इटहरीमा खोला सफाइ गर्दा भत्कियो घर, पीडितले घेरे मेयरको कार्यकक्ष

हिमाल प्रेस ५ असार २०८१ २१:३९
34
SHARES
इटहरीमा खोला सफाइ गर्दा भत्कियो घर, पीडितले घेरे मेयरको कार्यकक्ष

इटहरी- इटहरी उपमहानगरपालिकाले गत चैत १३ गतेबाट टेङ्ग्रा खोला सरसफाइ गर्दै सीमा क्षेत्रभित्रका अवैध संरचना हटाउने अभियान चलाए पनि अविरल वर्षासँगै आएको बाढीले घरहरू भत्किएका छन्।

इटहरीलाई डुबानरहित बनाउन र बर्सेनि आउने बाढीबाट हानि हुन नदिन उपमहानगरले खोला सफाइ अभियान चलाएपनि सम्भावित जोखिमलाई समेत ध्यान नदिई खोलालाई उत्खनन गरेपछि इटहरी वडा नं. १२ र १३ का खोला छेउछाउ घरहरू भत्किएको हो।

यससँगै बुधबार पीडितहरूले इटहरी उपमहानगरपालिका परिसरमा घेराउ गरेका छन्। इटहरी-१२ मा बाढीले घर भत्किएपछि समस्या निम्तिएको स्थानीय निर्मल तिम्सिनाले बताए। ‘जब वर्षा सुरु हुन्छ, तब खोला उत्खनन गरिन्छ। खोला छेउछाउका आधा घरहरू बाढीले बगाएको छ। खोला तर्न बनाएका पुलसमेत बाढीले क्षति पुर्‍याएको छ,’ उनले भने, ‘खोला सफाइ गर्दा जेसिबीले जथाभावी खनेको र आवश्यक सुरक्षाको उपाय नअपनाउँदा कमजोर बनेको माटो सामान्य बाढीले पनि कटान भएको छ।’

म‌ंगलबार रातिको बाढीका कारण इटहरी-१३ मा ६ घर विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख, एसपी विपिन रेग्मीका अनुसार स्थानीय देवीकुमारी कार्की, रञ्जु सरदार, गंगा गौतम र तुलसा काफ्लेलगायतको घर कटानमा परेपछि विस्थापित भएका हुन्।

इटहरी उपमहानगरको लापरबाहीका कारण बाढी घरमा पसेको र विस्थापित हुनुपरेको पीडितहरूको भनाइ छ।

इटहरी-२ को तालतलैया क्षेत्रबाट सुरु भएको खोला सफाइ अभियानको क्रममा ५७ वटा अवैध संरचना हटाइएको उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले बताए। टेङ्ग्रा खोलापछि उपमहानगरले खेतीखोलाको सीमाभित्र पर्ने अवैध संरचना ३५ दिनभित्र हटाइसक्न सम्बन्धित घरधनीहरूलाई आग्रह गरेको छ।

उपमहानगरपालिकाले खोला-पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरिसकेको भन्दै यो काम अब नरोकिने जनाएको छ। इटहरीका मेयर हेमकर्ण पौडेलले निर्वाचनका समयमा स्थानीय मतदातासँग मत माग्न जाँदा इटहरीलाई डुबान हुन नदिने वाचा गरेका थिए। खोला सफाइ गर्दा साविकको गहिराइसम्म सफा गर्नुपर्नेमा गहिरोमा भने ध्यान दिएको नपाइएको स्थानीयवासीको भनाइ छ।

प्रकाशित: ५ असार २०८१ २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =