विकासको गतिलाई तीव्रता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

हिमाल प्रेस ५ असार २०८१ १७:५१
74
SHARES
विकासको गतिलाई तीव्रता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको आर्थिक समृद्धिलाई तीव्रता प्रदान गर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएका छन्।

राष्ट्रिय समाचार समिति (रासस)द्वारा गणतन्त्र दिवस–२०८१ का अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले जनआकाङ्क्षाअनुरुप मुलुकको चौतर्फी विकास र आर्थिक समृद्धिका लागि तीव्र गतिको बोध नेतृत्वले गर्नुपर्ने बताएका हुन्।

‘मान्छेका आकाङ्क्षा धेरै हुन्छन्। चाहनाअनुरुप केही भइरहेको छ। तर हाम्रो गति चाहिँ तीव्र हुनुपर्छ। किनकी हामी विश्वका अन्य विकसित देशभन्दा झण्डै डेढ सय वर्षपछि छौँ। त्यसलाई भेटाउन चाँडो दौडिनुपर्छ। राजनीतिले यसको नेतृत्व गर्ने भएकाले राजनीतिक नेतृत्वले यसको बोध गरोस् भन्ने सबैको चाहना हो’, उनले भने।

डा भट्टराईले गणतन्त्रबाट प्राप्त उपलब्धिबारे चर्चा गरे। आर्थिक परिवर्तनका लागि पूर्वाधार निर्माण भइरहेको उल्लेख गर्दै उहाँले यस व्यवस्थामा केही हुँदै नभएको भन्ने गलत भाष्यलाई चिर्नुपर्ने बताए।

‘हामीले राजनीतिक परिवर्तनपछि अब आर्थिक परिवर्तनको युग सुरु भयो भनेका छौँ। त्यसका लागि आधार भनेकै पूर्वाधार हो। केही भइरहेका छन्, केही भइसकेका छन्’, उनले भने, ‘नेपालमा केही भएको छैन, केही हुँदै भएन भन्ने गलत भाष्य चिर्न यो तस्बिर प्रदर्शनीले सकारात्मक योगदान गर्ने अपेक्षा छ।’

डा भट्टराईसँगै पूर्वमन्त्री एवं नेत्री हिसिला यमीले पनि उक्त तस्बिर प्रदर्शनी अवलोकन गरिन्। यमीले भौतिक पूर्वाधारको निर्माणलाई स्थानीयको सहभागितासँग जोेडेर उनीहरूको अपनत्व ग्रहण गराउनसक्नुपर्ने सुझाव दिइन्। पूर्वाधार निर्माण आर्थिक व्यवहारसँग जोड्न सक्नुपर्ने र त्यसका लागि राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

‘विकास मात्र गरेर पुग्दैन यसलाई अपनत्वसहित तल्लो तहसम्म व्यक्तिको जनजीवन र सीपसँग जोडनुपर्छ। निर्यातसँग पनि जोडनुपर्छ। सबै प्याकेजमा हुनुपर्छ’, यमीले भनिन्।

पूर्वप्रधानमन्त्री भट्टराई र पूर्वमन्त्री यमीलाई राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले प्रदर्शनीमा राखिएका तस्बिरबारे अवगत गराएका थिए। गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनी यही असार १० गतेसम्म सञ्चालन हुनेछ। रासस

प्रकाशित: ५ असार २०८१ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast