कबाड व्यवसायीको समर्थनमा उत्रिएका अमरेशकुमारले भने : बालेनको घरअगाडि कबाडी थुपारौँ

हिमाल प्रेस ५ असार २०८१ १३:४९
6
SHARES
कबाड व्यवसायीको समर्थनमा उत्रिएका अमरेशकुमारले भने : बालेनको घरअगाडि कबाडी थुपारौँ

काठमाडौँ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौँ महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै  आपत्ति जनाएका छन्।

बुधबार प्रतिनिधिसमाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले महागरका मेयरकै शैलीमा सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपार्न आग्रह गरे। ‘बालेन जी, यहीँको मेयरले सिकाएको छ कि, यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने। म यही संसद्‌मार्फत तमाम कबाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु। सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं, त्यसको लागि हामी साथमा छौँ,’ उनले भने।

यस्तो महानगरका मेयर शाहले नै सिकाएको उनले बताए। ‘टिट फर ट्याट। उहाँले नै यो सिकाएको हो,’ उनले भने। यसअघि महानगरपालिकाले सडक विभाग अगाडि फोहोर थुपारिदिएको थियो। महानगरका मेयर शाहलाई उनले पपुलिजमको समेत संज्ञा दिए।

‘पपुलिज्मको नाममा दुनियाँमा तानाशाही जन्मिएको छ। हिटलर पनि निर्वाचित भएर आएका थिए’ उनले भने, ‘तर हिटलरको कारणले जर्मनीको के हाल भएको थियो?’ पपुलिजमको अवस्थामा मेयर शाहले समर्थन पाइरहेको पनि उनको टिप्पणी छ।

‘आज पपुलिजमको अवस्थामा हामी ताली बजाइरहेका छौं’ उनले थप भने, ‘बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो? विभेदमा चल्न खोजेको हो? पपुलिजमको आडमा न्याय समाप्त गर्न खोजेको हो?’

प्रकाशित: ५ असार २०८१ १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =