काठमाडौँ- पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारा ओलम्पिक- २०२४ मा सभागिता जनाउने भएका छन्। भरत वाइल्ड कार्ड कोटामार्फत पेरिस पारा ओलम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ। विश्व तेक्वान्दोले मंगलबार पत्र पठाएसँगै भरतको सहभागिता निश्चित भएको बताइएको छ।
भरतले पारा ओलम्पिकमा के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौलसमूहमा १२ खेलाडी रहनेछन्। छनोट हुने भरत अन्तिम खेलाडी हुन्। वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी पाँच खेलाडीले छनोट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए।
दार्चुला अपिहिल गाउँपालिका वडा ८ का २७ वर्षीय भरत विगत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दै आइरहेका छन्। भरतसँग हालसम्म दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ।
उनले चीनको ताइयानमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा जेठ ६ गते भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए।
एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई हराउँदै सेमिफाइनल पुगेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएका थिए। उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१औं स्थानमा पुगेका थिए। त्यसअघि उनी वरीयताविहीन थिए।
भियतनाम पनि भरतले एसियाली छनोटकै नतिजा आत्मासात गरे। पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोश्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए। भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८औं स्थानमा उक्लिएको प्रशिक्षक लामाले जनाएका छन्। अहिले पनि भरत ५८औं स्थानमा कायम छन्।
यससँगै पेरिस पाराओलम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको संख्या दुई पुगेको छ। यसअघि पलेशा गोबर्धनले छनोट चरण पार गर्दै पेरिस पारा ओलसिम्पकमा स्थान सुरक्षित गरिसकेकी थिइन्।
चीनको ताइयान भएको एसियाली छनोटको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन्। चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन्।