१६ करोड रुपैयाँ बराबरको कोकिनसहित चार विदेशी पक्राउ

हिमाल प्रेस ६ असार २०८१ १७:४७
24
SHARES
१६ करोड रुपैयाँ बराबरको कोकिनसहित चार विदेशी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। बिहीबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको छ।

प्रहरी नायव उपरीक्षक एवं लागुऔषध नियन्त्रण ब्युरोका सहायक प्रवक्ता प्रेमबहादुर शाहीले विभिन्न मुलुकबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको निगरानी गर्दै जाने क्रममा उनीहरूलाई लागुऔषध कोकिनसहित पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार जेठ २७ मा फ्लाइ दुबईको उडानबाट नेपाल आएका वर्ष ६८ का तान्जिनियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई काठमाडौँ १६ ठमेलस्थित एक होटलबाट अवैध लागुऔषध कोकिन १८ क्याप्सुलसहित पक्राउ गरिएको थियो।

उनी उक्त प्लास्टिक कोडेट कोकिनका क्याप्सुलहरू इथियोपियाको एडिस अबबा पुगी निलेर काठमाडौँ आएको पाइएको सहायक प्रवक्ता शाहीले बताए। अनुसन्धानको क्रममा पेटमा थप क्याप्सुल रहेको बताएपछि हालसम्म उनीबाट ५९ क्याप्सुलसमेत गरी ७७ वटा कोकिनका क्याप्सुल बरामद गरिएको शाहीले बताए। उनका अनुसार सो कोकिनको परिमाण १ केजी २६० ग्राम छ।

यस्तै जेठ ३० मा इमिरेट्सको उडानमार्फत ब्राजिल हुँदै नेपाल आएकी ३३ वर्षकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई पक्राउ गरिएको छ। उनको झोलामा महिलाले प्रयोग गर्ने १२१ वटा फेन्सी लुगाहरूमा बटनभित्र लुकाएर राखेको अवस्थामा २ किलो १ सय ग्राम कोकिन बरामद गरिएको शाहीले जानकारी दिए।

त्यस्तै असार १ मा कतार एयरको उडानबाट नेपाल आएका भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो एल्फोन्जो राडालाई काठमाडौँ २६ स्थित एक होटलबाट पक्राउ गरिएको शाहीले बताए। उनको साथबाट कोकिनका ९२ क्याप्सुल फेला परेको थियो। ती क्याप्सुलको परिमाण १ किलो १९८ ग्राम रहेको उनले बताए।

उनले कोकिनका उक्र क्याप्सुलहरू डेलिभरी दिने क्रममा भारत मिजोरम बस्ने वर्ष २७ की भारतीय नागरिक लालरु अतस्ंगीलाई भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा पक्राउ गरिएको बताए। बरामद गरिएको लागुऔषध कोकिनको बजारमूल्य अन्दाजी १५ करोड ७६ लाख हुने प्रहरीले बताएको छ।

प्रकाशित: ६ असार २०८१ १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =