धनबहादुरले बनाए देशकै बोयर स्रोत केन्द्र

हिमाल प्रेस ५ असार २०८१ १३:५०
10
SHARES
धनबहादुरले बनाए देशकै बोयर स्रोत केन्द्र बाख्राका पाठासँग धनबहादुर श्रीष। तस्बिर : रासस

म्याग्दी- बेनी नगरपालिका-३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रापालन व्यावसायिक बनेपछि अगुवा किसानको पहिचान बनाएका छन्। १३ वर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारलाई बिट मारेर श्रीषले स्थानीय जातका बाख्रापालन सुरु गरेका थिए।

जीविकोपार्जन र स्वरोजगार बन्ने उद्देश्यले सानो लगानीमा सुरु गरेको बाख्रापालनलाई व्यावसायिक बनाएका श्रीषले अहिले उन्नत जातका बोयर बाख्राको स्रोत केन्द्र स्थापना गरेका छन्।

श्रीषले सञ्चालन गनरेको श्रीष पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा विगत पाँच वर्षदेखि शुद्ध बोयर जातका बाख्रापालन हुँदै आएको छ।

श्रीषको फार्मलाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले बाह्य स्रोत केन्द्रका रुपमा समावेश गरेको छ। उनले लामो समयसम्म मासु उपभोगका लागि बाख्रापालन गरेका थिए। पछिल्लो समय फार्मलाई बिउका लागि शुद्ध बोयर बाख्र्रा उत्पादन केन्द्रका रूपमा विकास गरेको फार्मका सञ्चालक श्रीष बताउँछन्।

श्रीषको फार्ममा अहिले ४५ वटा शुद्ध बोयर बाख्रा छन्। फार्ममा तीनवटा ब्याडे बोका छन्। फार्ममा रहेका २० वटा माउ बाख्राले पाठापाठी जन्माउँछन्। फार्मबाट वार्षिक रूपमा ५० वटा शुद्ध बोयर बाख्रा र बोका बिउका लागि बिक्री हुँदै आएको श्रीषले बताए। यहाँबाट देशका विभिन्न ५५ जिल्लामा बिउका रूपमा बाख्रा लगिएको छ।

वार्षिक १७ लाख बराबरको बोयर बाख्रा बिक्री गर्दै आएका श्रीषले व्यवस्थित र व्यावसायिक रुपमा स्थापना गरेको यो बाख्रा फार्ममा देशका विभिन्न ठाउँबाट नयाँ किसान अध्ययन अवलोकनका लागि पुग्ने गर्छन्।

बाख्रापालनका लागि श्रीषले ६० रोपनी जग्गामा घाँस रोपेका छन्। केही वर्षअघिसम्म वार्षिक रुपमा १ करोड बढीको बोयर बिक्री गरेका श्रीषले पछिल्लो समय स्वदेशमा युवाहरुको अभाब र विदेश पलायन हुने क्रमले बाख्रापालनतर्फ आकर्षण घटेको कारण आफूले फार्ममा बोयर बाख्राको संख्या बढाउन समस्या भएको बताए।

बाख्रापालनमा लगानी, मेहनत, परिश्रम र आम्दानी सबैको चाँजो मिल्नुपर्ने बताउने किसान श्रीषले बाख्रापालनबाटै घरखर्च धानेको र पो पेसाबाट आफु सन्तुष्ट रहेको बताउँछन्। श्रीषले बाख्रा फार्ममा खोर बनाउन मात्रै ५० लाख रुपैयाँभन्दा बढी लगानी गरेका छन्। रासस

प्रकाशित: ५ असार २०८१ १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =