गण्डकी प्रदेशस्तरीय पुरुष टी-२० क्रिकेट उपाधिका लागि कास्की र स्याङ्जा भिड्ने

हिमाल प्रेस ५ असार २०८१ १४:४६
6
SHARES
गण्डकी प्रदेशस्तरीय पुरुष टी-२० क्रिकेट उपाधिका लागि कास्की र स्याङ्जा भिड्ने

पोखरा- गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट उपाधिका लागि कास्की र स्याङ्जा भिड्ने भएका छन्। समूह ‘बी’ को खेलमा स्याङ्जा बुधबारको खेलमा अपराजित रहँदै ६ अंक बटुलेर कास्कीसँग फाइनल भिडन्त पक्का गरेको हो। समूह ‘ए’ बाट कास्की यसअघि फाइनल पुगिसकेको थियो।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार लिग चरणको अन्तिम खेलमा नवलपुरलाई स्याङ्जाले २ विकेटले पराजित गरेको हो। टस जितेर व्याटिङका लागि मैदानमा उत्रिएको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १६.४ ओभरमा ७५ रन मात्रै बनाउन सक्यो।

नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए। कमल परियारले २२ बलमा १८ रनमात्र जोड्न सके। यस्तै, सुदीप अर्यालले १२ रनको योगदान दिए। पहिलो ओभरमा नै २ विकेट गुमाउँदै दबाबमा रहेको नवलपुर १३.६ ओभरमा ६८ रनमा ५ विकेट गुमाउन पुगेको थियो।

स्याङ्जाका लागि प्लेयर अफ दि म्याच सन्दीप खत्री क्षत्रीले २.४ ओभरमा १४ रन दिएर २ विकेट लिए भने अंकित न्यौपानेले ३ ओभरको बलिङ स्पेलमा १३ रन खर्चिएर २ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको स्याङ्जालाई जितका लागि अन्तिम ओभर कुर्नुपर्‍यो। १६.२ ओभरमा ८ विकेटको क्षतिमा ७९ रन बनाउँदै लक्ष्य भेटाउन सक्यो। जितका लागि अनिष ताम्राकारले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको योगदान दिए। ईश्वर क्षत्रीले २९ बलमा २१ रन बनाए भने प्रदीप पाण्डेले नटआउट रहँदै ११ रन बनाए।

नवलपुरका लागि कमल परियारले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिँदा दीपक डुम्रेले ३ ओभरमा १ मेडनसहित ६ रन दिएर २ विकेट लिए।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनोट समेत रहेको यो प्रतियोगितामा विजेता टिमले १ लाख र उपविजेताले ५० हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए। फाइनल बिहीबार हुनेछ। महिलातर्फ हुने प्रतियोगिता यही ७ असारदेखि सुरु हुनेछ।

प्रकाशित: ५ असार २०८१ १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =