बुद्धजन्मस्थलमा ध्यान [तस्बिरहरू]

विनोद परियार ६ असार २०८१ ११:४०
14
SHARES
बुद्धजन्मस्थलमा ध्यान [तस्बिरहरू]

लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, पूर्वमन्त्री हृदयेश त्रिपाठी लगायतको उपस्थितीमा योग अभ्यास गरेर दिवस मनाइएको हो।

भारतीय राजदूतावास, लुम्बिनी विकास कोषसहितको आयोजनामा भएको योग दिवस कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनीका मुख्यमन्त्री महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताए।

उनले योग शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म-अन्वेषण र समग्र स्वास्थ्यको महत्वपूर्ण प्रणालीका रूपमा विकास भएको बताए।

‘योगले हामीलाई आत्मज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्‍याउँछ’ उनले भने।

उनले योगले प्रतिरोधात्मक क्षमता र मानसिक दृढता बढाउने बताए। मुख्यमन्त्री महराले लुम्बिनी प्रदेश सरकारले नागरिकको स्वास्थ्य र कल्याण प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताए।

उनले योगका फाइदालाई स्वीकार्दै सार्वजनिक स्वास्थ्यसम्बन्धी पहलमा समावेश गर्न र प्रत्येक व्यक्तिलाई योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गर्न समेत आग्रह गरे।

‘यस प्राचीन अभ्यासको रूपान्तरणकारी शक्ति अनुभव गर्न म सबैलाई आह्वान गर्दछु’ मुख्यमन्त्री महराले भने।

गौतम बुद्धको जन्मस्थलमा अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्न पाउँदा खुसी र आनन्द भएको समेत उनले बताए। कार्यक्रमले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउँदै लुम्बिनी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री महराले भारतीय दूतावासलाई धन्यवाद दिए।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भगवान बुद्धको जन्मस्थस्थलमा अन्तर्राष्ट्रिय योग दिवस मनाउदा यसले पर्यटन प्रवर्द्धन गर्ने बताए।

उनले गत वर्षदेखि लुम्बिनीमा योग दिवस मनाउन सुरु गरिएको र अब प्रत्येक वर्ष जुन २० तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने बताए। उनले भगवान बुद्धको जन्मस्थलमा लुम्बिनीको प्रचार प्रसारका लागि भारतीय दूतावासले विभिन्न कार्यक्रमसमेत गर्दै आएको बताए।

यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धको दुःखबाट मुक्त गर्ने मार्ग जस्तै आधुनिक युगमा पूर्वीय मान्यता अनुसारको योग अभ्यासले फाईदा गर्ने बताए।

उनले लुम्बिनी विकास कोषले भारतीय दूतावाससँग सहकार्य गरेर कार्यक्रम गरेको बताउँदै लुम्बिनीको विश्वव्यापी प्रवर्द्धनका लागि आगामि दिनमा समेत सहकार्य गर्न इच्छुक रहेको बताए।

उनले बुद्धजन्मस्थल लुम्बिनीलाई भारतीय पर्यटकको मुख्य गन्तव्य बनाउनुपर्ने बताए। उनले यसका लागि सुनौली नाकामा व्यवस्थित एकिकृत अध्यागमन कार्यालय बनाउन मुख्यमन्त्री र राजदुताको ध्यानआर्कषण गराए । उनले नाकामा पर्यटकले दुःख पाइरहेको गुनासो आउने गरेको तफ संकेत गर्दै मुख्यमन्त्री र राजदुतको ध्यानआर्कषण गराएका हुन्।

कार्यक्रम अघि नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मायादेवी मन्दिरको दर्शन गरेका थिए। राजदूत श्रीवास्तवलाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले लुम्बिनीका बारेमा बिफ्रिङ गरेका थिए।

प्रकाशित: ६ असार २०८१ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 3 =