनुपर्छ,’ नेपालपक्षीय अर्का एक नेता भन्छन्। यति मात्र होइन, तल्लो स्तरबाट पनि एक पटक नेपाल दोहोरिनुपर्ने सुझाव आएको पाण्डेयको दाबी छ।

पहिले छाडेँ, अब त मेरै पालो हो : खनाल

समाजवादी गठन हुँदा खनाल भारतमा उपचार गराइरहेका थिए। त्यसअघि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोधमा उत्रिएका थिए। उपचारबाट फर्किएपछि नेपाल पक्ष वा ओली पक्षमा खुल्छन् भन्ने दोधार थियो। त्यसबेला एमालेका सांसदसमेत रहेका खनालले भारतबाटै नेपाल पक्षमा सनाखत गरिदिए। त्यसपछि बसेको समाजवादी पार्टीको बैठकले उनलाई ‘सम्मानित नेता’ बनायो। उनी दोस्रो वरीयतामा रहे पनि अधिकारका हिसाबले नेपालसँगै रहे। समाजवादीमा खनाल-नेपाल प्रतिस्पर्धी जस्तै छन्।

नेपालले अघि सारेका कतिपय प्रस्ताव खनालले विरोध गर्दा पारित हुँदैन थिए। ‘हाम्रो पार्टीमा फरक किसिमको काम भयो। कहिलेकाहीँ नेपाल-खनाल दुवैले प्रस्ताव गरेका कुरा पनि हामी अस्वीकार गरिदिन्थ्र्यौँ,’ पार्टी प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्, ‘अधिकारका हिसावले कसैलाई घटीबढी भएन।’

खनाल पार्टीका निर्णयमा प्राय: असन्तुष्ट रहन्छन्। उनले कतिपय ठाउँमा नेपालका लिखित दस्तावेजमाथि पनि पूरक प्रस्ताव लगेका छन्। नेपालले जनताको बहुदलीय जनवादको कुरा गर्दा उनी विपक्षमा उत्रिन्छन्। जबजलाई मार्गदर्शक सिद्धान्त मान्न नहुने उनको अडान छ।

खनालले यसलाई सफलता मानेका छन्। त्यसैले उनी अहिले ‘जसको सिद्धान्त, उसकै नेतृत्व’ भनेर लागेका छन्। उनले अध्यक्ष बन्ने दाबी गरे पनि समीकरणचाहिँ बनाइहालेका छैनन्। महासचिवमा भने भुसाललाई नै दोहोर्‍याउने पक्षमा छन्। भुसाल आफ्नै गुटबाट महासचिव उठे आफू अध्यक्षमा लड्ने खनालको तयारी रहेको उनी निकट एक नेताले बताए।

समाजवादीले महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेजमा पनि खनाल-भुसाल मिलेर जबजका ठाउँमा ‘माक्र्सवाद-लेनिनवाद’ राखेका थिए। नेपालले पहिल्यैदेखि जबजको पक्षधरता देखाए पनि यस विषयमा सहमति जनाए। नेपालले पार्टीभित्र विचारको लडाइँ नभएको दाबी गर्दै आएका छन्। खनालले पार्टीभित्र सैद्धान्तिक रूपमा जितेको दाबी गर्दै आएका छन्। खनाल समाजवादी क्रान्ति निर्माणका लागि पनि आफूले नेतृत्व गर्नुपर्ने अडान राख्छन्।

भुसाल : नेपाल-खनाललाई ‘वरिष्ठ नेता’, आफू कार्यकारी

नेपाल-खनालसँगै अध्यक्षमा दाबी गर्दै आएका अर्का नेता हुन्, महासचिव भुसाल। नेपाल-खनाल दुवैले सर्वसम्मतिको रटान लगाइरहँदा भुसाल अघि सरेका हुन्। एक नेता भन्छन्, ‘भुसालले नेपाल-खनालबीच सर्वसम्मति हुने सम्भावना देखेका छैनन्। यसैले नेपाल-खनाललाई ‘ब्याकअप’ बनाएर आफू अध्यक्ष बन्ने दाउमा छन्।’

भुसालले पार्टीमा ‘पुस्तान्तरण’को विषय जोडतोडका साथ उठाइरहेका छन्। यति मात्र होइन, भुसालले शीर्ष नेतासामु ‘सम्मानित नेता भएर बसिदिन र आफूलाई अध्यक्ष सर्वसम्मत गर्न’ प्रस्ताव गरेका छन्। उनी निकट एक नेता भन्छन्, ‘भुसालजीले आफू अध्यक्ष बन्ने र दुवै नेतालाई सर्वोच्च नेता बनाउने प्रस्ताव राख्नुभएको छ।’

उपमहासचिव प्रकाश ज्वाला पनि पुस्तान्तरणका विषयमा भुसालको प्रस्ताव जायज भएको सुनाउँछन्। ‘मलाई अध्यक्ष दिनुहोस्। म राजकीय कुरामा आँखा लाउदिनँ,’ भुसाल निकट एक नेता भन्छन्, ‘प्रधानमन्त्री-राष्ट्रपति बन्नुपरे तपाईँहरू (नेपाल-खनाल) नै बन्नुहोला।’

भुसालले दुवै नेतालाई यो प्रस्ताव पुर्‍याएका छन्। कतिपयले तीन अध्यक्षको प्रस्ताव कम्युनिस्ट पार्टीमा अमान्य हुने बताउने गरेका छन्। भुसाल निकट नेता भने तीन अध्यक्ष नभई आफ्नो प्रस्ताव एक अध्यक्षकै हुने बताउँछन्।

उनले समाजवादी क्रान्ति निर्माण गर्न पनि आफूले एकपटक अवसर पाउनुपर्ने दाबी गर्दै आएका छन्। ‘उहाँहरूलाई पद छाड्नुहोस् मात्र भनिएको हो। यो पुस्तान्तरणका लागि,’ भुसाल निकट ती नेताले भने, ‘अहिले नै सबैतरिबाट हात धुनुपर्छ भन्ने होइन।’

महासचिवमा पनि धेरै आका‌ंक्षी

समाजवादीभित्र महासचिव पदमा पनि आकांक्षी धेरै छन्।  हालका उपमहासचिव जगन्नाथ खतिवडा महासचिव बन्ने दाउमा छन्। ‘मेरो उम्मेदवारी रहन्छ। सर्वसम्मति बने सोच्न सकिएला तर अहिले मेरो दाबेदारी हो’, उनले भने। खतिवडा समाजवादीका प्रचार विभागका प्रमुख हुन्। देशभर आफ्नो सञ्जाल रहेकाले अध्यक्षमा चुनाव लड्ने उनको भनाइ छ।

महासचिवकै तयारीमा अर्का उपमहासचिव प्रकाश ज्वाला पनि अघि बढेका छन्। सर्वसम्मत नभए आफूले महासचिवमै उम्मेदवारी दिने ज्वालाको बुझाइ छ। ‘अरू को को लड्नुहुन्छ थाहा छैन तर मेरो आकांक्षा महासचिव हो’, ज्वाला भन्छन्। उनी सबै नेता भन्दा आफू सिनियर रहेकाले पनि दाबी रहने बताउँछन्। ‘अहिलेका उपाध्यक्षबाहेक म सबैभन्दा सिनियर हुँ,’ ज्वाला भन्छन्।

हालका उपमहासचिव गंगालाल तुलाधरले पनि महासचिवमा दाबेदारी प्रस्तुत गर्दै आएका छन्। उनी नेपाललाई एमाले रहँँदाबाटै सहयोग गर्दै आएका नेता हुन्। महाधिवेशन चुनावमा भए दाबेदारी गर्ने तुलाधरको भनाइ छ।

प्रकाशित: ८ असार २०८१ २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =